पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

काठमाडौं:    राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुबुझाएकी  हुन् ।  उनले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।  सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन् ।  राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते निर्विरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । 

झापाः    झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् ।    शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् ।    घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।   यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । जङ्गली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ । हात्तीले गोठमा रहेको धानसमेत खाएको छ । हात्तीले यसअघि मङ्गलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो ।   हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।  संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन् । 

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।  नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो ।  “उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो । अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुन: २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू रहेका छन् ।   प्रहरीका अनुसार उजेलीलाई सुतेको अवस्थामा फलामको हतौडा प्रहार गरी फरार भएका थिए ।   त्यसपछि अचेत भएकी उजेलीलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएपनि चिकित्कसको मृत घोषणा गरेको थियो ।   उजेलीको हत्या भएको प्रहरीलाई सूचना पुगेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।    मृतकले गालीगलोज गर्ने गरेको र रिसको झोकमा आफुले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा बताएका थिए ।    सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज सेती नदीको ड्याम खोलिने बताउदै सतर्क रहन आग्रह गरेको छ ।   विगत २७ दिनदेखि सेती नदीमामा हाम फालेर बेपत्ता भएका पोखरा–१६ का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोलिने भएको हो ।    कास्की प्रहरीले सूचना जारी गर्दै आज दिउँसो १ बजे दीपको ड्याम खोलिने बताउदै नदी किनारमा नजान आग्रह गरेको छ ।   पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजका लागि दोस्रो पटक ड्याम खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।    पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए ।      उनका अनुसार यसअघि गत २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो ।  फागुनको १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका थिए ।   बास्तोला परिवारले पुनः ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।  

काठमाडौं:     यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

पोखरा:    नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनमा बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।  अध्यक्षमा निर्वाचित क्षेत्रीले ५ सय ५१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी बास्तोलाले ३ सय ४७ मत पाए । भने अर्का अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।  उपाध्यक्षमा निर्वाचित भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०) मत पाए ।