पोखरा: कास्कीका माछापुच्छ«े गाउँपालिका घर भएका जगत पुन सेती नदीमा मृत फेला परेका छन् । बैशाख १ गतेदेखि हराइरहेका जगत पुन आज (सोमबार) सेती नदीमा मृत फेला परेका हुन् । कास्कीका माछापुच्छ«े गाउँपालिका–१ करुवा बस्ने अन्दाजी २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि कसैको सम्पर्कमा नआएपछि आफन्तले खोजतलाज गर्ने क्रममा आज सेती नदी किनारामा उनको कपडा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खोजतलाज गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी बल तथा गोताखोर टोलीले जगत पुनलाई मृत फेला पारेको थियो । शवलाई स्थलगत मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो । सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो । यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३(३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे । हङकङका यासिम मुर्तजा र एहसान खानले १÷१ विकेट लिए । त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो । ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे । त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१(२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो । हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए । नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे । आज समूह बी अन्तर्गत खेलमा ओमान र यूएई तथा कुवेत र बहराइन भिड्दैछन् ।
काठमाडौं: नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक ‘थ्रू’ भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ आरपार भएको घोषणा गर्नु भएको हो । दुवै तर्फ छेडिएको सुरुङ मार्गको औपचारिक ब्रेक थ्रुका लागि आज कार्यक्रम आयोजना गरिएको थियो ।औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने कार्यक्रम रहेको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान ,अक्सिजन पाइप जडान लगायतका काम बाँकी नै रहेको आयोजनाले जनाएको छ ।
तनहुँः राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज तनहुँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा वि. सं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला आइपुग्नुभएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभाका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो । तनहुँसुरमा रहेको दरबारको वि. सं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ । खड्गकालिकाको शेषका रुपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिंढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवती पानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
पोखरा: पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४ औं शाखा सञ्चालनमा ल्याएको हो । प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरिन् । प्रभु बैंक लिमिटेडको नयाँ गाउँमा शाखा विस्तार गर्दै देशभर ३ सय २ औ शाखा सञ्चालन गर्न सफल भएको छ । नयाँ गाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचन गौचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैैंकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँ गाउँमा शाखा विस्तार गरेको बताईन् । ‘सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित पोखराको नयाँ गाउँमा शाखा विस्तार गरेका छौं’, शेरचनले भनिन्, ‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ, आशा छ तपाईहरुले हामीलाई अझै विश्वास गर्नुहुनेछ ।’ पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरुलाई बैंकिङ कारोवारमा सहज हुने बताए । प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र बिकासको सहयात्री, अग्रणी बाणिज्य बैंकको यो शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहितको वित्तिय उत्पादन तथा सेवाहरु उपलब्ध गराएर आर्थिक समृद्धिको लागि योगदान दिनेमा बिश्वास लिएको बताए । प्रभु बैंक लिमिटेडले पोखराको बगर, हरिचोक, रत्नचोक, अघौंचोक, बाजापाटन, तालचोक, विरौटा, न्यूरोड र नयाँ गाउँमा शाखा सञ्चालन ल्याएको छ । यस्तै बैंकले कास्कीको माछापुच्छ«े गाउँपालिकामा समेत शाखा विस्तार छ ।
काठमाडौं: एसीसी प्रिमियर कप २०२४ मा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।
काठमाडौंः यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्नेगरी स्थान तय भइसकेको छ । सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाटसमेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन् । निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरुकै जनशक्ति खटाइनेछ”, प्रवक्ता उपाध्यायले भन्नुभयो, “कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ ।” लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहनेगरी तयारी भइरहेको उहाँको भनाइ छ । सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिनुभयो । आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने निक्र्योल भइसकेको बोर्डले जनाएको छ । लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ । त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ । सम्मेलनमार्फत् विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदैछ ।
सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले सोमबार बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो । जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गर्नुभयो । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । प्रनाउ घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो । “सगरमाथा क्षेत्रको चार हजार ४१० मिटरको उचाइमा अवस्थित दिङबुचे भन्दा माथि प्रहरी चौकी छैनन् । यसले गर्दा पर्यटकलाई असुरक्षित महसुस हुनसक्ने भएकाले गस्तीमार्फत शान्ति, सुरक्षाका बारेमा चेतनामूलक अन्तरक्रिया गरेका हौँ”, उहाँले भन्नुभयो । हिमाल आरोहणको सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको घुइँचो बढ्न थालेको प्रनाउ घिमिरेले बताउनुभयो । सुरक्षाको प्रत्याभुति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तरक्रियामा गरिएको उहाँको भनाइ छ ।
अछाम: गोठको छानामा आगलागीमा परेर अछामको मेल्लेखमा २ बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको हो । घरबाट करिब ५० मिटर नजिक रहेको गोठमा स्याउला र पराल राखेको स्थानमा बालबालिकाले लाइटर लिएर गएपछि गोठमा आगलागी भएर मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिनुभयो । ‘‘भावना र गोपालले लाइटर लिएर गएका रहेछन्, त्यसैबाट आगो लाग्यो र उनीहरु त्यसैमा परेका रहेछन् तर बचाउन सकिएन ।’’ घटनास्थलमा रहनुभएका वडा अध्यक्ष कडायतले भन्नुभयो । घर नजिकैको गोठमा आगलागी भएपछि थाहा भए पनि दुई वटै बालबालिकालाई बचाउन नसकिएको बताइएको छ । घटनाका बारेमा थप जानकारीका लागि प्रहरी टोली पुगेको वडाध्यक्ष कडायतको भनाइ छ ।

