पोखरा १३ मा यस वर्ष २ करोड २४ लाख ४५ हजार राजश्व संकलन

पाेखरा | जेठ २७, २०८१

पोखरा १३ मा यस वर्ष २ करोड २४ लाख ४५ हजार राजश्व संकलन

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ ।

 

वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् ।

 

विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका छन् ।

 

वडा र टोलहरुमा सामुदायिक कुकुरहरुको विगविगी बढेको, छाडा चौपायाका कारण खेतीमा असर पुगेको, ग्रामिण क्षेत्रमा फोहोर लिन गाडी नगएको जस्ता गुनासा पनि सहभागीहरुले गरेका छन् । जवाफमा वडाध्यक्ष किरण बरालले सुरुमा राजमार्गको स्तरोन्नतीमा ध्यान दिइएको र विस्तारै ग्रामिण क्षेत्रसम्म काम हुने बताए । उनले १३ नम्बर वडाबाट पोखराका विभिन्न ठाउँहरुमा सीधै यातायात सेवा लिने गरी यातायात व्यवसायीसँग संवाद गरिरहेको जनाएका छन् ।

 

यस्तै, सिंचाई कुलोको मर्मतका लागि पनि सिंचाई कार्यालयसँग छलफल भएको तर कुनै सम्वोधन नगरिएको गुनासो उनको छ ।

 

‘सिंचाई कार्यालय हाम्रै वडामा छ । तर कुलोको यो हालत छ । हामीले ध्यानाकर्षण पटक पटक गरायौं,’ उनी भन्छन्, ‘फेरि डेलिगेसन जान्छौं । मन्त्रालयसम्म पुग्छौं ।’ १३ नम्बर वडामा धेरै सिंचाई कुलोहरु छन् । धेरै कुलोमा गेग्रानका कारण थुनिएर खेतसम्म पानी जान समस्या परेको किसानहरुको गुनासो छ ।

 

लागू पदार्थ दुव्र्यसनी पहिले भन्दा कम भएपनि नियन्त्रणमा आइनसकेको बरालको भनाई छ । ‘पोखराका धेरै ठाउँमा लागू औषध दुव्र्यसनी र कारोबार समेत भैरहेका छन् । हाम्रोमा पनि त्यो अवस्था छ,’ उनले भने, ‘प्रहरीसँग मिलेर सचेतनाका कार्यक्रम चलाउछौं । ठाउँठाउँमा सिसि क्यामेरा राखेर नियन्त्रण गर्छौं ।’ उनले कुकुर र छाडा चौपाया नियन्त्रणका लागि टोल विकास संस्थासँग मिलेर विशेष अभियान चलाइने बताए । ग्रामिण ठाउँहरुमा महिनाको कम्तिमा १ पटक गाडी पठाएर फोहोर संकलन गरिने बरालको प्रतिबद्धता छ ।

 

पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा वडा सदस्य सरिफ अलि मियाँले स्वागत गरेका थिए भने वडा सचिव अन्जु गुरुङले सेवा प्रवाह र विकास निर्माणका विषयमा प्रश्तुतीकरण राखेकी थिइन् ।

 

वडाले हालसम्म ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरिसकेको तर सम्पन्न भएका योजनाको बजेट नै रोकिएको उनले बताइन् । ‘काम लगभग सबै सकिएको छ । तर बजेट नआउँदा भुक्तानी दिन सकिएको छैन,’ उनले भनिन् । पोखरा १३ नम्बर वडाले पूँजीगत तर्फ ४ करोड १७ लाखको काम गरिसकेको र चालू तर्फ ६६ लाख ९६ हजार मध्ये ४३ लाख ९० हजार खर्च गरेको छ ।

 

वडाले यो वर्षको हालसम्म २ करोड २४ लाख ४५ हजार राजश्व आम्दानी गरिसकेको छ । गत वर्ष १ करोड ८१ लाख ३८ हजार आम्दानी गरेकोमा यो वर्ष बढेको हो ।

 

चालू वर्षमा ८ सय ३२ जनाको जन्मदर्ता, ५८ मृत्युदर्ता, ७७ विवाह दर्ता र ३१ जोडीको सम्वन्ध विच्छेद दर्ता गरिएको छ । बसाईं सराईं आउने ५१ परिवार छन् भने जाने १० परिवार छन् ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्