र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पाेखरा | जेठ २७, २०८१
पोखरा: र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको
भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।”
सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगत्मा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको भनाइ थियो । भनिन्, “एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन् ।” सुमिनाको कलमले केवल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको विचार तानीले राखिन् ।
कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् ।
आफ्नो कृति बजारमा आएपछि आएका विभिन्न प्रश्नहरूको जबाफ कवितले नै दिने बताउँदै सुमिनाले वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने विचार सुनाइन् ।
प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने उनको भनाइ थियो । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जबाफ दिँदै उनले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्नेमा जोड दिइन् ।
कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने विचार राखे । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।
विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए ।
कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।
‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
पोखरा । सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ...
पोखराः पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

