बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित
म्याग्दी | साउन ८, २०८१

म्याग्दी: म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ ।
स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ ।
म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
“सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उहाँले भन्नुभयो, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तीर्थयात्री सडकको दुरावस्थाका कारण पीडित भएका छन् ।
कतिपय स्थानीयवासी, पर्यटक र तीर्थयात्री मुस्ताङ आवतजावत तथा बिरामी अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिरो छन् ।
पहिरोका अतिरिक्त ठाडो खोलामा आउने बाढी र कालीगण्डकीको कटान पनि बेनी–जोमसोम सडकको मुख्य चुनौती बनेको छ । हिउँदभर स्तरोन्नतिको काम भएको म्याग्दी खण्डको अधिकांश सडकमा पहिराले क्षति भएको छ । गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर क्षति हुने भएकाले पानी परेको र रातको समयमा आवतजावत नगर्न अनुरोध गरिएको छ ।
गलेश्वर–तातोपानी खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेडका इन्जिनियर सुमन भट्टराईले कालोपत्र गरिएको सडक भत्किएर र पुरिएर क्षति भएको बताउनुभयो ।
“बेगखोला–तातोपानी खण्डको आठ किलोमिटरमा गत हिउँदमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र सडक पहिरो खसेर क्षति भएको छ”, उहाँले भन्नुभयो, “नयाँनयाँ ठाउँबाट पहिरो खस्ने र कुनातर्फ नयाँ पानीको मुल फुटेर नालीभन्दा बाहिरबाट बग्न थालेपछि समस्या भएको छ ।”
नागढुङ्गा–घाँसा खण्डको ठेकेदार कम्पनी शर्मा–जगुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले विगतका वर्षमा पहिराले दुःख दिने काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ढलान गरिएपछि यसपालि समस्या नभएको तर अन्य ठाउँमा क्षति भएको बताउनुभयो ।
“यहाँको प्रतिकूल भूगोल र मौसमले डिबिएसडी कालोपत्र गर्ने डिजाइन नै परिवर्तन नभएसम्म काम गर्न सकिने देखिएन”, उहाँले भन्नुभयो, “हिउँभर सडकमा बनाएको संरचनालाई बर्खाको पहिराले छियाछिया बनाएको छ ।”
सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।
सडक विभागको डोजर, लोडर र ब्याकुहोलोडर तथा प्राविधिकलाई तयारी अस्वस्थामा राखेर पहिरो पन्छाएर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाए पनि दीर्घकालीन समाधानका लागि बजेटको अभाव भएको आयोजना प्रमुख झाले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...