गण्डकी: पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरु पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङका लागि गएको देखिन्छ । सो वर्ष कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल आएकोमा एक लाख ५४ हजार दुई सय ६२ जना पदयात्रा र माउन्टेनियरिङका लागि आएका थिए । नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ । अहिले दोस्रो मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्य स्थलमा पर्यटकको आउजाउ बाक्लिएको छ । पद यात्रामा रमाउनेको सङ्ख्या पनि उल्लेख्य छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटक माझ पनि उत्तिकै लोकप्रिय छ । नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पद यात्रा गर्नु उपयुक्त मानिन्छ । तपाई पनि पद यात्राका लागि कुनै गन्तव्य रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ । खर्चको जोहो तपाई कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवा सुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदमार्गमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पैसा पनि बोकेर जाँदा सजिलो हुन्छ । गन्तव्य स्थलको पूर्वअध्ययन आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिकरुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ । बन्दोबस्ती ऋतु याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पद यात्राका लागि नभइ हुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महङ्गो पनि पर्छ । गोल्डस्टारलगायत नेपाली ब्राण्डका ट्रेकिङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाको सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यहीअनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ । औषधि र हलुका खाने कुरा पदयात्रामा निस्कदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकारण एकै दिन धेरै हिँड्नु हुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकही आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ । एक्लै नहिँड्नुहोस् नयाँ र टाढाको गन्तव्य स्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथ प्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पद यात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्दार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् ।
काठमाडौंः नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ । महासचिव भुसालले भन्नुभयो, “१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।” पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समयसीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले यही वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उहाँले जानकारी दिनुभयो । सोही प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने छ । सबै कमिटीले सम्बन्धित नेताहरूको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन् । समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले महाधिवेशन सरेको भन्दै महासचिव भुसालले पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।
धनुषाः धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । मोटरसाइकल चालक विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ । मृतक वृद्धको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दोलखा: दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । यो पनि पढ्नुहोस सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते सोहि बसमा सवार दुलाहाको अवस्था सामान्य रहेको र घाइते २५ जनालाइ खाडिचौरस्थित सदाबहार अस्पताल लगिएको छ । बाँकीको अवस्था सामान्य रहेको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिनुभयो । पिस्करको मुलाबारीस्थित गोकुल थामीको छोरीको बिबाहमा जन्ति लिइ आएको बस बेहुलीको घर देखि आधा घन्टाको दुरी नजिक आइपुग्दा दुर्घटना भएको हो । बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।
सिन्धुपाल्चोकः चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्नेछ ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो। सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभयो।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा ११:४५ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो । यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
बुटवल: लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

