ताप्लेजुङः ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा चार वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसै गरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुतगतिमा अघि बढाएको छ ।
काठमाडौंः सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइँदै छ । कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
काठमाडौं: फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक कथामा आधारित फिल्मको ४ मिनेट लामो ट्रेलरमा दुई अलग समुदायका पात्रको कथा देख्न सकिन्छ । जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ । कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । यस्तै, विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह(निर्माता हुनुहुन्छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्ने फिल्म आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडौं: नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । बुधबार बसेको सचिवालय बैठकले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले भने, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरुले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहर्याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौं ।’ यसैबीच एकीकृत समाजवादीका सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । महाधिवेशन प्रतिनिधि छनौटका लागि नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदनका साथै महाधिवेशन केन्द्रित अभियानमा सञ्चालित राजनीतिक कार्यक्रम केन्द्रमा बुझाएको हो । त्यसको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने बताइएको छ ।
दाङ: सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । यो पनि पढ्नुहोस सल्यान बस दुर्घटना अपडेट: १४ जना घाइते दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।
गोरखा: गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो”, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भन्नुभयो, “सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका बाहिर नपठाएपछि अरुलाई पनि सामुदायिक विद्यालयमा पढाउन हौसला पुग्छ ।” बारपाक सुलिकोट गाउँपालिकाले पनि गाउँसभाको निर्णयबमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेको बारपाक सुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोदराज भट्टले जानकारी दिनुभयो । बारपाक सुलिकोटले चालु शैक्षिकसत्र २०८१ देखि यस्तो नीति लागू गरेको हो । गाउँपालिकाको यो निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले व्यक्त गर्नुभयो । भीमसेन थापा गाउँपालिकाले सवै वडामा सार्वजनिक पदमा रहेका व्यक्तिका बालबालिका कुन(कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विवरणसमेत पठाउन सबैलाई निर्देशन दिएको उहाँको भनाइ छ । भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियानसमेत सम्पन्न गरिसकेको छ ।
मकवानपुर: मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका–३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक थापामगर रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गर्दा फेला पारेर जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीटोलीलाई बुझाइएको थियो । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: न्यूरोडमा कस्मिक कम्प्युटिङ एकेडेमी सञ्चालनमा आएको छ । १० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित समाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड कस्मिक कम्प्युटिङ सोलुसनले आफ्नो क्षेत्र बिस्तार गर्दै अब कम्प्युटर सम्बन्धि सबै तालिम प्रदान गर्ने उद्देश्यसहित एकेडेमीसञ्चालनमा ल्याएको हो । सञ्चालक पुरुषोत्तम कुँवरका अनुसार एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ । कोर्स अनुसारको समयावधि तय गरिएको छ । हरेक दिन कम्तिमा एक घण्टा थ्योरिकल र १ घण्टा प्राक्टिकल हुनेछ । सञ्चालक कुँवरले युवाहरुलाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सकिने आधार तयार गरिने प्रयासस्वरुप ट्रेडिङबाट ट्रेनिङतर्फ क्षेत्र विस्तार गरेको बताए । युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि तान्न सकिने र विदेश जानबाट युवालाई पनि रोक्न सकिने कुँवरको विश्वास छ । ‘एसईई तथा कक्षा १२ सकिएपछि फुर्सद हुने ३ महिनासम्मको समयमा कम्प्युटरका कोर्सहरु गर्न सकिनेछ । अन्यत्र जस्तो सामान्य कोर्स भन्दा पनि स्वरोजगार बनाउन सक्ने गरी प्राक्टिकल कोर्सहरु हामी प्रदान गर्नेछौँ,’ सञ्चालक कुँवरले भने । अहिलेका किशोरकिशोरीहरु प्रविधिमा धेरै अगाडि पुगिसकेकाले उनीहरुलाई सुहाउँदो कोर्स एकेडेमीमा सञ्चालन हुने कुँवरले बताए । ‘प्रोग्रामिङ, कोडिङ मार्फत् वेबसाइटहरु, नयाँ नयाँ एपसमेत निर्माण गर्न सक्नेछन् । आईटी पढेका जस्तै दक्ष जनशक्ति तयार हुनेछन् । घरमै बसेर ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ गरेर पैसा कमाउन सक्नेछन् । सोसल प्लेटफर्ममार्फत् डलर कमाउन सक्नेछन्,’ कुँवरले भने । एमएसआई, डेल, एसर लगायत विश्वप्रसिद्ध ब्राण्डको पोखराका लागि आधिकारिक विक्रेता कस्मिकले प्रोफेशनल, हाइरेञ्ज तथा भ्यालूएडेड सिरिजका कम्प्युटर तथा ल्यापटप पोखरामा उपलब्ध गराइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १ प ८५५२ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन् । स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको बैदाम प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा हाइसमा भएका १३ जना मध्य ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जनाएको छ । स्कार्पियो र हाइस एकआपसमा ठोक्किद राष्ट्र बैंक स्थित पार्किङमा रहेको बा २१ प ११५२ नं को स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्कार्पियो र हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

