काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधै नेपालको विकास प्रयासमा योगदान पु¥याएको बताउनुभयो । उहाँले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिÞक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताउनुभएको थियो ।।

लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् ।  वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो ।   पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।    लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।   पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।    पहिरोले घर भत्किँदा एकजनाको मृत्यु, एक घाइते   यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ ।   उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।    विकल र मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ ।    यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ ।   बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

पोखरा:   गएरातीदेखि परेको अविरल वर्षाका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको अविरल वर्षाकै कारण पहिरोमा परेर २ जनाको मृत्युसमेत भएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोमा परेर मादी गाउँपालिका ५ चितेपानी घुम्तीका १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।     पछाडी पट्टीको माटोको ढिस्को खसेर प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर पुरिएको थियो ।   सोही पहिरोमा परेका ७० वर्षीया लालमाया बन्जारीलाई भने सकुसल उद्धार गरिएको छ ।   यस्तै पोखरा महानगरपालिका वडा २७ आरूपाटाका हरि सुनारको घरमाथिबाट पहिरो आउँदा ३ वर्षीय अनमोल सुनारको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।   उनका अनुसार हरी सुनारको श्रीमती २७ वर्षीया रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।   उनको अवस्था गम्भीर रहेको डिएसपी शर्माले बताए ।   सोही पहिरोमा परेका घरधनी हरि सुनार र ९ वर्षीया छोरी अञ्जली सुनारलाई भने सकुसल उद्धार गरिएको छ ।   पृथ्वीराजमार्ग भासियो PHOTO: Rishi Ram Pande   अविरल वर्षाका कारण पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत पोखरा महानगरपालिका १४ आनन्दटोलस्थित  घट्टे कुलोको बहाव बढेर सडक भासिएको छ ।   राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।   सडकको दायाँ साइड करिब ७ मिटर लम्बाई र चौडाई करिब १.५ मिटर घट्टे कुलोको भत्काएपछि सवारी आवगमन अबरुद्ध भएपनि हाल एकतर्फी सवारी सुचारु भएको छ ।   सडक भासिएपनि कुनैपनि अन्य क्षति नभएको डिएसपी शर्माले बताए ।       डुबानमा ५ घर   अविरल वर्षाकै कारण कास्कीमा हालसम्म ५ घर डुबानमा परेको छ ।    पोखरा महानगरपालिका ७ गैरीखेत स्थित कुमार सुनार र रेशम गुरुङको घरमा पानी पसेर डुबानमा परेको हो ।   वडा प्रहरी कार्यालय बैदामलाई प्राप्त सूचनापछि पानीलाई व्यवस्थित गर्ने र विभिन्न समाग्रीहरुको उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए ।   यस्तै पोखरा महानगरपालिका ३३ बागमारास्थित सिप्लिङ तारा टोलको ३ घर पनि डुबानमा परेको छ ।   ब्लक र टिनले बनेको राम्जी बास्तोला, सुमन बिक र बाबुराम बस्नेतको घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उद्धार गरेको छ ।   टोल नै डुबानमा परेर मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ ।  

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा:      गएराति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका र पोखरा महानगरपालिकाको आरुपाटामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो ।  पोखरा महानगरपालिका–२७ आरुपाटास्थित हरी सुनारको घरमा बुधबार बिहान घर माथिबाट आएको पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार पहिरोमा पुरिएर ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले पुरिएर घाइते भएका २७ वर्षीय रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको छ । पहिरोले सुनारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ ।  यस्तै बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुस्मा रानाभाटको मृत्यु भएको छ ।  चितेपानीस्थित प्रकाश रानाभाटको घर पछाडिबाट आएको पहिरोले घरको पछाडि भाग भत्किदा कोठामा सुतिरहेकी आयुस्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घरका अन्य सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ ।  असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ ।  ५० बढी स्टल रहने पराजुलीले जानकारी दिए । निशुल्क स्टल राख्ने व्यवस्था महासंघले मिलाएको हो । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामाग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामाग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् । पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् ।  देश विदेशबाट साँस्कृतिक नृत्यु, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुती राखिनेछ ।   तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि साँस्कृतिक प्रस्तुती राख्ने जनाइएको छ ।  एक्सपोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

काठमाडौं:    सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर परेको रिट खारेज गरिदिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त  रिटमाथि सुनुवाई गर्दै रिट खारेजको फैसला गरेको हो ।

काठमाडौं:    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । आदिवासी जनजातिका अधिकार संरक्षणका लागि आफू विगतदेखि नै लागिपरेको उल्लेख गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गर्नुभयो । आदिवासी जनजातिको हक, अधिकारसँगै भाषा, संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जनजातिका माग पूरा गर्न पार्टीका तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कांग्रेसको गत महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने समय निर्धारण गरेको थियो । महासमिति बैठकले तोकेको अवधिमा महाधिवेशन सम्पन्न गर्ने महासङ्घ पहिलो भ्रातृ संस्था बनेको छ । महासमिति बैठकले तोकेको असार १५ गतेसम्म अरु कुनै पनि भ्रातृ संस्थाले महाधिवेशन गर्ने तयारी गरेका छैनन् । आदिवासी जनजाति सङ्घ महासङ्घका रुपमा रुपान्तरण भएपछिको यो पहिलो महाधिवेशन हो । महासङ्घमा ५९ वटै जनजातिका सङ्घ संस्थाको प्रतिनिधित्व रहेको महासचिव जगत बरामले जानकारी दिनुभयो ।

काठमाडौं:   प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक’ २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।  प्रतिनिधि सभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।