पोखरा:   पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको छ ।  नेपाल भलिबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै न...

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ । सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ ।  काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा राखिएको  छ । केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गते बोलाएको छ ।  पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा ३ः०० बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । बैठकमा मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ ।  राजनीतिक अभियान अनुमोदन भएपछि वडा, गाउँ, प्रदेश र केन्द्रमा कार्यक्रमका रूपमा लैजाने तयारी छ ।  पार्टी काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठक यही चैत ८ गते आह्वान गरिएको छभने पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक चैत ९ गते बोलाइएको छ ।

म्याग्दी: पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।   जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ ।  नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिनुभयो ।  यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो ।   यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष हुनुभएको छ ।  पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । 

सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ ।  घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।  घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो । 

ढोरपाटन:   बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनुभएको हो ।       उहाँहरुले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् ।  प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले जानकारी दिनुभयो ।       बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।       जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले तीन वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिनुभयो ।  डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सयजना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ ।      उहाँले भन्नुभयो, “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ ।”      अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्षपछिनै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुनुहुन्छ । अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खट्नुभएको छ ।

तनहुँ: बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् ।  स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब रु  तीन करोड मूल्य पर्ने जग्गा दान गर्नुभएको हो ।       मङ्गलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो ।  यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि आठ आना जग्गा दान गर्नुभएको थियो । “जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ, गाउँ र समाजको सेवाका लागि काम गर्न पाउँदा हर्षित छु”, कृष्णराज अधिकारीले भन्नुभयो ।      जग्गा यातायात कार्यालयलाई दिएकामा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उहाँलाई सम्मान गरिने बताउनुभयो ।  कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध भइसकेको र भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी मन्त्रालयसँग बजेट माग गरिने जिल्ला मालपोत कार्यालयका प्रमुख ओलीले बताउनुभयो । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

गण्डकी: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ ।  विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो । पहिलोपटक भएको अन्तरराष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत एक सय २६ सदस्यीय पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली छेन्दु आई पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि बढाएको छ । महानगर प्रमुखसहितको पोखरेली टोलीलाई छेन्दु विमानस्थलमा चीनका लागि नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रदेशका उच्चपदस्थ अधिकारी, सिचुवान एयरलायन्सका प्रतिनिधिलगायतले भव्य स्वागत गर्नुभएको थियो । उक्त अवसरमा महानगरप्रमुख आचार्यले २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उद्घाटनको दुई वर्षसम्म पनि अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा महानगरपालिका, पोखरा पर्यटन परिषद्सहितको निरन्तरको प्रयासबाट पहिलो व्यावसायिक चार्टर उडान गरिएको बताउनुभयो । पोखराको पर्यटकीय विकास सम्बन्धमा चिनियाँ राजदूतावासबाट पनि दुई देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ गर्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्दै उहाँले यसै अभियानमा पनि बिटुबीलगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । छेन्दुबाट एक हजार दुई सय ५० पर्यटक विभिन्न उडानमार्फत पोखरा जाने तय भएको जानकारी दिँदै महानगरप्रमुख आचार्यले त्यहाँबाट पनि पर्यटक पठाउने कार्यमा लाग्ने बताउनुभयो ।

नवलपरासी:   मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो ।  घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न जानुभएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र आइपुग्नुभएको थियो ।   घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनुहुन्छ ?” तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्नुहुन्न । उहाँ चुपचाप आँसु पुछ्नुहुन्छ र बन्द बाकसतिर हेरिरहनुहुन्छ, जहाँ उहाँकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहनु भएको छ । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनुहुन्न ।”  तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोज्नु भएको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उहाँको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । उहाँले मलेसियाको बाटो रोज्नु भयो ।   “म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उहाँले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाउनुभयो र मलेसियातर्फ लाग्नुभयो । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।  त्यसको केही दिनपछि अचानक फोन आयो, “तिलमायाको हत्या भयो ।” यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।   तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घरपरिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो ।    आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।   “सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५र२० दिनमा राहत पनि आइसक्ने छ ।” वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ ।  सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ । मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।