अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

दाङ | चैत ३, २०८१

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ ।

 

घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन्।

 

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उनले गत वर्ष मात्रै १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताए ।

 

“गत वर्ष ११ लाख त बचत नै भयो”, उनले भने, “अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उनका अनुसार यस वर्ष हालसम्म चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।

 

साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका हुन्। उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा सात सय र थोकमा पाँच सयमा बिक्री भइरहेको बताए ।

 

उनले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाए ।

 

किसान साउदले भने, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।”

 

परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए ।

 

घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।

 

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ ।

 

उनले भने, “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको उनले बताए ।

 

“स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ”, उनले भने, “आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उनी बताउँछन् । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्