काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

पोखरा:    गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका सुरेन्द्रराज पाण्डेले प्रदेशको मुख्यमन्त्री जति दिन भएपनि सन्तुष्ट बनेर काम गरेको बताएका छन् ।    बुधबार प्रदेशप्रमुख डिल्लीप्रसाद भट्टालई राजीनामा बुझाएपछि पत्रकारहरुसमक्ष बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।    ‘म वैशाखको १५ गते मुख्यमन्त्रीमा नियुक्त भएको हुँ । मुख्यमन्त्री नियुक्त हुँदा सरकारको तर्फबाट तीनवटा काम गर्नुपर्ने थियो, उनले भने, ‘मुख्यमन्त्री नियुक्त भएपछि सरकारको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याए ।’   उनले गण्डकी प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेसम्म सरकार बनाउने विषयमा सहभागी नहुने बताएका कारण विश्वासको मत नलिई राजीनामा दिएको स्पष्ट पारे ।    ‘गण्डकी प्रदेश सरकारमा राप्रपा निर्णायक छ, उसको साथबिना कुनै पनि गठबन्धनले सरकार बनाउन सक्दैन’, उनले भने, ‘चैत २७ गतेसम्म राप्रपा सरकार बनाउने विषयमा सहभागी नहुने भएपछि मैले संवधानिक व्यवस्था अनुसार संसदबाट कि विश्वासको मत लिनुपथ्र्यो कि राजीनामा दिनुपथ्र्यो, मैले राजीनामा रोज्या हो ।’   मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले अब प्रदेश प्रमुखले चाँडै सरकार बनाउन आह्वान गर्न सुझाव दिएको बताए ।      यो पनि पढ्नुहोस   गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा केन्द्रमा सत्ता गठबन्धन परिवर्तनभएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट मन्त्री भएका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फागुन २३ गते फिर्ता दिएको थियो ।    माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि भोलि (बिहीबार) मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास मत नलिई मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।    ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादीको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र चुनाव जितेका एक सांसद छन् ।    गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ । 

चितवन:    त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव भेटिएको हो। उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको छ। गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो। मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ। दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अन्जना रोका, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोका र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

सप्तरी:     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ  । लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले राससलाई जानकारी दिनुभयो ।  वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ  । न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । गाउँपालिका तथा मातहतका कार्यालय ९अति आवश्यक सेवाबाहेक० आज बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । दिवङ्गत रायको दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले बताउनुभयो  ।

पोखरा:    गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।   मुख्यमन्त्री पाण्डेले आज (बुधबार) प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।  सत्ता गठबन्धनमा परिवर्तन आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री पाण्डलेले (बिहीबार) भोलिसम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।   गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएकाे पत्रकारहरूसमक्ष बताए।   

पोखरा:    पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ । अध्ययन  भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो । हालै पर्यटनको राजधानी घोषणा भएको पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य हो भने नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामका सामग्री उत्पादन हुने ललितपुलाई विश्व हस्तकला सङ्घले हस्तकलाको राजधानी घोषणा गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष  गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका क्षेत्रमा विशिष्ट योगदान गरेको बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता भएको बताउँदै सङ्घले उहाँले हस्तकलासहितका मौलिक नेपाली उत्पादनको बिक्री र प्रदर्शनी गर्न कोसेलीघर निर्माणको अभियान थालेको उल्लेख गर्नुभयो । यस अभियानमा ललितपुरसँग सहकार्य गरिने उहाँले बताउनुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाका लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या भएको बताउनुभयो । सङ्घले सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।  पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष उत्तमान बुद्धाचार्य, महासचिव बलराम आचार्य, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मनोजबहादुर न्याचुन, सर्जना श्रेष्ठ, सुजन बज्राचार्यलगायत सहभागीले व्यावसायिक साझेदारीले व्यवसाय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

पोखरा:   चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिने अवधि) देशभरबाट कुल १ हजार ८ सय १७ जना जुवाडे पक्राउ परेका छन् ।    प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाबाट ७ सय ७९ जना, कोशी प्रदेशबाट १ सय १५ जना, बागमती प्रदेशबाट १ सय १३ जना, गण्डकी प्रदेशबाट २ सय ९९ जना पक्राउ परे ।    यस्तै लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १ सय ४ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन् ।    उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ ।    जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो ।    यस्तै जुवातास खेल्नेहरूबाट ५ सय ५४ बुक तास, २ सय ५० थान कौडा लगायतका समाग्री बरामद भएको छ ।    जसमध्ये काठमाडौं उपत्यकाबाट २ सय ७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

तनहुँ:  व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना गरिएको दुरा सेवा समाजकी सदस्य दिलु दुराले जानकारी दिइन् । उनले भनिन्, ‘हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ । हामीलाई मातृभाषा बोल्न आउँदैन । तालिम सञ्चालन गरी भाषा सिकाएर यसको संरक्षण गर्न खोजेका हौँ ।’ दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूनाअनुसारको पाठ्यसामग्री समावेश गरिएको छ । दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताए । दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिए । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहेका छन् । तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ ।

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।  पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ।  परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

पोखरा:     सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले २१ औ स्थापना दिवस मनाएको छ । स्थापनासँगै नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले सामुदायिक सेवा केन्द्र वगरका हरेक गतिविधि उत्कृष्टता रहेको बताए ।  ‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगती न्यूनिकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘आगामि दिनमा पनि संस्था गतिविधि क्रियाशिलता रहने विश्वास व्यक्त गर्दछु ।’ कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाई थियो । वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरीक वीचको सम्वन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् ।  कार्यक्रममा अस्थायी प्रहरी पोष्ट वगरका इन्चार्ज कृष्णबहादुर लामिछाने प्रहरी वरिष्ठ नायव निरीक्षक बाट प्रहरी निरीक्षकमा पदोन्नती भएकोमा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा रामजी पौडेल, सदस्य लागु औषध नियन्त्रण तथा समाज स्ुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष धर्मराज आचार्य, सामुदायिक सेवा केन्द्र वगरका निवर्तमान अध्यक्ष रामभूषण पराजुलीले र सचिव शिवराज अधिकारीले बोलेका थिए ।