काठमाडौं: प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन दिने एवम् मीठामीठा(तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डदान तथा ब्राम्हणलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज ठूलो मेला लाग्यो । आमा नहुनेहरुले त्यहाँ गएर स्नान गरि पिण्ड एवम् सिदा दान गरेमा आमाको मृत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
पोखरा: पोखरा महानगरपालिका–२७ तालचोकस्थित एक दोहोरी साँझका सञ्चालकले ग्राहक कुटेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । दोहोरी साँझमा गएका तेजबहादुर गुरुङलाई कुटपिट गरी गम्भिर घाइते बनाएर फरार रहेको जाहेरीको आधारमा प्रहरीले तालचोकबाट हिजो (सोमबार) ३२ वर्षीय सुनिल बस्नेतलाई प्रकाउ गरेको हो । शनिबार राति तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टमा गएका गुरुङलाई सञ्चालक बस्नेतले कुटपिट गरेका थिए । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यानमार्ने उद्योगमा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो । उहाँले विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं निर्माण व्यवसायीसँग सामूहिक छलफल गरेर प्रदेशमा सञ्चालित हरेक आयोजनाको विस्तृत प्रगति विवरण दूई दिन भित्र पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरुको वित्तीय प्रगती, भौतीक प्रगती, समस्या र समाधानका उपाय सुत्रमा लेखेर दूईदिनभित्र सबैले प्रतिवेदन बुझाउनुहोला’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । विकास निर्माणका क्षेत्रको काम सन्तोषजनक रुपमा नभएकोमा उहाँको चिन्ता थियो । उहाँले काममा तीव्रता दिन आग्रह गर्नुभयो । काम गर्नेक्रममा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार सदैव तयार भएको भन्दै हालसम्मको कार्यप्रगतिमा सन्तुष्ट हुने ठाउँ नरहेको गुनासो गर्नुभयो । विभिन्न ठाउँमा भएका विकास निर्माणका कामको बारेमा बढ्दै गएको जनगुनासोलाई कम गर्दै उनीहरुमा आशा जगाउनको लागि कर्मचारी तथा निर्माण व्यवसायी दुवै पक्षले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारसँग बजेट कम हुँदा तथा संघिय सरकारले पर्याप्त बजेट नछुट्याउँदा समेत सडक लगायतका विकास निर्माणको काममा प्रभाव परेको उहाँको भनाई थियो । विकास निर्माणमा काममा आवश्यक निकास दिने काममा आफू सदैव लाग्ने बताउनुभयो । स्रोत सुनिश्चितता नभएको ठाउँमा ठेक्का लगाउँदा भुक्तानीमा समस्या भएकोले यस्तो काम रोक्न सम्बन्धीत मन्त्रालयका सचिवलाई अडान लिन आग्रह गर्नुभयो । ‘स्रोत सुनिश्चत नभएको ठाउँमा ठेक्का नलगाउन सचिवले अडान लिनुपर्छ, ठेक्का भएपछि रकम छैन भन्ने अवस्था आउन दिनु हुन्न’ उहाँले भन्नुभयो । स्रोत सुनिश्चित भएर ठेक्का लगाएपछि काम सम्पन्न नगर्ने छुट निर्माण व्यवसायीलाई नहुने भन्दै कामको गुणस्तरीयतामा सम्झौता नगर्ने बताउनुभयो । साना योजना बहुवर्षीय बनाउन नुहनेमा समेत उहाँको जोड थियो । राजनीतिक अस्थिरता भएको बेलामा विकास निर्माणको काममा प्रभाव पर्ने समेत उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले बजेटको व्यवस्था नगरी आयोजना काम हुँदा समस्या भएको बताउनुभयो । रकम भुक्तानी नहुँदा दिनहुँजसो निर्माण व्यवसायी गुनासो लिएर आफ्नो मन्त्रालयमा आउने गरेको उहाँको भनाई थियो । ‘रकम भुक्तानी नहुँदा निर्माण व्यवसायी समस्यामा परेका छन्, म कहाँ दिनपिच्छै आउँछन्, काम गरेपछि समयमा भुक्तानी दिनुपर्छ’ उहाँले भन्नुभयो । गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मी कुमारी बस्नेतले यो आर्थिक वर्षको लागि अब दूईमहिनामात्र समय रहेको तर काम आधा भन्दा बढी रहेको भन्दै कामको गति बढाउन आग्रह गर्नुभयो । ‘हामी आर्थिक वर्षको अन्त्यमा छौं, हामीसँग काम गर्ने समय दूई महिनामात्र बाँकी छ । गर्ने काम धेरैं छ, आधा काम मात्र भएको छ अबको प्रगति देखाउन खटिएर काम गर्नुपर्नेछ’ उहाँले भन्नुभयो । विकासका आयोजनाको काममा प्रदेश सरकारबाट गर्नुपर्ने कामको लागि तयार रहेको बताउँदै मुख्य सचिव बस्नेतले योजना कार्यान्वयनमा समन्यवको अभाव देखिएको बताउनुभयो । ‘समन्वयको अभावमा कामको गतिशीलतालाई प्रभाव पारेको देखियो, सबै निकायकाबीचमा समन्वय गरेर अगाडि बढ्यौ भने यस्ता खालका समस्या हुँदैन थियो’ उहाँले थप्नुभयो । प्रदेश सरकार आउने आर्थिक वर्षको लागि बजेट निर्माण प्रक्रियामा रहेको उहाँले खुलाउनुभयो । कास्कीका प्रम्ख जिल्ला अधिकारी वासुदेव घिमिरेले तोकिएको योजना समयमानै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । ‘यो वा त्यो बहानामा हामीलाई तोकिएको योजना कार्यक्रम अथवा प्राथमिकता टार्ने, ढिलो गर्ने, पन्छाउने छुट छैन, कार्यालय प्रुखको बैठकमा पनि प्रगति अपडेट गरिरहेको हुन्छौ’ उहाँले भन्नुभयो । यो आर्थिक वर्षको करिब अन्त्यमा आइसकेका कारण कामको गतिलाई बढाएर लैजानुपर्नेमा उहाँको जोड छ । ‘संघ मातहतको होस् अथवा प्रदेश मातहतको होस्, परिपक्क प्रतिवद्धता सहित नतिजा चाहिन्छ, त्यसमा स्थानीय प्रशासनले जे गर्नुपर्ने हो सबै सहयोग लिन दिन तयार छौै’ उहाँले थप्नुभयो । कार्यक्रममा पृथ्वी राजमार्ग अन्तरगत पृथ्वीचोक जामुने सडक, तालचोक बेगनासताल सडक, बेगनास भोर्लेटार सडक अन्तरगत बेगनासताल भञ्न्ज्याङ र भन्ज्याङ तालबेसी खण्ड, स्याङखुदी भन्ज्याङ सडक, स्याङखुदी आनन्दज्योति सडक, छोरेपाटन मट्टिखान सडक, घाटीछीना पन्चासे सडक, विरेठाटी घान्द्रुक सडक, मध्ये पहाडी राजमार्ग अन्तरगतको सडक, काहुँखोला काउरे ताङतिङ सडक, भन्ज्याङ आनन्दज्योति सडक, काहुँखोला सिक्लेस सडक, स्थानीय सडक आयोजना, सिँचाई, उर्जा, भूमिगत, जलश्रोत, खानेपानी, भवन, विद्युत कृषि, मत्स्यपालन, पशुपन्क्षी लगायतका क्षेत्रका योजनाहरुको वर्तमान अवस्था, समस्या र समाधानका लागि अपनाउनुपर्ने कार्यको बारेमा छलफल केन्द्रीत रहेको थियो ।
पोखरा: पोखरामा बिहीबार देखि खुल्ला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगर स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बैशाख २७–२९ गतेसम्म खुल्ला विद्यालयस्तरीय तथा पोखरा महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले खुल्ला विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्राछात्र यू–१३, यू–१९ उमेर समूह र पोखरा महानगरपालिकास्तरीयमा एकल र युगल विधामा प्रतिष्पर्धा हुने बताए । उनका अनुसार विद्यालयस्तरीय (निमावि)तर्फ यू–१३ उमेर समूह र माध्यमिकतर्फ यू–१९ उमेर समूहका छात्राछात्रले प्रतिष्पर्धा गर्नेछन् । यस्तै पोखरा महानगरपालिकास्तरीयमा अन्तर वडा एकल र युगलतर्फ महिला÷पुरुषले प्रतिष्पर्धा गर्नेछन् । खुल्ला अन्तर विद्यालयस्तरीय मावि यू–१९ उमेर समूह छात्राछात्रको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै खुल्ला अन्तर विद्यालयस्तरीय यू–१३ र यू–१९ उमेरसमूहका सर्वोत्कष्ट खेलाडीले साइकल पुरस्कार पाउने फाउण्डेशनका अध्यक्ष गुरुङले बताए । यस्तै यू–१३ का विजेता खेलाडी व्याडमिन्टन खेलका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै पोखरा महानगरपालिकास्तरीय एकल र युगलतर्फको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ । बिहीबारबाट सुरु हुने व्याडडिमन्टन प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी वैदेशिक प्रशिक्षणसँगै मैत्रीपुर्ण खेलकुदमा सहभागी पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा गतवर्ष सम्पन्न भएको व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानमा प्रशिक्षणसँगै मैत्रीपुर्ण खेल खेल्ने अवसर समेत पाएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानको नागाकाओ शहरमा प्रशिक्षण र वाकाभा कप र यू–१३ को प्रशिक्षणमा सहभागि समेत हुन पाएको अध्यक्ष गुरुङले बताए । ग्रासरुटबाटै खेलाडी उत्पादनमा ध्यान दिएका छौं: अध्यक्ष गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले विद्यालय तथा ग्रास रुटबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । ‘हामीले फाउण्डेशनबाट कुनै नाफा कमाउनु छैन्, फाउण्डेशनको लक्ष्य व्याडमिन्टन खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष गुरुङले भने, ‘प्रतियोगितामा विद्यालयस्तरबाट उमेर समूहको खेलाडी सहभागी गराई खेलको विकास गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले पुरानो व्याडमिन्टन खेलाडीहरु मिलेर मोहन भुगोल व्याडमिन्टन फाउण्डेशनमा अक्षयकोष स्थापना गर्ने योजना समेत अगाडि बढाएको बताए ।
पोखरा: पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य उनी मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुन् । गत वर्षमात्र उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो ।
काठमाडौं: सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।” उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरुले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो । कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उहाँले बताउनुभयो । बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयलाई पुनःदोहो¥याएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । “हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लखेकले भन्नुभयो । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो । सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो । बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । अनुस्का शेरचन (आर्चरी) अनुस्का उमेरले बल्ल १७ वर्षकी पुगिन् । ११ वर्षको उमेरदेखी आर्चरीमा प्रवेश गरेकी उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भइन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पदक हासिल गरेकी अनुस्का आर्चरीको भविष्य हुन । सानै उमेरमा उदायकी उनले आर्चरीबाट नेपाललाई ठूलै पदक दिलाउने आशा गर्न सकिन्छ । आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणमै व्यस्त गराएका छन् । २०८० मा अनुस्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा सहभागि भई दोस्रो चरणसम्म प्रवेश गर्न सफल भइन् । उनको ०८० को मुख्य उपलब्धि भनेको पोखरामा सम्पन्न ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक हो । अरुणा शाही (भलिबल) म्याग्दी जिल्ला हालको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिमको कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् । अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेको पाँच वर्षपछि अर्थात सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन् । नेपाली टोलीको कप्तानी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ऐतिहासिक पदक समेत दिलाउन सफल भइसकेकी छिन् । अरुणाको कप्तानीमा नेपालले सन् २०१९ मा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्दै २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । उनकै कप्तानीमा रहेको टोलीले ०८० सालमा चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो । ०८० मै सम्पन्न काभा कपमा कास्य पदक जित्न सफल भयो । ०८० सामा यी दुई प्रतियोगितासँगै अरुणाले राष्ट्रियस्तरको एनभीए कप भलिबलमा एभरेष्ट क्लबको प्रतिनिधित्व गर्दै च्याम्पियन भइन् । उनको कप्तानीमा गण्डकी प्रदेशको टोलीले टाइगरकप, अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा रजत र पाल्पामा भएको महिला राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी भएको थियो । सुस्मीता थापामगर (आइटीएफ तेक्वान्दो) वि.स. २०६० सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नं १० को साधारण परिवारमा जन्मिएकी सुस्मीता थापामगर आएटीएफ तेक्वान्दोकी खेलाडी हुन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी सुस्मीताले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् । कक्षा ६ मा पढ्दा भलिबल खेलेकी उनी विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जितेपनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे पछि तेक्वान्दो तर्फ आकर्षित भइन् । २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनेकी उनले आठाँै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हासिल गरिन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई २ वटा पदक दिलाउन सफल रहिन् । उनले एक स्वर्ण र एक रजत पदक हासिल गरिन् । ०८० सालमा उनी खर्च जुटाएरै काजकिस्तानमा भएको २२ औं वल्र्ड आइटीएफ च्याम्पियनसिपमा सहभागि भइन् । ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औँ नेसनल प्रोफेसनल तेक्वान्दो आईटीएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन् । अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), कास्की जिल्ला भलिबल संघ, भलिबल संघ गण्डकी, पोखरा १५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय, भिजन उर्जा लुम्बिनी कम्पनी, ज्ञानुबाबा आवासिय मा.वि.,मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
काठमाडौं: अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको कथासार बुझाउँछ। अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा लडाईंको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशनमा तयार ‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ। विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता संगीतकार समेत रहेका सुवास भुसाल हुन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा भरत रेग्मीको सम्पादन छ। पोस्टर, टिजर र गीतबाट राम्रो प्रशंसा पाइरहेको यो फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ।
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे । सिनेमा माध्यम पोखरा र आसपासको क्षेत्रको प्रचारप्रसार गर्न सहज हुने हुँदा यसतर्फ प्रभावकारी भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले चपस कास्की क्रियाशिल संस्था भएको बताइन् । एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधिलाई बढ्वा दिएको अभिव्यक्ति उनको छ । पत्रकार महासंघ कास्कीका सम्पूर्ण पत्रकारिता सम्बद्ध संघसंस्थाको अभिभावक संस्था भएकाले हरेक गतिविधिमा साथ, समर्थन रहने प्रतिबद्धता उनले व्यक्त गरिन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा स्थापना भई चपस कास्कीले नेपाली सिनेमाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गरे । चपस कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले संस्थाको क्रियाशिलताको तारिफ गरे । संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।