काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

स्याङ्जा:     स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको हो । चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर १० लाखभन्दा बढीको क्षति भएको छ । उनले भने, ‘वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।’ पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि प्राविधिक टोली पठाइने बताए । घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

पोखरा:     यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।  आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको पोखरा स्पोर्टस अवार्डलाई सघाउन पाउँदा आफूलाई गौरव महशुस भएको बताए ।  उनले भने,‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ हामी सामाजिक अभियानमा काम गर्ने संस्था लगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ ।’ पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत समेत रहेका शर्माले भने । उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफू सहित सम्पूर्ण कार्यसमिति नै हर्षित भएको जनाए । ग्रुपले विगतदेखि पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै मञ्चका अध्यक्ष बरालले सहयोगप्रति धन्यवाद व्यक्त गरे । टाइगर ग्रुपले पोखरामा हरेक वर्ष आमन्त्रण महिला तथा पुरुष क्लव स्तरिय टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको ग्रुपले विगत वर्षदेखि अवार्डलाई सहयोग गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए । बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फकोर्ष, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लरलगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

बझाङ:    बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् । त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । 

रामेछाप:      रामेछापको रामेछाप नगरपालिका वडा नं.३ हिमगंगाको विभिन्न जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका स्थानीय सुवास महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयहरुको सूचनाका आधारमा जंगलको ठाउँ ठाउँमा आगो लगाउँदै हिडेका महतलाई प्रहरीले पक्राउ गरि वन कार्यालयलाई जिम्मा लगाएको छ । जिल्लाका अधिकांश जंगलहरुमा डडेलो लागिरहको बेला कालिकादेवी सामुदायिक वनका उपभोक्ताहरुले भने जंगलमा आगो लगाउनेको पहिचाहन गरेर प्रहरीलाई खवर गरेका थिए । पक्राउ परेका महतलाई वन ऐन अनुसार कारबाहि हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

इलाम:     इलाममा जारी इलाम– २ को मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले अहिले सम्ममा ७ हजार ६७७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत, रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत प्राप्त गरेका छन् ।  यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको हो । अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ । अहिले सम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ ।

पोखरा:    गायन रियालिटी ‘शो’नेपाल आइडलको पाँचौं संस्करणमा पोखराकी सलोमी गुरुङसहित उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रस्तुति दिएका छन् । शोको शनिबार प्रशारण इपिसोडमा उत्कृष्ट १२ प्रतिस्पर्धीको प्रस्तुति रहेको थियो ।  उत्कृष्ट १२ मा पोखराकी सलोमी गुरुङसहित करण परियार, मावन परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा, सुनिल विश्वकर्मा, छिरिङ पाख्रिन, इशा सुवेदी, प्रेणा विश्वकर्मा, सचिन विश्वकर्मा, सन्तोष पुनले प्रस्तुति दिए । यीमध्ये ६ प्रतिस्पर्धीहरु प्रस्तुतिका आधारमा जजले दिएको नम्बर अनुसार सिधै उत्कृष्ट १० मा करण परियार, मानव परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा र सुनिल विश्वकर्मा छनोट भएका छन् ।  बाँकी ६ जनाले भोटिङका लागि प्रतिस्पर्धा गरिरहेका छन् । भोटिङमा गएकामध्ये २ जना आउट हुनेछन र आउँदो शुक्रबार उत्कृष्ट १० को छनोट पुरा हुनेछ । भोटिङमा सलोमी गुरुङ, सन्तोष पुन, सचिन विश्वकर्मा, प्रेणा विश्वकर्मा, इशा सुवेदी र छिरिङ पाख्रिन छन् ।  नेपाल आइडलको अन्तिम १२ मा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।  सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।   

काठमाडौं:    वेष्ट इण्डिज ए ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १/१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे । गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १(१ विकेट लिए । अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिएको थियो । स्ट्राइकमा रोहित पौडेल र बलरमा म्याथ्यु फर्ड थिए । पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्ट्रेटमा चौका भएको थियो । तेस्रो बलमा आकाश चन्द दुई रन लिन दौडिँदा रन आउट भए । चौथो बलमा सागर ढकालले १ रन लिए । त्यसपछि बाँकी दुई बलमा ११ रन चाहिएको थियो । पाँचौं बलमा रोहितले लङअनमा सट खेलेपनि रन लिएनन् । नेपालको हार पक्का बनेको थियो । त्यसपछि अन्तिम बल डट खेले । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चार्ल्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनैपनि समय वेष्टइण्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् । रोस्टन चेस, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो । नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल  र वेष्टइण्डिज १–१ को स्थितिमा छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ ।  अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ । अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) पछि देहायको उपदफा (३) थपिएको छ । उक्त दफामा भनिएको छ, “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भ एपनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने छैन ।”      नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा लगानी प्रवद्र्धन गर्ने कार्यलाई सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकाले सङ्घीय संसद्ले यो ऐन बनाएको छ । राष्ट्रपतिले आज प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आएको छ । भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन गरी उक्त ऐनको उपदफा (१) पछि देहायको उपदफा (१) थप गरी भनिएको छ, “निवेदन दिन नसकेको उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले यो उपदफा प्रारम्भ भएको मितिले एक वर्षभित्र हदबन्दीभन्दा बढी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खोली स्वीकृतिका लागि मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष निवेदन दिन सक्नेछ ।”      कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हदबन्दीभन्दा बढी जग्गा रहेकामा विभाग तथा कार्यालयले त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हदबन्दीभित्र रहेको र हदबन्दीभन्दा बढी रहेको जग्गाको अभिलेख बनाई राख्नुपर्ने अध्यादेशमा उल्लेख छ । अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्ने सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै संस्थाको रोजगारी तथा उत्पादन नघट्ने र निरन्तर सञ्चालन हुनसक्ने भएमा ऋण फरफारक र दायित्व भुक्तानी गर्न दफा ७ बमोजिमको हदभित्रको जग्गा मन्त्रालयले तोकेको शर्तको अधीनमा रही मन्त्रालयको स्वीकृतिमा एकपटकका लागि बिक्री वितरण गर्न बाधा पर्ने छैन भनिएको छ तर त्यसरी हदभित्रको जग्गा बिक्रीवितरण गरिएको कारणले जग्गा बिक्री गर्नुभन्दाअघि हदबन्दीभन्दा बढी रहेको जग्गा दफा ७ बमोजिमको हदभित्र कायम भएको मानिने छैन । ‘सकार’ गरेको जग्गा बेचबिखन गर्नुपर्ने व्यवस्थामा बैंक वा वित्तीय संस्था वा सहकारी सङ्घसंस्थाले कर्जा सुरक्षणबापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी सङ्घसंस्था आफैँले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले तीन वर्षभित्र बेचबिखन गरिसक्नुपर्ने व्यवस्था गरिएछ । सो अवधिभित्र बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखन गर्न सरकारको स्वीकृति लिनुपर्नेछ ।      विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ मा संशोधन गरी विदेशी विनिमय भुक्तानीको सिफारिस गर्नसक्ने व्यवस्था गरेको छ । उक्त व्वस्थामा कम्प्युटर नेटवर्क वा कम्प्युटर प्रणालीमा प्रयोग हुने व्यवस्था छ । कुनै सफ्टवेयर, हार्डवेयर वा कम्प्युटर वा सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा सेवा विदेशबाट आयात गर्दा विदेशी मुद्रामा रकम भुक्तानी गर्नुपर्ने भई सम्बन्धित लगानीकर्ताले त्यस्तो सामग्री वा सेवा नेपालमा भित्र्याउन विदेशी मुद्रा सटही सुविधा माग गरेमा सूचना प्रविधि विभागले प्रचलित कानुनबमोजिम विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्रबैंकमा सिफारिस गर्नुपर्नेछ ।      साथै अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ खोल्नसक्ने व्यवस्था भएको छ । नेपालमा स्थापित भएको सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम स्वदेशमा भित्र्याउने प्रयोजनका लागि विदेशमा शाखा कार्यालय खोल्न सकिनेछ ।      यस्तै, इकाइ खोली व्यापारिक कारोबार गर्न आवश्यक भई सम्बन्धित व्यक्ति, फार्म, उद्योग वा कम्पनीले सो कुराको पुष्टाइँ गर्ने कागजातसहित निवेदन दिएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो शाखा कार्यालय वा इकाइ खोल्नका लागि अनुमति दिनेछ ।      सम्बन्धित व्यक्ति, फार्म, उद्योग वा कम्पनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले एक पटकका लागि उपदफा ९ज्ञ० बमोजिम विदेशमा शाखा कार्यालय वा इकाइ स्थापना र सञ्चालन गर्न आवश्यक विदेशी मुद्रा सटही गर्न सुविधा प्रदान गर्न सक्नेछ भनी व्यवस्था गरेको छ ।      विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा संशोधन गरी विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्नसक्ने व्यवस्था छ । यो दफा प्रारम्भ हुँदाका बखत प्रचलित कानुनबमोजिम दर्ता भई वा अनुमतिपत्र लिइ सञ्चालनमा रहेको उद्योगको लगानीकर्ताले प्रयोगमा ल्याइसकेको मेसिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्नसक्ने व्यवस्था छ । संशोधित ऐनमा भनिएको छ, “अनुमतिपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगले उत्पादन सुरु गरेको मितिले चार वर्षसम्म कम्तीमा १५ प्रतिशत र त्यसपछिका वर्षमा कम्तीमा ३० प्रतिशत उत्पादित वस्तु वा सेवा निर्यात गर्नुपर्नेछ ।”      उद्योग र विदेशी लगानीकर्ताबीच वा नेपालमा स्थापना भई सञ्चालनमा रहेको उद्योग वा कम्पनी र विदेशस्थित उद्योग, फर्म वा कम्पनीबीच सम्झौता गरिने प्रविधिको हस्तान्तरण प्रविधि हस्तान्तरणमा पनि समावेश गरिएका छन् । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा संशोधन गरी राष्ट्रिय वनभित्र खनिज पदार्थ रहेको उत्खनन् गर्नुपर्ने भएमा प्रचलित कानुनबमोजिम वातावरणीय अध्ययन गरी त्यसरी उत्खनन् गर्दा वातावरणमा उल्लेख्य प्रतिकूल असर नपर्ने भएमा त्यस्तो खनिज पदार्थ उत्खनन् गर्न नेपाल सरकारले वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिनसक्ने रहेको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ संशोधन गरी स्टार्टअप उद्यम वा व्यवसायको दर्ता तथा सञ्चालन गर्नेलगायत रहेको छ ।