काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:     आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस: वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।

पोखरा:   पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट २ जना लागूऔषधसहित प्रकाउ परेका छन् ।  लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ७५ एम्पुल लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको हो ।  प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट बस्ने ३५ वर्षीय भिमबहादुर शाही र छोरेपाटनका ३८ वर्षीय राजेन्द्र विकलाई नुर्फिन २५ एम्पुल, डाईजापाम २५ एम्पुल र फेनरागन २५ सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:      जिल्ला ट्राफिक कार्यालय कास्कीले समयमा नै सवारी साधनहरुको सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको ११ वटा बसलाई नियन्त्रणमा लिएको छ ।  सवारी साधनहरुको समयमा नै सर्भिसिङ नगर्ने, सवारी साधनेको जाँचपास नगरेको कारण सवारी साधनबाट कालो धुवा फाल्ने सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषण गराउने जनगुनासोपछि ट्राफिक प्रहरीले अनुगमनपछि सर्भिसिङ समयमा नगर्ने र जाँचपास फेल भएका बस नियन्त्रणमा लिएको हो ।  ट्राफिक प्रहरीले पोखरा महानगर क्षेत्रभित्र चल्ने जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा  सार्वजनिक बसलाई नियन्त्रणमा लिएको हो ।  यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको सयुक्त रुपमा खटिएको टोलिले पोखरा महानगर–४ बिपीचोकमा घुम्ति प्रदुषण अनुगमन गर्दा ३५ मध्ये ३० वटा सवारी साधन मापदण्ड विपरित फेला भएको पाइएपछि कानूनी कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको छ ।   

पोखरा:     आगिलागीबाट पुर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट  ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ ।  संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ  राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलिले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो । सो अवसरमा बोल्दै नेपाल राष्ट्रिय  लोकदोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले व्यवसायीहरु एक अर्कालाई परेको दुःखमा साथ दिन तयार रहेको बताउदै विभिन्न ठाँउमा छरिएर रहेको व्यवसायीहरु बीच सहकार्य गरेर सहयोग गर्न पाउदा खुसी लागेको बताए । अर्कालाई परेको दुख पिडा लाई पनि आफ्नै ठानेर सहयोग गर्ने सम्पूर्ण संघ संस्था र ब्यवशायीहरुलाई समेत उनले धन्यवाद ब्यक्त गरे ।  नैना दोहोरी सांझका सञ्चालक सुनिता आचार्यले आफुहरुको पिडामा मलम लगाउने काम गरेकोमा सहयोगी प्रति धन्यवाद ब्यक्त गरिन ।  संघको पहलमा संकलित रकम  राष्ट्रिय लोकदोहोरी ब्यवशायी संघ बाट ५५ हजार ५ सय ५५, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५० हजार, नेपाल रात्रिकालीन मनोरन्जन ब्यवसायी संघ कोटेश्वर बाट ५१ हजार, रात्रिकालिन मनोरन्जन ब्यवसायी संघ चाबहिलबाट २० हजार, पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघबाट २५ हजार, गोधुली दोहोरी सांझ बुटवलका सञ्चालक राम न्यौपानेबाट ५ हजार,  मादी सेती दोहोरी सांझ दमौलीका सञ्चालक सुभद्रा श्रेष्ठबाट ५ हजार ५५ गरि जम्मा २ लाख ११ हजार ६ सय १० रुपैया प्रदान गरिएको पोखरा लोकदोहोरी ब्यवसायी संघको अध्यक्ष जीवन गुरुङले जानकारी दिए । गुरुङका अनुसार संघले अफ्ठेरोमा परेका ब्यवसायी तथा कलाकारहरुलाई कोरोनाको समयमा पनि सहयोग गरेको बताउदै आगामी दिनमा पनि ब्यवसायी र कलाकारहरुको संरक्षणमा संघ कटिवद्ध भएर लाग्ने बताए । सहयोग कार्यक्रममा पोखरा लोकदोहोरी रेष्टुरेन्ट  ब्यवसायी संघका सल्लाहकार चन्द्र गुरुङ, उपाध्यक्ष बिरेन्द्र के.सी., कोषाध्यक्ष विष्णु गुरुङ लगायतको उपस्थिती रहेको थियो ।   

पोखरा:     पोखरामा आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४७ वर्षीय सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।  आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलिले परियारलाई बैशाख १७ गते (सोमबार) पोखरा महानगरपालिका–६ डिहिगोपाटनबाट प्रकाउ गरेको हो ।  स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई पोखरा–२ बस्दै आएका परियारले छोरीसँग झगडा गरेको विषयलाई लिएर युवतीलाई धारिलो छुरा टाउकोमा प्रहार गरि घाइते बनाएका थिए ।    प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।      सच्चाइएको: पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीलाई धारिलो हतियार प्रहार गर्ने सोम प्रकाउ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । 

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३–१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ रनले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल इनिङको अन्तिम बलमा १८१ रनमा समेटियो ।  नेपालका लागि कप्तान रोहित पौडेलले लगातार तेस्रो अर्धशतक जडे । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । रोहितले अन्य ब्याटरको साथ नपाउँदा नेपालले हार टार्न सकेन ।  नेपालको सुरुवात आज पनि राम्रो रहन सकेन । ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै म्याथ्यु फोर्डद्वारा शुन्यमा नै बोल्ड आउट भए । यस्तौ अर्का ओपनर कुशल भुर्तेल भने पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर फेबियन एलेनद्वारा बोल्ड भए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै एलेनकै बलमा रोस्टन चेजद्वारा क्याच आउट भए । पाचौँ नम्बरमा आएका सन्दिप जोराले सुरुवात राम्रो गरेपनि ठुलो स्कोर बनाउन सकेनन् । उनी १४ बलमा १९ रन बनाएर १०औ ओभरमा हेडन वाल्शको शिकार बने ।    चौथो विकेटको पतन पछि रोहित र दीपेन्द्र मिलेर साझेदारी अगाडी बढाइरहेका थिए । तर १४औ ओभरमा रोहित वाल्शको बलमा लङ(अफमा क्याच आउट भएपछि ५३ रनको सो साझेदारी तोडियो । दीपेन्द्र पनि धेरै बेर क्रिजमा रहेनन् । १७औ ओभरमा १४ बलमा १९ रन बनाएर उनीफोर्डको बलमा चार्ल्सद्वारा क्याच आउट हुन पुगे । सोहि ओभरमा गुलशन झा पनि १९ रन नै बनाएर अथान्जेद्वारा समातिए । अर्को ओभरमा प्रतिश जिसी वाल्शको बलमा शुन्यमै पेभेलियन फर्किए ।  सोमपाल कामीलाई अन्तिम ओभरमा गुडकेश मोतीद्वारा १० रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा ललित राजबंशी पनि शुन्यमा स्टम्प आउट भए ।  वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु  फोर्ड र हेडन वाल्शले समान ३÷३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २(२ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए । दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड(विकेटमा क्याच आउट भए ।  १४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए ।  नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए ।  अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई÷दुई ओभरमा क्रमशः १५ र २५ रन दिए ।    नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । सिरिजको अन्तिम खेल आउँदो शनिवार हुनेछ ।   

सोलुखुम्बु :   हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।   जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो ।   यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताउनुभयो । उहाँका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।   उहाँले भन्नुभयो, “वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो ।” गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जङ्गलको डढेलो नियन्त्रण बाहिर रहेको छ ।   घटनाको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताउनुभयो । “आगोले सबै नष्ट गरायो, भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन, पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ, बस्ती नै खरानी भयो, जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, धुवाँ र धुलोले अझै आँखा हेर्न सक्ने अवस्था छैन”, समन्वय प्रमुख निरौलाले भन्नुभयो ।   एकाबिहानै दुई घर र एक खोर जले, ६५ लाखको क्षति जिल्लाको नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । बिहान ४ः३० बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।   प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार आगलागीबाट रु ६५ लाख बराबरको क्षति भएको छ । ज्ञानबहादुरको दुईवटा घरमा भएको रु ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताउनुभयो । आगोले नजिकै रहेको बाख्राको खोरसमेत जल्दा एउटा बोका र एउटा बाख्रा जलेर मरेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।  

काठमाडौंः   सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिसम्बन्धी विभिन्न विधाका पुरस्कार प्रदान गर्नुभयो ।   कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि उत्कृष्ट पुरस्कार–२०८०’ डा शैलेन्द्र गिरी (प्यूठान) लाई प्रदान गर्नुभयो । यस्तै महिलातर्फको उत्कृष्ट पुरस्कार लेना केशरी कंशाकार (काठमाडौं) लाई प्रदान गरियो ।   यस्तै ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि आविष्कार पुरस्कार–२०८०’ वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि स्टार्टअप पुरस्कार–२०८०’ मोनालटेक प्रालि (चाबहिल) लाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।   प्रधानमन्त्री दाहालले सार्वजनिक क्षेत्रतर्फको ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार–२०८०’ सामाजिक सुरक्षा कोष (काठमाडौं), निजी क्षेत्रर्फ डाटाहव प्रालि (थापाथली) र प्रदेशतर्फ डाइनामिक टेक्नोसफ्ट प्रालि (वीरगञ्ज) लाई प्रदान गर्नुभयो । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा सूचना प्रविधि क्षेत्रतर्फ सबैभन्दा बढी राजस्व बुझाउने नेपाल दूरसञ्चार कम्पनी र सोही आर्थिक वर्षमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर बढी विदेशी मुद्रा भित्र्याउने स्प्राउट टेक्नोलोजी सर्भिस (ललितपुर) लाई पनि सम्मान गरिएको थियो ।   सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित प्रदर्शनी देखाउने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सूचना प्रविधिबारे अध्ययन गरिरहेका विद्यार्थीले यससँग सम्बन्धित विभिन्न प्रदर्शनी देखाएका थिए ।  

काठमाडौं :   अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताउनुभएको छ ।   मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।   छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सुझाए । पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धनको नीति अख्तियार गर्न सुझाव दिनुभएको थियो । यस्तै प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्नुपर्ने उहाँहरूको कथन थियो ।   त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन, चालु ठूला आयोजनाका काम सम्पन्न गर्न, वैदेशिक सहायता वृद्धि गर्न,  तथा कर्मचारी संयन्त्रको मनोबल उकास्न सुझाव दिनुभयो ।   छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा पुष्पराज कँडेल, डा दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वअर्थसचिवहरू कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, शङ्कर अधिकारी, राजन खनाल, रामशरण पुडासैनीलगायत सहभागी हुनुहुन्थ्यो ।   पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको रहेको बताउनुभयो ।   “आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिङ्गो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो”, मन्त्री पुनले भन्नुभयो ।  उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताउनुभयो ।   उहाँले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । अर्थतन्त्रमा सङ्कट हुँदा गरिएका कडाइहरूमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिनुभयो ।   निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उहाँको भनाइ थियो । “निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ”, उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।”   मन्त्री पुनले काम गर्नेले सबैतिर जवाफ दिनुपर्ने र कामै गर्नेहरु लोकप्रिय हुने अवस्था आउनु चिन्ताजनक भएको बताउनुभयो । काम गर्दा असल नियत राखेको होला वा विवेक प्रयोग गरेको होला भन्नेबाट भन्दा फट्याइँ गरेको होला भन्ने कोणबाट सोच्ने प्रवृत्ति समाजमा संस्थागत हुन खोजेको उहाँले स्पष्ट पार्नुभयो ।    “कसैले न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैन । राजनीतिक वा प्रशासनिक नेतृत्वमा बस्नेहरु जसले काम गर्दैन त्यो ठीक र लोकप्रिय, जसले काम गर्यो त्यसले जवाफ दिनुपर्ने जस्तो सोच समाजमा हाबी हुन थालेको छ”, उहाँले भन्नुभयो, “काम गर्दा मानिसले विवेक प्रयोग गर्छ, असल नियतले गर्छ भन्ने पनि सोच्नुपर्छ । सबैतिर अविश्वासको वातावरण छ । सबै लोक रिझ्याइँको पछि लागेर हुँदैन । मुलुक बनाउने हो भने यो अवस्था हटाउनुपर्छ ।”   राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताउनुभयो । “सबैले एकपटक आँट गर्नुपर्ने भएको छ । राजनीतिक कोर्षभित्रै रहेर काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने भएको छ । सबैले सबैलाई शङ्का गर्ने र कसैले केही पनि गर्नुनपर्ने जस्तो भइरहेको छ”, उहाँले भन्नुभयो ।   फरक प्रसङ्गमा मन्त्री पुनले विकासका संरचना बनाउँदा आर्थिक क्षेत्र, कृषि र बजारको व्यवस्थासमेत गर्नुपर्ने महसुस गरिएको बताउनुभयो । “हामीले मध्यपहाडी राजमार्ग बनायौँ तर बजार र आर्थिक कार्यक्रम बनाएनौँ । उत्पादनको क्षेत्र बनाएनौँ । पूर्वपश्चिम हुलाकी राजमार्ग छ, तर सबैभन्दा गरिबी त्यसकै आसपासमा छ”, उहाँले भन्नुभयो, “विकासका संरचना निर्माण गर्दा आर्थिक कार्यक्रम नबनाउँदा त्यस्तो भयो ।”   मन्त्री पुनले उच्चस्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेटमार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गर्नुभयो । सरकारले लगानी सम्मेलनमा अध्यादेशमार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत रहेको बताउनुभयो । “लगानी गर्ने, रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो”,  उहाँले भन्नुभयो, “सरकारले त सहजीकरण गर्ने, नीतिगत सुधार गर्ने र प्लेटफर्म दिने हो ।”