काठमाडौं: एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदक जितेकी छिन् । सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३–२ ले पराजित भएकी हुन्। त्यसअघि यू–२१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका थिए। एरिका र विप्लभलालका साथ प्रशिक्षकद्वय दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन्।
कास्की: कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानकी १५ वर्षीया सोनिसा सुनार पोखरा बसेर पढ्थिन् । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन्। कक्षा ९ को वार्षिक परीक्षा सकिएपछि घर निस्किएकी थिइन् । उनीसँगै आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिम घर सल्यान जाँदै थिइन् । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन । घर जानका लागि चारैजना चढेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । यो पनि पढ्नुहोस भदौरे जीप दुर्घटना: घाइतेको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ । सोनिसा जीपको अघिल्लो सिट थिइन् । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो । ‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो’, सोनिसाले दुर्घटनाबारे बताइन् । उनका अनुसार घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ । ‘दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याएका हुन्’, उनले भनिन् । उक्त दुर्घटनामा परि पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ । घाइते १० जनामध्ये ६ जनाको मणिपाल र अन्य ४ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषद्मा आइतबार खेल संघहरुसँग बैठक बस्दै १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको हो । परिषद्ले सबै खेल संघहरुलाई बैशाखभित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न निर्देशन दिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ । बैठकमा बोल्दै परिषद्का सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताए । उनले छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भएसम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्नसमेत आग्रह गरेका थिए । सो बैठकमा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो । एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेको गुनासो यस अघि नै आइसकेकाले परीक्षा समापन हुनु पूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको हो । विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइएको शिक्षा महााशाखाले बताएको छ । विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ । विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि रिजल्ट भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ । विद्यार्थीहरू छनौटका नाममा लिइने परीक्षामा जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्, सो विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने बताइएको छ । आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखदेखि सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ ।
पोखरा: सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताउदै चिन्ता व्यक्त गरेका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको बताएका हुन् । कार्यक्रममा शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले मानव बेचविखनको स्वरुप र तरिका फेरिएपनि अवस्था उस्तै रहेको बताइन् । उनले होटल, स्पा, रेष्टुरेन्ट जस्ता कुरालाई व्यवस्थित तरिकाले लग्न नसक्दा समाजमा मानव बेचविखन विस्तार हुँदै गएको उल्लेख गरिन् । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले होटल, स्पा, रेष्टुरेन्टमा हुने अवैध गतिविधिको अनुगमन गरिरहेको बताइन् । कारवाहीको अधिकार स्थानीय तहलाई नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको उनले सुनाइन् । ‘हामी अनुगमन त गर्छाैं । तर, हामीलाई कारवाहीको अधिकारी नहुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन् । पछिल्लो बेचविखनमा परेका पीडितहरु समाजमा पुनस्र्थापना हुन कठिन हुने अवस्था रहेको शक्ति समूह नेपालकी हरिमायाले सुनाइन् । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवीले मानव बेचबिखनमा परेकाहरुलाई समाजमा पुनस्र्थापनाका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले पीडितलाई लक्षित गर्दै सञ्चालन गरेको कार्यक्रमले उनीहरुलाई पुनस्र्थापना हुन सजिलो भएको दाबी गरिन् । कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले रात्रिकालिन मनोरञ्जनमा वेश्यावृत्तिका लागि बढी मानव बेचविखन हुने गरेको बताए । ‘वेश्यावृत्तिका लागि बढी बेचविखन भएको देखिन्छ । त्यसमा पनि १८ वर्षभन्दा मुनिका बालबालिका बढी पीडित भएको देखिन्छ,’ उनले भने, ‘खाजाघर, रेस्टुरेन्ट, दोहोरी जस्ता रात्रिकालिन मनोरञ्जनमा वेश्यावृत्तिका लागि मानव बेचविखन भएको पाइन्छ ।’ प्रदेशमा छुट्टै कानुन नबनाएपनि मानव बेचविखनको विषय छलफल हुने गरेको प्रदेश सभा सदस्य सरस्वती गुरुङले बताइन् । ‘कसरी मानव बेचविखनलाई कम गर्न सक्छौं भनेर समितिमा छलफल गरिराखेका छौं । आफ्नो छुट्टै ऐन चाहिँ गण्डकी प्रदेशले बनाउन सकेको छैन । मानव बेचविखनको कुरा संविधानको धाराअनुसार नै गर्नुपर्ने हुँदा त्यसमा हामीले बनाएका छैनौं,’ उनले भनिन् । सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता गोपालप्रसाद ढकालले गोपनियताका डरले पनि मानव बेचविखनको घटना बाहिर नआउने गरेको बताए । ‘बाहिर जान खोज्नुहुन्न । सक्नुहुन्न । सूचनाका कारणले, सचेतनाको कमीले पनि बाहिर आउन सकेको छैनन्,’ उनले भने । कार्यक्रम शक्ति समूहसँगको सहकार्यमा पब्लिक फोरके टेलिभिजनले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई पोखरा थियटर र फ्रि अ गर्ल सघाएका थिए ।
तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिक रहेका छन् । पक्राउ परेका उनीविरुद्व १७ वर्षीया किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँले वृद्धि भएको छ। सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो। नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ। निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपियाँ एक सय ७२ रुपियाँ ५० पैसा रहेको छ। यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ।
पोखरा: गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ । सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन (कप्तान), २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर राना, उचित रिमाल, भोला विन, तुल बहादुर थापा, टेक बहादुर राना, सुभम शाक्य र विष्णु केवत रहेका छन् । त्यसै गरी टिम प्रशिक्षकमा सन्दिप पन्त र व्यवस्थापकमा बिक्रम थापा रहेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा जीप दुर्घटना हुँदा घाइते भएका १२ जना मध्य २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा घाइते भएका १० जना मध्य ६ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना मध्ये १ जनालाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो ।

