काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

दाङ:     दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् । हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् । हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५–२० हजार रुपैयाँ सजिलै कमाउन सकिने बताइन् । हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताइन् । उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छिन् । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छिन् । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने गरेको बताइन् । घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको बताइन् ।  उनका अनुसार काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएको बताइन् ।

काठमाडौं:    एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ । समूह चरणको अन्तिम खेल आज नेपाल र साउदी अरबबीच हुन लागेको हो । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल अहिलेसम्म अपराजित बन्दै सेमीफाइनलमा पुगिसकेको छ । यो खेलमा हार वा जितले नेपालको अघिल्लो यात्रामा कुनै फरक पर्ने छैन ।।

पोखरा:    नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।  बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ। ६८ वर्षीय पङ्गेनी निमोनिया लगायतका समस्याबाट पीडित थिए ।  सोमबार साँझबाट मणिपाल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उनको उपचार भएको थियो। कास्कीको रुपा गाउँपालिकाको देउराली घर भए पनि उनी लामो समयदेखि पोखराको बाटुलेचौरमा बस्दै आएका थिए ।  पङ्गेनीका जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरू लगायतका कृति प्रकाशित छन्। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् ।  

बैतडी:     भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ ।  भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताउनुभयो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।  नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा  सीमा बन्द गर्ने चलन छ ।

बर्दियाः  सशस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ स्थायी वतन भएका वर्ष ३४ का बमबहादुर पुन छन् ।   मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद हर्कत गरिरहेका पुनलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथमा रहेको दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले बरामद गरेको हो ।   पुन उक्त समानसहित नेपालबाट भारततर्फ जान लाग्दा पक्राउ परेका हुन् । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

खोटाङः  प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो ।    यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो । “रामनवमीको अघिल्लो रात अर्थात आज बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेवलाई पहिर्याउने गरिन्छ”, उहाँले भन्नुभयो, “महादेवलाई गहना पहिर्याउने समयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसै पर्वको अवसरमा यस वर्ष मेला आयोजना गरिएकाले मन्दिरमा धेरै भक्तजनको घुइँचो लागेको छ ।”    मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याएर आउना गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार रामनवमीका दिन सबैभन्दा बढी दर्शनार्थी यहाँ आउने भएकाले उनीहरुलाई सहजरुपमा पूजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ । राजधानी काठमाडौंलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएपछि यहाँ आउने अधिकांश दर्शनार्थीले आफैँले सवारीसाधन लिएर आउने गरेका उहाँले जानकारी दिनुभयो ।   पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन, मेलालाई व्यवस्थित र शान्तिपूर्णरुपमा सञ्चालन गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताउनुभयो । उहाँका अनुसार धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपासमा महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्वारलगायत द्वारहरु अवस्थित छन् ।    प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसरमा लाग्ने मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।    पछिल्लो समय त्रिधार्मिकस्थलको मेलामा दर्शनार्थीको बाल्लो उपस्थिति हुन थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । दैनिक सैयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत वडा नम्बर १, प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको दश लाख लागतमा विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हलेसी तुवाचुङ(७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।    मन्दिर परिसरमा सौर्यबत्ती नहुँदा साँझ र बिहान दर्शन गर्न आउनेलाई असहज भइरहेको गुनासो आएपछि सौर्यबत्ती जडान गरिएको उहाँको भनाइ छ । “महेन्द्रद्वय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठ वटा ब्याट्रीमार्फत एक केभिए विद्युत उत्पादन गरिएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक पोलपोलमा विद्युत पुर्याएर सेन्सर (अध्याँरोमा आफैँ बल्ने उज्यालोमा आफैँ बन्द हुने) सौर्यबत्ती जडान गरिएको हो ।” रामनवमीको अवसरमा भोलि जिल्लाका बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने गरेको छ ।    त्रिधार्मिकस्थल हलेसीमा बाहेक अन्य ठाउँमा भोलि एक दिन मात्र मेला लाग्ने गरेको स्थानीयले बताएका छन् । पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलमा घुम्न तथा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङलगायत स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो । 

सुर्खेतः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । चालु आवमा  १० करोड बजेट विनियनेजन भएसँगै विभिन्न उत्पादनलाई भौगोलिक विभाजनका आधारमा विशेष उत्पादन क्षेत्र तोकेर प्रदेशका दश वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो ।    प्राविधिक दृष्टिकोणले उपयुक्त सम्भावना देखिएका बाली तथा पशुपन्छीको उत्पादनका क्षेत्रहरुलाई विशेष क्षेत्रका रुपमा निर्धारण गरी व्यावसायिक कृषिको विकास गर्ने लक्ष्य तय गरिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले बताउनुभयो । कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० निर्माण गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । कृषि क्षेत्रको विकासका लागि सम्बन्धित क्षेत्रको सम्भावित बाली उत्पादन वृद्धि गर्ने लक्ष्यअनुसार पहिलो वर्ष पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो ।   कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण गराउने योजनासहित दश वटा जिल्लामा कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ । उत्पादन विशेष क्षेत्र निधारण गरेको, कलष्टरभित्र पर्ने कृषक, फार्म÷कम्पनी, समूह सहकारी, कृषिसम्बन्धी समितिलाई मात्र कार्यक्रममा छनोट गरिनेछ । कार्यक्रमले स्थलगत क्षमता विकास तालिम, बजारीकरणमा सहयोग, प्राङ्गारिक मल, जैविक मल, जैविक विषादीलगायत विषयमा जानकारी दिनुका साथै आवश्यक सहयोग उपलब्ध गराउनेछ । कार्यक्रमको कार्यान्वयन सम्बन्धित जिल्लाका जिल्ला कृषि विकास कार्यालयमार्फत गरिने अधिकारीले जानकारी दिनुभयो ।     रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्ने, उत्पादन बढाउने, बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य मन्त्रालयले लिएको छ । प्राङ्गारिक तथा जैविक मलको उत्पादन र उपयोगलाई प्रोत्साहित गरिनेछ । “बाली लगाउनुपूर्व नै प्रमुख कृषि वस्तुहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने, नीति तथा कार्यक्रममा राखिएको छ,” सूचना अधिकारी अधिकारीले भन्नुभयो । यस्तै, कृषि बाली, पशुपन्छी, मत्स्य तथा कृषि वनजन्य व्यवसायलाई समेट्ने कार्यक्रमको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमले उपयोगमा नआएका तथा बाँझो जमिनमा कृषिखेती प्रवर्द्धन गर्ने र कृषि उत्पादन वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरिने पनि जनाइएको छ ।    जिल्ला कृषि विकास कार्यालय सल्यानले बाली विशेष कार्यक्रमका लागि तीनवटा बाली छनोट गरेको छ । कार्यालयका निमित्त प्रमुख रेशमकुमार बस्नेतका अनुसार सुन्तला जात फलफूल विशेष उत्पादन कार्यक्रम, तरकारी उत्पादन विशेष क्षेत्र कार्यक्रम, अदुवा, बेसार क्षेत्र विशेष कार्यक्रम रहेका छन् । तीन वटा बाली विशेष कार्यक्रमका लागि यो वर्ष ८६ लाख बजेट विनियोजन गरिएको छ । सम्भावित उत्पादन क्षेत्रलाई प्राविधिक अध्ययनका आधारमा पालिका छनोट गरिएको उहाँले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय दैलेखले विशेष प्राथमिकतामा बाली र पशुपन्छी उत्पादन क्षेत्र कार्यक्रमलाई राखेको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि ७५ लाख बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ । आलु विशेष क्षेत्र कार्यक्रमका लागि यो वर्ष चारवटा पालिका छनोट गरिएको कार्यालय प्रमुख दशरथ पाण्डेले बताउनुभयो ।   उहाँका अनुसार उत्पादन क्षेत्र विशेष कार्यक्रम प्रभावकारी हुने देखिएको छ । आलु उत्पादन क्षेत्र विशेष कार्यक्रमका लागि दैलेखको भैरवी र गुराँस गाउँपालिका, चामुन्डाविन्द्राशैनी र नारायण नगरपालिका छनोट भएका पाण्डेले जानकारी दिनुभयो । आलु विशेष कार्यक्रम प्रभावकारी रहेको कार्यालयको दाबी छ । यो ‘सिजन’मा चार पालिकामा गरी ४७ मेट्रिक टन आलु उत्पादन भएको उहाँले जानकारी दिनुभयो । यहाँ हिउँदे र बर्खे गरी दुई सिजनमा आलु उत्पादन गर्ने गरिएको छ ।   जिल्ला कृषि विकास कार्यालय कालीकोटले यो वर्षदेखि बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम सुरु गरी प्राविधिक अध्ययनका आधारमा पालिका छनोट गरिएको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय रुकुमपश्चिमले यो वर्षदेखि कार्यक्रम सुरु गरिएको जनाएको छ । कार्यालयले बजेट विनियोजन गरेर कार्यक्रम कार्यान्वयन भइरहेको जनाएको छ । यो वर्षदेखि बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्रका रुपमा नयाँ कार्यक्रमको सुरुआत गरिएको कार्यालय प्रमुख मीनबहादुर केसीले बताउनुभयो ।   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लाजिल्लालाई आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको जनाएको छ । गुणस्तरीय बीउबिजनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको मन्त्रालयको दाबी छ । ‘रैथाने बाली, बीउबिजन, नस्ल र कृषि तथा पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय तह र समुदायलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका सूचना अधिकारी अधिकारीले बताउनुभयो ।

काठमाडौं:     नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित फ्रेण्डसिप ब्युटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गङ्गाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओमकुमारी पुन छन् । नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चाबहिलस्थित फ्रेण्डसिप ब्युटी एण्ड स्पामा नाबालिकालाई ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पुजालाई चाबहिल तथा ओमकुमारीलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्धार गरी हाल सुरक्षित आवासमा राखिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाइदिने भनी ओमकुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकद्वारा ललाईफकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात् निज नाबालिकालाई काठमाडौं चाबहिलस्थित फ्रेण्डसिप ब्युटी एण्ड स्पामा लगी काममा लगाएको र उक्त स्पाकी सञ्चालक पुजाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ओमकुमारीले निज नाबालिकालाई रातिको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरेर पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धादिङः  धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।    यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।    धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएका छ जना घाइतेको भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार जारी छ । दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरुको मृत्युले गाउँ नै शोकमा परेको छ ।   साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।