काठमाडौं: धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको छ । फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु भएको छ । पहिलो चरणको छायांकन यसअघि मनाङमा सम्पन्न भइसकेको छ । निर्देशक अशोक थापाले बिहीबारदेखि पुन मगरको उद्गमथलो रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले दशक लामो सशस्त्र युद्धको क्रममा युवायुवतीबीच अंकुराएको प्रेमलाई देखाउँछ । छायांकन गर्न पुगेको ‘खुश्मा’को टिमलाई मौकोटबासीले स्वागत गरेका थिए । मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा बेलायत गएका थिए । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
पोखरा: आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । प्रहरीका अनुसार विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् । श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् । लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् । सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल (एमच्याम) का महाप्रबन्धक अमीरराज थापाले बताए । 'एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी साउद) लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो', थापाले भने । उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए । उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।
काठमाडौं: आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुनेछन् । ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बो र्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एकएक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् । यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ ।
नुवाकोट: मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले तादी गाउँपालिका–४ सातबिसेबाट बुधबार पक्राउ गरेको हो । फरार रहेका जंगबहादुलाई मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गते ९ वर्ष ७ महिना १० दिन कैद फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । हाल पक्राउ परेका उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
लमजुङ: मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । ५.५ मिटरमा सवारीसाधन सञ्चालन हुने, १.१ मिटर पानीको निकास र पैदलयात्री मार्ग १ मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो । बेँसीसहरबाट खुदीसम्म करिब साढे ७ किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३ सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ । पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा भोलि (शनिबार) देखि पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए । उनका अनुसार सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्येश्य लिइएको छ । प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । सहभागि टिमलाई ३ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उनले बताए । प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गरेको छ ।
पोखरा: गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसैगरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । यस अघि प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेल संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषद प्रयासरत रहेको जनाउँदै अवको आफ्नो अभियान दशौं राष्ट्रिय खेलकुद प्रतियोगितातर्फ लक्षित रहेको जनाए । यूवा खेलाडी उत्पादन गर्न परिषद खेल संघहरु संग सहकार्य गर्न तयार रहेको जनाउँदै संघहरुले आफ्ना वार्षिक कार्यक्रम तथा योजनाहरु समेत अघि सार्न आग्रह गरे । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, स्क्वास र्याकेट संघका केन्द्रिय सदस्य सन्तोष घिमिरेलगायतले आफा्ना भनाई राखेका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष रञ्जितले आफ्नो कार्यकालमा स्क्वास खेलको विकासका लागि सबै संग सहकार्य गर्दै वार्षिक रुपमा विभिन्न प्रतियोगिताहरुको आयोजना एवं खेलाडी उत्पादनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाका महासचिव बस्नेतले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पोखरा: आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक पौडेलले जनाए । अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरेर तयारीमा तिव्रता दिइएको छ ।

