काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताउनुभएको हो । “मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै दबाब वा हस्तक्षेप हुँदैन । यहाँहरुले पनि विभिन्न पार्टीका शीर्ष नेताहरूलाई हस्तक्षेप नगर्न भनिदिनुहोला”, उहाँले भन्नुभयो । शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्तिमा पनि प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने र उक्त छनोट प्रक्रियामा आफू संलग्न नहुने स्पष्ट गर्नुभयो । उहाँले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको अवगत गराउँदै शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउनेलगायत शिक्षक पदपूर्तिको मापदण्डसम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिकालाई ‘स्वच्छ शहरः हरित सहर’ को रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा।शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षारोपण स्थलहरू पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न उपयुक्त वनस्पति प्रजातिहरू पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षारोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उप प्राध्यापक डा.भण्डारी सहित उप प्राध्यापक सुमन भट्टराई र उप प्राध्यापक विकास अधिकारी सम्मिलित अध्ययन टोली गठन गरिएको थियो । रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षारोपण गरिने बिरुवाका प्रजातिहरू छनौट गरिएको कार्यदलले बताएको छ । अध्ययन अनुसार महानगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि।मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाउन सकिनेछ । महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत छन् । महानगर क्षेत्रको सम्भावित क्षेत्रमा २ लाख १८ हजार बढी बिरुवाहरू रोप्न सकिने बताएको छ । जस अन्तरगत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ३९९ र सडक, नदी तथा खोला किनारमा १ लाख ४४ हजार ६०४ वटा बिरुवाहरू रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा।भण्डारीले बताउनुभयो । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको कमजोर अवस्था लगायत चुनौतीहरू रहेको कार्यदलले औँल्याएको छ । कार्यदलले अध्ययनका क्रममा वृक्षारोपण व्यवस्थापन तथा संरक्षण रणनीति अन्तरगत बिरुवा रोप्ने खाडलको आकार, बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ । महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित सम्भावनाहरूको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको बताउनुभयो । विज्ञहरूको कार्यदलले गरेको अध्ययनले पोखरालाई ‘स्वच्छ शहर: हरित सहरको रूपमा विकास गर्न माइल स्टोनको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगर क्षेत्रमा २ लाख बढी बिरुवाहरू रोप्ने कार्य महत्त्वाकाङ्क्षी भए पनि आफूहरूले योजनाका साथ काम गर्ने उहाँले बताउनुभयो । सरोकारवालाहरूले भने बिरुवाहरूको छनौट गर्दा आवश्यकता, प्राथमिकता र वातावरणसँग बिरुवाको मिलनका महत्त्वपूर्ण विषयवस्तुहरूलाई गहन रूपमा विश्लेषण गरिनु पर्ने सुझाव दिएका छन् । अध्ययनको कार्य अन्तिम चरणमा पुगेको र प्रतिवेदन छिट्टै महानगरपालिकालाई हस्तान्तरण गरिने संयोजक प्रा।डा भण्डारीले बताउनुभयो ।
ढोरपाटन: आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दैआएका छन् भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजा आराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउनेगरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएको उहाँले बताउनुभयो । मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीनसय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको छ । चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, द्वितीयलाई एक लाख र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको सो प्रतियोगितामा द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेले एक लाख पाउनेछन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले आज (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो
काठमाडौं: पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।
पोखरा: यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने गरेको भएतापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको बताउदै यूनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भएतापनि पोखरा र आसपासमा कार्यक्षेत्र बनाइ प्रतिफल योग्य काम गरेको बताए । यूनाइटेड क्लबले आफ्नो बहुप्रतिक्षित योजना अन्तर्गत पोखरा २७ अर्चलेमा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागेको आवाशिय छात्राबास निर्माणको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने र आगामी वर्ष उक्त निर्माणस्थलमा पक्की बाटो निर्माण गरिदिने प्रतिवद्धता समेत ब्यक्त गरे । अध्यक्ष गुरुङले अर्चलेमा जन्मेर विभिन्न ठाँउमा बसोबास गर्नेहरुले कवि शिरोमणी आधारभुत विद्यालयको स्तरोन्नतीको लागि सहयोग गर्न समेत आग्रह गरे । यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा स्थापना भएको यूनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको साविक लेखनाथ क्षेत्रलाईनै मुख्य आधार बनाइ काम गर्दै आइरहदा हाल सम्म क्लबले ८० प्रतिशत रकम लेखनाथ क्षेत्रमा खर्च गरिसकेको वताउदै लेखनाथमा चिडियाखाना बाट शुरु गरि विभिन्न विद्यालय हुँदै आफ्नै जग्गा खरिद गरि आवाशिय छात्राबास निर्माणको चरणमा पुगेको बताए । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पौडेलले यूनाइटेड क्लबले विद्यालयको नयाँ सेसन शुरु हुने वेलामा विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई आवश्यक रहेको शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक गुरु प्रसाद सापकोटाले गरिबका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरि यूनाइटेड क्लबले ठुलो सहयोग गरेको बताउदै सामुदायिक विद्यालयलाई सहयोग दाता नपाएको खण्डमा विद्यार्थी लाई पढाउन गार्हाे हुने बताए । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका प्रथम उपाध्यक्ष तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक गणेश तिमिल्सिनाले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र यो पटक लेखनाथको अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए । सो अवसरमा पोखरा महानगरपालिका २७ बस्ने महेन्द्र पौडेल र उनका आमा देवी माया पौडेलको नाममा स्वर्गीय वुवा माधव प्रसाद पौडेको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष र यूनाइटेड क्लबका सल्लाहकार रमेश बहादुर कार्की एवं बुहारी सुमित्रा कार्कीले स्वर्गीय बुवा पूर्व प्रधानपन्च रुद्र बहादुर कार्कीको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । अक्षयकोषको रकम हस्तान्तरण गर्दै पोखरा २७ का महेन्द्र पौडेलले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको शैक्षिक स्तरोन्नतीको लागि केही गर्नुपर्छ भनेर आफ्नो वुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको बताए । त्यस्तै अर्का अक्षयकोष दाता रमेश बहादुर कार्कीले अर्चलेमा आफु विभिन्न कामको शिलशिलामा आउदा विद्यालयको वारेमा जान्ने बुझ्ने मौका पाएको र पुरानो विद्यालय भएतापनि अर्चलेका मानिसहरु शहर बसाइ सर्ने र गांउको विद्यालयको लागि कोही कसैले सहयोग गरेको नपाएपछि उनीहरुलाई झक्झक्याउनका लागि अक्षयकोष स्थापना गरेको बताए । आफ्नो ठांउको हरेक क्षेत्रको बिकासको लागि आफुहरुनै लाग्नुपर्ने अर्काको आश भरोसा गर्न नहुने बताउदै अर्चले बासीले पुरानो ऐतिहाँसिक विद्यालयको संरक्षणमा लाग्न समेत उनले आग्रह गरे । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले सरकारले विदेशमा जसरी सामुदायिक विद्यालयमा चासो दिएको खण्डमा कोही कसैको आस भरोसा नगरी सामुदायिक विद्यालयहरु सञ्चालन हुने वताउदै सरकारी निकायले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
पोखरा: मिस नेपालको पोखरा अडिसन भोलिदेखि सुरु हुने भएको छ । ‘मिस नेपाल २०२४’ को चितवन अडिसन सम्पन्न भएसँगै पोखरामा भोलिदेखि अडिसन लिन लागेको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उनले बताए । मिस नेपाल सृच्छा र मिस नेपाल अर्थ रैनाले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे। मंगलबार र बुधबार पोखरा अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ । पोखरासंगै , २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् । ४ र्मे जेठ १ गतेसम्मै इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले हुने हिडन ट्रेजरले जनाएको छ । यस्तै पोखरा अडिसनलाई पोखरा जेसीजले समन्य गरेको छ। पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले सामाजिक क्रियाकलाप अन्तर्गत मिस पोखरा यही बर्ष आयोजन गर्ने पनि बताए। भोलिको अभिमुखीकरण कार्यक्रम र अडिसनलाई भव्य बनाउने गरि कार्य गरेको कार्यक्रम संयोजक(जेसी किसान सुनारले जनाए।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले फेवातालका डुङ्गा चालकहरुको मापसे जाँच गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइड बाराही घाटमा आज (सोमवार) फेवातालका डुङ्गा व्यवसायी तथा चालकहरुसँग अन्तरक्रिया कार्यक्रमसँगै २५ जना डुङ्गा चालकको मापसे जाँच गरिएको हो । फेवातालका २५ जना डुङ्गा चालकको मापसे जाँच गर्दा एकजनाले मादक पदार्थ सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवातालका डुङ्गा व्यवसायी र चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पोखरा: पोखरामा स्वीकृति बिना नै माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरलिे नियन्त्रणमा लिएको छ । अवैध रुपमा पामेबाट माटो लिएर राष्ट्रबैंकचोकतर्फ आउँदै गरेको ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं. को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएको टिप्परहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको कास्की प्रहरीले जनाएको छ ।

