काठमाडौं: गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । उनले संविधानको धारा १६८ ९२० अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पथ्र्यो । सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले जानकारी दिए । रिटमाथि २७ वैशाखमा सुनुवाइ हुने भएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा जेठ ८ गतेदेखि हनि हन्टिङ महोत्सव हुने भएको छ । लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज (मंगलबार) पोखरामा पत्रकार सम्मलेन गर्दै जेठ ८ गते महोत्सव हुन लागेको जानकारी दिएको हो । लान्द्रुक मोदी खोला किनारस्थित कोटेसाङ भीरमा रहेको भीर माहुरीको मह काढ्न यसवर्षपनि हनि हन्टिङ महोत्सव आयोजना गरेको अध्यक्ष सुरेश गुरुङले बताए । ‘भीर मौरीको मह वर्षमा दुईपटक काढ्ने गरिन्छ, अहिले वर्षको पहिलो सिजनको मह निकाल्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘लान्द्रुक मोदीखोला किनारास्थित कोटेसाङ भिरमा रहेको भीर माहुरीको मह निकाल्न जेठ ८ गते हनि हन्टिङ महोत्सव आयोजना गरेका छौं ।’ यो पनि पढ्नुहोस कोटेसाङ महभीरमा जमेको पौडेल र पुन जोडी उनले मोदीखोला किनारास्थित कोटेसाङ भीरमा करिव १० देखि १२ घारको मह निकालिने समेत बताए । ‘हनि हन्टिङ महोत्सवमा हामीले करिव १०देखि १२ घारको मह निकाल्दै छौं’उनले भने, ‘महोत्सवले लान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनसँगै लेकाली महलाई बजारीकरण गर्ने लक्ष्य राखेका छौं ।’ उनले एक लिटर महको ३ हजार रुपैयाँ मूल्य कायम गरिएको समेत बताए । यस्तै हनि हन्टिङ महोत्सवमा ३३ वर्ष उमेर माथिको पौढ भलिबल समेत आयोजना गरेको छ । साविक वडास्तरीय पौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । महोत्सवमा सास्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । महोत्सवमा भिरौटेदेखि शिकारी सम्मानित हुँदै लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले भिरौटे, शिकारी र दिवंगत भएका भिरौटे र शिकारीहरुलाई मरणोपरान्त सम्मान गर्ने भएको छ । सम्मानित हुनेमा आनन्द पौडेल, खड्गबहादुर गुरूङ, मन बहादुर पुन, घनश्याम चापागाई, नक्कल गुरूङ, मिमबहादुर गुरूङ, अर्जुन गुरूङ, जय पौडेल क्षेत्री लगायत रहेका छन् । भने मरणोपरान्त सम्मान पाउँनेमा जंगावीर क्षेत्री, हवल्दार सेते गुरूङ, प्रताप बहादुर गुरूङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरूङ रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो । शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्नेमा उहाँको जोड छ । दुर्घटनाको मूख्य कारण मानवीय लापर्बाही हुने तथ्यांकले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापर्बाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । यसैगरी यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रीका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन् । ‘यहाँ दिएको डाटा अनुसार दुर्घटनाका प्रतिशतमा मानवीय लापर्बाही नै प्रदान देखियो, नियम उल्लङ्घन कुराले धेरैं क्षती भइरहेको हुन्छ, नियम र पद्धतीमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो । विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रुपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेको खण्डमा सभ्य समाज निर्माणमा सहजता हुने उहाँले सुनाउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायतको सम्बन्धमा कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको भन्दै त्यसलाई अब पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत मुख्यमन्त्री अधिकारीले जनाउनुभयो । जागरणका कार्यक्रमले सभ्य समाज निर्माणमा सहयोग गर्ने उहाँको विश्वास छ । ‘विद्यालयका भाइबहिनीले जागरणको रुपमा लिएको खण्डमा सभ्य समाज निर्माण त्यहींबाट सुरु हुन्छ, असभ्य समाजमा दुर्घटना बढी हुन्छ, नियमहरु तोडिन्छ, हामी असभ्य हुन चाहदैनौ’ उहाँले थप्नुभयो । ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने उहाँले बताउनुभयो । सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकै नमुना ठाउँ बन्ने विश्वास मुख्यमन्त्री अधिकारीले गर्नुभयो । गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो ।
बागलुङ: बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय खमबहादुर पुनको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएका पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । ‘उपचारका लागि स्वास्थ्य केन्द्रमा ल्याईएका पुनलाई चिकित्सकले मृत घोषित गरेका थिए’ यादवले भने, ‘शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईसकिएको छ ।’
काठमाडौं: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ
ओखलढुंगा: ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो । सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।
पोखरा: पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख हैरानी दिने ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका–५ जिरो किमी, लेकसाइड,हल्लनचोक क्षेत्रमा सर्वसाधारण तथा पर्यटकहरुलाई दुःख हैरानी दिएको भन्दै प्रहरीले हिजो (शनिबार) प्रकाउ गरेको छ । सर्वसाधरण नागरिक तथा पर्यटकहरु सवारी साधनबाट ओरल्ने स्थानबाट बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोलाहरु तान्ने पैसाको बार्गेनिङ गर्दै अनावश्यक दुःख हैरानी दिएको आरोपमा ५ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्ग बस्ने २५ वर्षीय मिनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरेचोक बस्ने शुसान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी छन् । प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधि भएर वडामा आएदेखि वडा भित्रका युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागिपरेको बताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार व्यवसाय गर्न सक्ने उनको भनाइ रहको थियो । सो अवसरमा बोल्दै तालिमका समन्वय कर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीहरुले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने बताउदै आफुहरुले ४५ दिन सम्म तालिममा सिकाइने कुरालाई व्यवहारमा उतार्न सके नेपालमानै केही गर्न सक्ने बताइन । त्यस्तै ब्यूटिसियन तालिमका संयोजक तथा वडा नं १० का सदस्य नरदेवी गुरुङले अघिल्लो वर्षहरुमा पनि महिला दिदी बहिनीहरुलाई ब्यूटिसियन तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि आधारभुत मात्र नभइ डिप्लोमा लेभलको ब्यूटिसियन तालिम समेत आफुहरुले सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन । सोमबारदेखी सञ्चालन भएको तालिममा वडा भित्रका २५ जना महिलाहरुको सहभागीता रहेको वडा सचिव दमयन्ती पराजुलीले जानकारी दिइन ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका छन् । अवार्ड कार्यक्रम यहीं बैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ । नीरज थापा (टेनिस) काठमाडौँ रङ्गशालामा रहेको टेनिस कोर्टमा विसं २०४९ सालमा बल टिप्न र कोर्ट मर्मत गर्न पुगेका थिए नीरज थापा । लगातार बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरजलाई अरूले हेरेको खेल्न थाले । उनी २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आए । त्यसपछि उनी बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । एक दशक अघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले नीरजसँगबाट टेनिस ¥याकेट समात्न सिकेका हुन् । अनि बिस्तारै बल टिप्नबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौँ एक वर्षे कोचिङ टेनिङ लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील भए । उनले २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १० जनाले टेनिस खेल्थे । अहिले भने १०० भन्दा बढी टेनिस खेल्ने उनी बताउँछन् । उनी बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन् । नीरज थापाले अहिलेसम्म सयौँ चेलाहरू बनाइसकेका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस सरहका रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्दछन् । रमेश केसी (भलिबल) चैतमा चितवनमा भएको अन्तर प्रदेश भलिबलमा सबै प्रदेशलाई पाखा लगाउँदै गण्डकी च्याम्पियन बन्यो । गण्डकीले प्रदेशलाई मात्र होइन विभागीयलाई समेट पछारेर उपाधि जितेको धेरै उदाहरण छन् । गण्डकीलाई भलिबलमा उत्कृष्ट बनाउन भूमिका खेलिरहेका छन्, प्रशिक्षक रमेश केसी । एक दशक भन्दा बढी पश्चिमाञ्चलबाट योगदान दिएका केसी अहिले गण्डकीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । प्रदेशले साथ नदिएको बेला होस् या भलिबल सङ्घको सहयोग नगरेको बेला । जुनसुकै बेला पनि उनले व्यक्तिगत खर्च गरेर उनले टिमलाई खेल्न लगेका हुन्छन् । गण्डकीले २०८० मा १९ वटा प्रतियोगिता खेल्यो । त्यसमा ३ वटामा चौथो र २ वटामा तेस्रो रह्यो । अन्य प्रतियोगितामा गण्डकी विजेता र उपविजेता बन्न सफल भयो । केही वर्षअघिदेखि प्रशिक्षक केसीले पश्चिमाञ्चल भलिबल टेनिङ सेन्टर समेत सञ्चालन गरेका छन् । उनले प्रदेशका खेलाडीहरूलाई समेत उक्त सेन्टरमा नै प्रशिक्षण गराउँदै आएका छन् । प्रतियोगिताबाहेकको समय अरू नयाँ खेलाडीहरूसमेत प्रशिक्षण गर्ने गरेको उनको भनाइ छ । सानैदेखि भलिबल खेल्न सुरु गरेका रमेशले ९ वर्ष तत्कालीन पश्चिमाञ्चलको कप्तानी गरेका थिए । उनले अहिले पनि भलिबलमा उत्तिकै योगदान दिइरहेका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता प्रतिभावान् खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् । रिजन प्रजु (क्रिकेट) खेलाडीको भूमिकामा रहँदै प्रशिक्षक बनेको रिजन प्रजु गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन् । उनले विगत केही समयदेखि गण्डकीको क्रिकेटलाई सम्हाल्दै आएका छन् । उनले कोचिङ गरेर सहभागिता भएको पहिलो प्रतियोगिताको उपाधि जिताएका थिए । सुदूरपश्चिममा भएको यु–१९ महिला प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेपछि गण्डकीका ५ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा र ३ जना टोलीमै परेका थिए । २०७८ मा मलेसियामा यु–१७ विश्वकप छनोटमा प्रशिक्षक प्रजुले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २००७ सालमा खेलेका उनी यु–१७ राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका थिए । २०१३ सालबाट भने उनी कोचिङतिर लागेका थिए । लेभल १ को कोचिङ ट्रेनिङ लिएका उनले २०१६ पछि भने जागिर छोडेर फुल समय क्रिकेटलाई दिन थालेका हुन् । उनले अहिले आइसिसीबाट लेभल २ को कोचिङ ट्रेनिङ लिएका छन् । उनीसहित नेपालमा लेभल २ को टेनिङ लिएका ८ जना छन् । उनकै प्रशिक्षणमा पहिलोपटक गण्डकीले राष्ट्रियस्तरमा उपाधि जितेको छ । गत चैतमा भएको अन्तर प्रदेश क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको हो । हाल यु–१९ टोलीमा गण्डकी प्रदेशबाट ३ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षकसँगै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, एम.ए. कन्स्ट्रक्सन प्रा.लि, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।