काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

इलामः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो ।   एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो ।   निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।   सुहाङको जन्म वि.सं. २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभयो। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया जानुभयो । त्यहाँ दुई वर्ष बसेर उहाँ नेपाल फर्कनुभयो ।   स्वदेश फर्केर उहाँले काठमाडौं स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गर्नुभयो । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाउनुभएको थियो । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आउनुभएको थियो ।   सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्नुहुन्थ्यो । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताउनुभएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाल्नुभयो ।   उहाँले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गर्नुभयो । पछिल्लो समय उहाँ सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्नुभएको थियो । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका हुनुहुन्छ ।   वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको थियो । यद्यपि उहाँ राजनीतिक गतिविधिबाट भने टाढै हुनुहुन्थ्यो । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदान समेत गर्नुभएको थिएन । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाउनुभएको थिएन ।   राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलायो र निर्वाचितसमेत हुनुभयो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाउनुभएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाउनुभएको छ ।   सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।   आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्धा इलामको नागरिकको साझा भएको उहाँको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उहाँको भनाइ छ । उहाँ आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउनुहुन्छ । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उहाँको भनाइ छ ।   हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका एक दाजु, एक दिदी र एक बहिनी हुनुहुन्छ । उहाँको दिदी सुसाङ पेशाले डेण्टल सर्जन हुनुहुन्छ भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

मनाङ:    मनाङमा लुलुगाई हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार डोल्पाको काकोट गाउँपालिका–९, का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१, का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् ।  उनीहरुले आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । उनले भने, “जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।” लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ ।

काठमाडौंः   सरकारले काठमाडौंमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन सोमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गर्नुभयो ।   लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको बताउनुभयो । सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उहाँले दाबी गर्नुभयो ।   “तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त गरेका छौँ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा हाम्रा प्राथमिकता र सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक रुचाइएको तथा आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएका छौँ”, भट्टले भन्नुभयो, “आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित कूल एक सय ५४ परिरयोजना प्रस्तुत गरिएको थियो । यसबाहेक विभिन्न चरणमा रहेका अरू परियोजना पनि प्रदर्शन गरेका छौँ ।”   सम्मेलनका क्रममा लगानीकर्ताहरुसँग महत्वपूर्ण छलफल भएको पनि प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो । “प्रधानमन्त्री र अर्थमन्त्रीसँग लगानीकर्ताको प्रत्यक्ष छलफल र साक्षात्कार भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्र एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक बसेका छन्”, उहाँले भन्नुभयो, “विश्व बैङ्क समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् ।”   यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको जिकिर पनि प्रमुख कार्यकारी अधिकृत भट्टले गर्नुभयो । लगानीकर्ताहरु नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उहाँको भनाइ छ ।   “लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउन लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्”, उहाँले भन्नुभयो ।   सम्मेलनका क्रममा आयोजना भएका विभिन्न सत्रले नेपालको लगानी परिदृश्य उजागर गरेका गरेको उहाँको भनाइ छ । “सम्मेलनका क्रममा पहिचान र सृजना भएका व्यावसायिक अवसरले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावना पेस गरेको छ । लगानीसम्बन्धी ऐनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको निरन्तर चासो र अनुरोधलाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनलगायत लगानीसम्बन्धी ऐन संशोधन गरेको छ भन्ने सन्देश हामीले दिएका छौँ,” भट्टले भन्नुभयो, “सम्मेलनको माध्यमबाट विश्व लगानी समुदायका लागि नेपालमा उपलब्ध प्रचुर सम्भावनामा लगानी आकर्षित गर्ने क्षमता मात्र होइन, सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरेका थियौँ ।”   समापन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास र समृद्धिको साझा आकाङ्क्षा पूरा गर्नका लागि लागि सबै राजनीतिक दलको साझा प्रतिबद्धता रहको बताउनुभयो ।   नेपाल लगानीका लागि नयाँ गन्तव्यका रुपमा स्थापित हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ नीति र लगानीका सम्भावनाबारे लगानीकर्तालाई विस्तृतमा जानकारी दिन यो सम्मेलन सफल भएको धारणा उहाँले राख्नुभयो ।   समापन सत्रमा बोल्नुहुँदै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानी वातावरण बनाउनका लागि नेपालले गरेका नीतिगल सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरुका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन सफल भएको बताउनुभयो । सम्मेलनमार्फत सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्नुभयो ।   “आर्थिक विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिन सफल भएका छौँ । लगानीको समग्र पारस्थितिक प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानी फिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । सबै लगानीका क्षेत्रमा समन्वय र सहजीकरणका लागि सरकारका तर्फबाट प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।  

सर्लाही:     सर्लाहीको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ। गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो। आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन्।  भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन्। घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो। यसैगरी, गए राति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ। आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ। आगलागीबाट दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो।

काठमाडौं:  भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।   भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।   आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए।   उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए।   दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका-१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।

इलाम:      प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका थिए । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् ।  यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

इलाम:     इलाम प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी हुनुभएको छ ।  निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्बाङ्ग प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणामअनुसार नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ ह्जार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ्गको निधन पछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । सुहाङ सुभाष नेम्बाङ्गका कान्छा छोरा हुनुहुन्छ । २०४६ सालमा काठमाडौंमा उहाँको जन्म भएको हो । उहाँ कानूनमा स्नातक उत्तिर्ण हुनुहुन्छ । सुहाङ नेम्बाङ्गलाई उपनिर्वाचनमा नेकपा एमालेले नेकपा माओबादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उम्मेद्वारका रुपमा इलाम(२ मा उम्मेद्वार बनाएको थियो । यसअघि २०७९ मा भएको आम निर्वाचनमा काँग्रेसका खड्का सुहाङका पिता सुभाष नेम्बाङ्गसँग ११४ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । उपनिर्वाचनको मत परिणामअनुसार पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगीमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । पहिचान पक्षधर केहि राजनैतिक दल र संगठन सहित ४२ घटकहरुको समर्थन रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिले चौथो स्थान प्राप्त गरेको छ । घण्टी चुनाव चिन्हमा ५ हजार ५० मत प्राप्त भएको छ । उपप्रधानमन्त्री एवम् गृहमंत्री रवि लामिछाने अध्यक्ष रहेको यो पार्टीले पत्रकार मिलन कुमार योङ्गहाङ्ग लिम्बुलाई उम्मेद्वार बनाएको थियो । गत शनिबार उपनिर्वाचन भएको थियो । १२ राजनैतिक दल सात स्वतन्त्रसहित १९ जना उम्मेद्वारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ को उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।

पोखरा:    पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने २ शिक्षकलाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ११ फुलबारीस्थित शिवशक्ति माविमा सञ्चालक भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा २ शिक्षकलाई हिजो (आइतबार) प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।  विद्युतीय माध्यमबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा पोखरा ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोलालाई ८ थान उत्तर पुस्तिका र ३ थान मोबाइल सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनीहरुलाई प्रकाउ गरेको हो ।   

पोखरा:     विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ।  यसका कारण कैयौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू समेत प्राप्त भएका छन्। यो क्रम निरन्तर जारी रहेमा वातावरणीय प्रदुषण बढ्नुका साथै मानव बस्ती समेत जोखिममा पर्ने र वायुप्रदुषणको स्तर अत्याधिक बढ्दै जाने देखिन्छ। यसरी फैलिरहेको डढेलो र त्यसले गराएको प्रदुषणप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चिन्ता व्यक्त गर्नुभएको छ । सोमबार एक अपिल जारी गर्दै उहाँले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको समेत बताउनुभएको छ। डढेलोले पर्यावरण, जडिबुटी, ठुलो मात्रामा काठ दाउरा, चराचुरुङ्गी वन्यजन्तु, पूनरुत्पादित साना विरुवामा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउदै जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री अधिकारीको उल्लेख गर्नुभएको छ । वनजंगलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पुर्‍याउनुका साथै वन जंगलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको छ। सुख्खा तथा हावाहुरी चल्ने यो मौसममा आगलागी र डढेलोको जोखिम बढ्दो छ। यी घटनाक्रमहरूले प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ र चिन्ता समेत बढाएको छु मुख्यमन्त्री अधिकारीले जारी गर्नुभएको अपिलमा भनिएको छ। आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकोले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको उहाँले खुलाउनुभएको छ ।  विपत्ति आइपरेमा भने सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको भन्दै तत्काल सम्बन्धित ठाउँमा खबर गर्न आग्रह समेत गर्नुभएको छ । 'डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदुषणको जोखिम रहिरहने, सिमसार सुक्ने, बाढी पहिरो समेतको जोखिम बढ्ने हुनाले यस्ता दुःखद प्राकृतिक विपत्तिबाट जोगिन विशेष सावधानी अपनाउनुहुन र कसैगरी त्यस्ता विपत्ति आइपरेमा सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको हुँदा तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुहुन गण्डकी प्रदेशबासी सबै दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु'अपिलमा भनिएको छ।