सर्लाही: सर्लाहीमा गएराति भएको दुर्घटना रौतहट घर भएका दुई जना युवाको मृत्यु भएको छ । हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका–३, मा भारतीय नम्बर प्लेटको एचआर ५९ ए ०१३१ नम्बरको जीप र भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा रहेका रौतहट माधवनारायण नगरपालिका–६, घर भएका २३ वर्षीय शियानन्दन महतो र त्यहीँ ठाउँ घर भएका अर्का १९ वर्षीय अजय महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पन्जियारले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ठक्कर दिने जीपलाई नियन्त्रणमा लिएको छ । जीपका चालक फरार छन् । चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलबार नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार विहान ११:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि–२०आई टोलीमा छैनन् । प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन् । नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ । नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ । बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन् ।
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्यो । दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा नेपालले इराकलाई ५–० ले हरायो । अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४–० को जितसँगै नेपाल समूह विजेता बनेको हो । यता लेवनानले पहिलो खेलमा गुआममाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । त्यसपछि साउदीलाई २–३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २–० ले पराजित भयो । आज हुने पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन् । प्रतियोगताको फाइनल विहीबार हुनेछ । साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन् । दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन् ।
पोखरा: रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२:४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ । स्वर्गीय आमा इन्द्रकला पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।
पोखरा: देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् । आज देशभर नै मगर समुदायले विभिन्न कार्यक्रम गरेर ४२ औं मगर दिवस मनाउँदै छन् । यस्तै आज पोखरामा नेपाल मगर संघ कास्कीको आयोजनामा चिप्लेढुङ्गाबाट झाँकी तथा ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृह हलमा आएर औपचारिक कार्यक्रममा सुरु हुनेछ ।
काठमाडौं: सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बालकुमारी घटनाका सम्बन्धमा जुन प्रतिवेदन प्राप्त भएको छ, समितिले यसको अध्ययन गर्ने छ र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ ।’ बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । साथै सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
पोखरा: एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम मदरल्यान्ड र प्रतिभा मावीबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिङ र अंमरसिंह मावि भिड्नेछन् । सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त तय गर्नेछन् । सोमबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । अंमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनमा प्रवेश ग¥यो । मदरल्यान्ड र गण्डकी बोर्डिङ यसअघि नै सेमिफाइलन प्रवेश गरिसकेका थिए । पहिलो खेलमा कुमुदिनीले दिएको ३६ रनले लक्ष्य प्रतिभाले २ ओभर १ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । प्रतिभाका लागि रोशन पौडेल, निश्चल श्रेष्ठले ९÷९ र बब्लु शाहले ६ रन बनाए । बलिङमा कुमुदिनीका लक्की गुप्ताले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको कुमुदिनी ९ ओभर ४ बलमा ३५ रनमा समेटिएको थियो । कुमुदिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा प्रतिभाका सन्देश गिरीले सर्वाधिक ५ विकेट लिए । सन्देश प्लेयर अफ द म्याच घोषित भए । दोस्रो खेलमा अंमरसिंहले दिएको १०५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल भारतमैत्री मात्र ३६ रनमा समेटियो । अंमरसिंहका बलरसामु नेपाल भारतमैत्रीका लागि कुनै पनि ब्याटर जमेर खेल्न सकेनन् । अंमरसिंहका सत्कार चालिसे, कृतज्ञ अधिकारी, प्रसन्न भण्डारी र कल्यान कुमालले २÷२ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको अंमरसिंहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । अंमरसिंहका बिमोचन सापकोटाले सर्वाधिक ३० रन जोडेका थिए । बलिङमा नेपाल भारतमैत्रीका लागि अलोक गुप्ताले ३ विकेट लिए । सुमन पन्त प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।
पोखरा: साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो । सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त तथा क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा विजय पंडित, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दीलबहादुर क्षत्री, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्या. एल.पी. गुरुङ, जनकविकेशरी धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले सम्मान अर्पणसहित कृतिको लोकार्पण तथा गरे । सरुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा घरदेश तथा परदेशमा क्रियाशील स्रष्टा साधकको योगदान अतुलनीय रहेको बताए । उनले मुक्तकको सहर पोखरामा नेपाली भाषी असमी साहित्यकारको कृति लोकार्पण हुनु गौरवको कुरा रहेको बताउँदै गुरुङले लेखन यात्राको सफलताको शुभेच्छा व्यक्त गरे । क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. विजय पंडितले आफू बुद्ध, राम र भृकुटीको भूमिमा नेपाल–भारतको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन निरन्तर क्रियाशील रहेको बताए । उनले नेपाल–भारत साहित्य महोत्सव नै मुटुदेखि मुटुसम्म पोखरा लोकार्पणको सेतु बनेर आएको देख्दा पाउँदा आफूलाई निकै खुसी लागेको धारणा राखे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले स्रष्टा साधक सदा विष पिएर अमृत बगाउन तल्लीन रहेको बताए । अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले स्रष्टा साधक जहाँको जसरी भेट भए पनि त्यसको करदका लागि कञ्जुस्याई गर्न नहुने धारणा राखे । उनले स्रष्टा साधकका लागि कृति लोकार्पण तथा सम्मान समारोह सदा प्रेरणाका श्रोत बनेर बस्ने पनि बताए ।
पोखरा: पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताउनुुभयो । स्थानीय तहका विवादमा सिधै अदालत पुग्दा पैशा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भएकाले मेलमिलाप मार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा भुमिका खेल्ने बताउनुुभयो । उहाँले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराउनुुभयो । न्यायिक समितिका सदस्य कालिदास पोखरेलले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुुभयो । वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदासले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताउनुुभयो । उहाँले आफनै वडामा बसेर विवाद समाधान गर्दा समाजिक सद्भाव कायम हुने विश्वास ब्यक्त गर्नुभयो । वडा मेलमिलापकर्ता संयोजक बसन्त कतिलाले वडाभित्रका विवाद समाधान गर्न आफनो तर्फबाट भुमिका खेल्ने बताउनुुभयो । न्यायिक समितिले महागनरका ३३ मध्य चार वटामा मेलमिलाप केन्द्र स्थापना हुुन सकेको थिएन । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।