सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका ३÷३ जना मन्त्री नियुक्त गरे । माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् । त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् । मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।
इलाम: इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सुहाङ नेम्वाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । सुहाङ फराकिलो मतले विजयी भएपछि बधाई दिन उनी काठमाडौंबाट इलाम पुगेका हुन् । अहिले इलाम बजारमा सुहाङसहित विजय जुलुस चलिरहेको छ । दिउँसो १ बजे इलाम पुगेका ओलीले सुहाङलाई बधाई दिएका छन् । ओली इलाम २ मा एमाले उम्मेदवार सुहाङका दुईवटा चुनावी सभामा पनि सहभागी भएका थिए । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले हराउँदै सुहाङ विजयी भए । एमाले उपाध्यक्ष एवम् पिता सुवासचन्द्र नेम्वाङको निधन भएपछि छोरा सुहाङले उपनिर्वाचनमा एमालेको टिकट लिएर जितेका छन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत पाउन सके । तेस्रोमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । उता चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी मिलन योङहाङ लिम्बू ५ हजार ५० मतमा समेटिए । उनको जमानत जफत भएको छ ।
काठमाडौं: वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रु दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनी रु ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।
पर्वत : पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले पुष्टि गरे । ‘विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं’, उहाँले बताउनुभयो, ‘अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’ यो पनि पढ्नुहोस पर्वतमा एक दम्पती मृत फेला, हत्याको आशंका १९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए । जिल्ला र प्रदेशबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले आरोपी पक्राउ गर्न नसकेपछि संसद्मा समेत प्रश्न उठेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सीआईबीको टोली पठाएका थिए । पर्वतमै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी तयारी छ ।
मुस्ताङ: मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिबर्टी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ। बसमा सवार २१ जना सामान्य घाइते भएका छन्। उनीहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन्। यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि बिन्दा दाहाल, काठमाडौं ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्वर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते छन्। सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी, हरिवन ४ का २२ वर्षीय निरञ्जन साह र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले बताए।
रुकुम पश्चिम: ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो । सिम्रुत बजारमा आज बिहान विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकले गिरी सवार रा६प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चालक गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ट्रक चालक छत्रेश्वरी गाउँपालिका–७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको प्रतिक्रिया दिनुभयो । एमालेको अगुवाइ र उपस्थितिमा देश निर्माण गर्न सकिन्छ भन्ने सन्देश पाएको जिकिर पनि उहाँले गर्नुभयो । “अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो ।” आफ्नो दललाई पहिचान विरोधी हो भनेर समाजलाई साम्प्रदायिक विभाजन गर्ने दूषित मनसाय बोकेकाहरूले लगाएको आरोप र अस्वीकृत भएको उहाँको भनाइ छ । पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उहाँले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको बताउनुभयो । विधायकको मुख्य भूमिका कानुन निर्माण हो, त्यस्तो महत्वपूर्ण थलो संंसदमा कानुनी पृष्ठभूमिका प्रतिनिधिलाई नै जनताले रोजेकामा उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो । “प्राप्त मतभारबाट उत्साहित मात्र नभएर आफूप्रति गरिएको भरोसालाई डगमगाउन नदिई मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्पमा दृढ भएर अघि बढ्छौँ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले उपनिर्वाचनबाट देशले राजनीतिक परिपक्वता खोजेको सङ्केत गरेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार मुलुकलाई अघि बढाउन दुई/तीन आयाम छन् । “अब सबै मिलेर काम गर्नुपर्छ । देशको समृद्धिका लागि मिलेर जाऔँ भन्ने सन्देश पाइएको छ । राजनीतिमा अघि बढ्न त्याग, समर्पण, परिपक्वता आवश्यक हुन्छ भन्ने सन्देश आयो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले आफ्नो दलले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा ग्रहण गरेको बताउनुभयो । आफ्नो दल निर्वाचनमा पराजित भए पनि कांग्रेसप्रतिको जनताको भरोसा कायमै छ भन्ने जिकिर पनि उहाँले गर्नुभयो । “निर्वाचनले एमाले र नेपाली कांग्रेसमै जनताको भरोसा छ भन्ने देखाएको छ । यसबाट नयाँ राजनीतिक दलको पनि परीक्षण भएको छ”, उहाँले भन्नुभयो । आफ्ना मतदाता यथावत् रहेको र तिनले कांग्रेसलाई माया गरिरहेको जनाउँदै उहाँले अब पार्टी जनताका माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले सङ्गठन विस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताउनुभयो । “पछिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ ।” उपनिर्वाचनमा आएको मतमाथि विचारविमर्श र समीक्षा गर्ने ठाउँमा आफूहरूलाई पुर्याएको बताउँदै उहाँले नतिजालाई सबै आयामले सोच्नुपर्छ भन्नेमा दलको आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
काठमाडौंः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहनुभएका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिनुभएको हो । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताउनुभयो । महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गर्नुभयो । उहाँले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गर्नुभयो । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार हो भन्नुभयो । हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ । रास्वपाले इलाम क्षेत्र नं. २ का सम्पूर्ण मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दै निर्वाचित उम्मेदवार एमालेका सुहाङ नेम्बाङलाई शुभकामना समेत दिएको छ ।

