गण्डकी प्रज्ञा–प्रतिष्ठानको सतप्रतिशत कार्य प्रगति, थपियो बजेट
पाेखरा | असार २२, २०८१

पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उहाँले सुनाउनुभयो ।
‘विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०/०८१ मा ५४ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेका थियौं । ५४ वटै कार्यक्रम सम्पन्न गरेका छौं’ उहाँले भन्नुभयो ।
आगामी आर्थिक वर्षमा प्रतिष्ठानमा चालु आर्थिक वर्षको तुलनामा ५८ लाख रुपैयाँ बजेट थप भएको छ । चालु आर्थिक वर्षमा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा भन्दा कम बजेट विनियोजन हुँदा केही कार्यक्रम प्रभावित भएको भएपनि आगामी आर्थिक वर्ष भने त्यसमा सहज हुने भएको सदस्य सचिव श्रेष्ठको भनाई छ ।
आर्थिक वर्ष ०७९/०८० मा ३ करोड २८ लाख बजेट विनियोजन भएको थियो ।
‘चालु आर्थिक वर्षमा सत प्रतिशत कार्यक्रम सम्पन्न भए पश्चात मन्त्रालयले दुईवटा कार्यक्रम थपिदिएको थियो । जसअनुसार स्याङजाको फेदिखोलामा तमु भाषाको एक महिने प्रशिक्षण र तनहुँको दुलेगौडामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम समेत गर्यौं’ श्रेष्ठले भन्नुभयो ।
आर्थिक वर्ष ०८०/०८१ मा ८७ वटा वाङमयिक संस्थाहरूसँग सहकार्य गरेको प्रतिष्ठानले नयाँ आर्थिक वर्षमा अन्य के–के कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा वाङमयिक संस्थाहरूसँग कार्यक्रमको प्रस्ताव माग्ने निर्णय गरेका छ ।
आगामी आर्थिक वर्षमा कम्तीमा २५ वटा जातीको भाषाको दुई–दुई महिनाका कक्षाहरू सञ्चालन गर्ने, २० वटा बाजाका दुई–दुई महिनाका तालिमहरू सञ्चालन गर्ने, १० वटा जातीको बारेमा अध्ययन अनुसन्धान गर्ने निर्णय पूर्ण बैठकबाट भएको छ ।
स्रष्टाहरूको योगदानलाई आत्मसाथ गर्दै उनीहरूका श्रव्य दृश्य निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्ष कम्तीमा १५ जना स्रष्टाको श्रव्य दृश्य निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ ।
२ सय जना स्रष्टाको स्वास्थ्य बिमालाई निरन्तरता दिने तथा हरेक वर्ष स्थापना दिवसमा सम्मान गर्दै आइरहेको गण्डकी प्रज्ञा नारी सम्मानको पुरस्कारको राशी ५० हजार बाट बढाएर १ लाख रुपैयाँ पुर्याउने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी साउन मसान्तसम्ममा हरेक जिल्लामा दुई–दुईवटा कार्यक्रम पर्ने गरेर प्रस्ताव माग गर्ने निर्णय पूर्ण बैठकबाट गरिएको बताइएको छ । प्रतिष्ठानको भानु सभाहलमा २ सय थान कुर्सी थप गर्ने तथा सो हलको मर्मत सम्भारको काम गरेर पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानको कार्यालय परिसरमा रहेको स्रष्टा स्मृति पार्कमा दिवंगत स्रष्टाहरुको अर्धकदको प्रतिमा बनाएर राख्ने तथा वर्षमा एकपटक पार्कमा कार्यक्रम गरी स्रष्टाहरूको सम्मानमा दीप प्रज्वलन गर्ने कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।
यस अगाडि सातौं पूर्ण बैठकको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको प्रतिष्ठानका तीनवर्षिय गतिविधि अवलोकन पश्चात भएको कार्य प्रगतिप्रति उहाँले सन्तुष्टी व्यक्त गर्नुभयो ।
‘तीन वर्षिय कार्यप्रगति उल्लेखनीय रहेको छ, छोटो समयमा नै आफ्नो क्षमता प्रदर्शन गर्नुभयो’ मन्त्री थापाले भन्नुभयो । कला संस्कृति देशको पहिचान भएको भन्दै प्रतिष्ठानले गर्ने कार्यमा आफ्नो साथ सहयोग रहने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
नयाँ पुस्तालाई आफ्नो भाषा, वेषभूषा तथा संस्कृति हस्तान्तरण गर्ने कार्यमा सहयोग गर्दै यसको जगेर्ना गर्ने काममा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानको संरक्षक समेत रहनुभएका मन्त्री थापाले बताउनुभयो । प्रतिष्ठानले वार्षिक रुपमा गर्दै आएको स्रष्टालाई सम्मान गर्ने कार्यक्रमको समेत उहाँले प्रशंसा गर्नुभयो । देशको कला संस्कृति पर्यटनसँग जोड्ने माध्यम भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्राज्ञ प्रजापति पराजुली, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठले बोल्नुभएको थियो ।
प्रतिष्ठानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न हरेक दिन यहाँको कला संस्कृति देखाउने कार्यक्रम गर्ने सपना देखेको सदस्य सचिव श्रेष्ठले खुलाउनुभयो । अग्रज स्रष्टाको सम्मानमा भत्ता वितरण, स्रष्टाको परिचयपत्र वितरण लगायतका कार्यक्रम समेत प्रतिष्ठानले गर्ने तयारी गरेको उहाँको भनाई थियो । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...
काठमाडौं: आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु...
काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सु...