काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ । विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो । गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ । सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ । चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो । “मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो । गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो । सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो । “मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ । अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।” चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
ढोरपाटन: नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् । यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम ९फागुन–वैशाख० का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् । अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गर्नुभएको हो । त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको रु आठ लाख, नाउराको रु ६ लाख २५ हजार पाँच सय तोकिएको छ । यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा रु एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ ।
मुस्ताङ: जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको हो । मुस्ताङको पवित्र धार्मिक सङ्गमस्थल कागबेनीमा जीवनको एकपटक दिवङ्गत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पीण्डदान र तर्पणसहित त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । यही कारण बर्सेनि वडादसैँ औँसी र चैतेदसैँ औँसी तिथिमा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्दछ । यसवर्षको चैतेदसैँ अघिको कृष्ण औँसी तिथि आज जरेकाले मुस्ताङमा हजारौँ श्रद्धालु भक्तजनले आफ्ना दिवङ्गत पितृ सम्झदै पूजाअर्चना गरी श्राद्ध गर्न कालिगण्डकी दोभानमा स्नान गरेर पितृको नाममा पीण्डदान र तर्पण दिएका छन् । जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसीलाई लक्षित गरी पछिल्लो २४ घण्टामा १२ हजार ४१२ जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले पछिल्लो २४ घण्टामा तीर्थालु सवार एक हजार ५८० सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएका जानकारी दिनुभयो । आज बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तीर्थालुहरूको श्राद्ध गर्ने कार्यक्रम सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो । यसअघि मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालु सवार सवारीसाधनको घुइँचोले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको थियो । जिल्ला प्रहरीको निर्देशनमा जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला ट्राफिक कार्यालयको टोलीले ट्राफिक व्यवस्थापन सहज गराएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीले यहाँ आएका दर्शनार्थीहरूले सकुशलपूर्वक दिवङ्गत पितृको नाममा श्राद्ध गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किदै गरेका जानकारी दिनुभयो । “जिल्ला शुक्रबार दिउँसैदेखि तीर्थालुले भरिएको थियो, श्राद्ध गर्न आउने कसैलाई पनि लेक लाग्ने समस्या भएन”, उहाँले भन्नुभयो, “सुरक्षा निकाय सर्तक थियो भने सहायता कक्ष स्थापना गरिएको थियो । यहाँ अहिलेसम्म कसैलाई पनि स्थास्थ्य समस्या देखिएको छैन ।” मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित दामोदकुण्ड धार्मिकस्थलबाट बग्ने कालिगण्डकी नदी र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथधामको १०८ धाराबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पीण्डदान र तर्पण दिएर पूजाअर्चना गर्दा पितृ सधैँ खुसी भएर सन्तानको भलो हुने हिन्दू धार्मिक शास्त्रमा उल्लेख छ । यसस्थानको कागबेनी सङ्गमस्थलमा जलका लागि देवीदेवता लालायित हुने धार्मिक किंबदन्ती छ । कागबेनीस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा कालो शालिग्राम र मुक्तिक्षेत्रबाट बग्ने गण्डकी नदीमा रातो शालिग्राम पाइन्छ । यसस्थानमा भगवान् विष्णुको अवतार शालिग्राम विराजमान रहेको धार्मिक जनविश्वास रहिआएको छ । साथै कागबेनीधाममा कुर्म अर्थात् कछुवा अवतारको शालिग्राम मन्दिरको दर्शन गर्न पाइन्छ । यसस्थान हिन्दू तथा बौद्ध धर्मालम्बीहरू धार्मिक साझास्थलका रूपमा लिने गरिएको छ । यहाँ कागछोदे गुम्बा, बाह्रौँ शताब्दीमा निर्माण गरिएको कागबेनी दरबारका साथै कागबेनी गाउँको पुरानो ऐतिहासिक बस्ती अवलोकन गर्न सकिन्छ । चैतेदसैँ औँसी तिथिमा मुस्ताङको कागबेनीधाम आएर दिवङ्गत पितृको नाममा श्राद्ध र पूजापाठ गर्न पाउँदा गौरान्वित महसुस भएको चितवनका सोम जिसीले उल्लेख गर्नुभयो । उहाँले प्रकृतिको सुन्दर स्थान मुस्ताङमा आएर पितृ सम्झदै श्राद्ध, पीण्डदान र तर्पण दिएर कालिगण्डकी नदीमा स्नान गर्दा पितृ खुसी भई पुण्य प्राप्ति हुने बताउनुभयो । हेटौँडाका ईश्वरीप्रसाद पोखरेलले कागबेनीमा पितृको पूजाअर्चना गरेर मुक्तिनाथको दर्शन गर्ने उद्देश्यले पहिलोपटक यहाँ आइपुगेको बताउनुभयो । उहाँले यहाँको स्थिति र घुम्ने धोको पूरा गर्न परिवारसहित मुस्ताङ आइपुगेको उल्लेख गर्नुभयो । यहाँस्थित कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले मुस्ताङको आर्थिक विकासमा कागबेनीधामको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कागबेनीमा एकरात बाँस बसेर दिवङ्गत पितृ सम्झदै श्राद्ध गरेमा धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङले डेढ वर्षअघि कागखोला बाढीले कागबेनी मन्दिर, श्राद्ध स्थल र यहाँको भौतिक संरचनामा क्षति पु¥याएकाले यहाँ आएर श्राद्ध गर्ने धार्मिक तीर्थालु व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । धार्मिक महत्त्वको यस स्थानलाई तीनै तहका सरकारले श्राद्धस्थलको पूर्वाधार निर्माणमा यथाशीघ्र पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “यहाँ दीर्घकालीन रूपमा स्थायी भौतिक संरचना आवश्यक छ, आरसिसी तटबन्ध निर्माणका लागि ठूलो बजेटको आवश्यकता पर्दछ । हामीले भक्तजनबाट सङ्कलित दान र स्थानीयस्तरको सहयोगमा पूर्वाधार निर्माण गरी अस्थायी व्यवस्थापन गरिरहेका छौँ”, अध्यक्ष गुरुङले भननुभयो । उहाँका अनुसार कागबेनीधाममा श्राद्ध गरेका तीर्थालुहरू यहाँ श्राद्ध गरी मुक्तिनाथ उकालो उक्लिएर मुक्तिनाथ दर्शन गरेका छन् । मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले आज बिहानैदेखि श्रद्धालु भक्तजनको बाक्लो उपस्थित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आजसम्ममा करिब १२ हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । मुक्तिनाथमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति, सुरक्षा निकाय र कार्यरत कर्मचारीले लाइनबद्ध गरी दर्शनमा सहजीकरण गरेका उहाँले बताउनुभयो । चैतेदसैँ कृष्ण औँसी तिथिमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न आउने तीर्थालुको उपस्थितिले मुस्ताङका होटल भरिभराउ भएका छन् ।
गण्डकी: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताउनुभएको हो । अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिनुभयो । “हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ”, उहाँले भन्नुभयो,“राजतन्त्र आफ्नै कारणले सक्किएको हो । आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ रु संविधानको खिलापमा कुनै गतिविधि मा नगरौँ।” व्यवस्था परिवर्तन भए पनि सोअनुसार कानुन परिवर्तन नहुँदा जनताबाट अपेक्षित काम गर्न समस्य भएको भन्दै सरकारका प्रवक्ता गुरुङले यही अवस्थालाई दृष्टिगत गर्दै सरकारले आवश्यक कानुनहरूको निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले सरकारका कामलाई प्रभावकारी बनाउन विद्यमान विभिन्न १२ वटा ऐन संशोधन गर्ने तयारी भइरहेको समेत बताउनुभयो । मन्त्री गुरुङले वर्तमान सरकारले आर्थिक रूपमा सङ्कटमा गर्ने अवस्थाबाट मुलुकलाई जोगाएको जिकिर गर्दै आवश्यकताका आधारमा मात्रै ऋण लिने नीतिअनुसार सरकार अगाडि बढेको बताउनुभयो । उहाँले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरकारले पहल गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले सुनचाँदी व्यवसायको सुरक्षा प्रत्याभूति गराउनका सोहीअनुसार विधि र प्रणालीलाई व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले व्यवसायलाई थप व्यवस्थित बनाउन महासङ्घ निरन्तर लागिरहेको बताउनुभयो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो । महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पु¥याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो । पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए । त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायाङ्कनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २३ औं रक्तदानमा १ सय ३० युनिट रगत संकलन भएको छ । नयाँ रक्तदातालाई रक्तदान प्रति प्रोत्साहन गर्ने उद्देश्यले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराका साथ आयोजना गरेको बृहत खुला रक्तदान कार्यक्रममा पुरुष १ सय १० र महिला २० गरि १ सय ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक आरजु बिष्ट “सल्यानी“ले बताए । ६० जना रक्तदाताले पहिलोपटक रक्तदान गरे । दृष्टिविहिन रक्तदाताले पनि रक्तदान गरे । पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले पहिलो रक्तदाता मञ्जित तिवारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । समाजलाई सुशुचित बनाउँदै सामाजिक उत्तरदायित्वप्रति रेडियोको महत्वपूर्ण भूमिका रहेको उनले बताए । रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले सबैको साथ र सहयोगले रेडियोले आफ्नो स्थापनाकालदेखि २३ औं संस्करण सम्म रक्तदान आयोजना गर्न सम्भव भएको भन्दै सहयोगका लागि सबैप्रति धन्यवाद व्यक्त गरिन् । प्रादेशिक रक्तसंचार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसीले बर्षेनी रक्तदान आयोजना गरेर रेडियोले आम जनमानसमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने र निर्देशक बरदान ताङ्व् लामाले बोलेका थिए । रेडियोले स्थापना कालदेखि हालसम्म ८ हजार भन्दा बढी युनिट रगत सङ्कलन गरिसकेको महाप्रबन्धक नारायण पौडेलले जनाए । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।
सुदूरपश्चिम: हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारती नंको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन् । तीमध्ये तीन जनालाई बढी चोट लागेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको नं खुल्न सकेको छैन । बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् । ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ । घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धारगरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गर्नुभयो । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र लुटपाट प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । “प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ”, उहाँले भननुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।” राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । “अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो”, उहाँले भन्नुभयो, “निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला ।” मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताउनुभयो । साथै उहाँले उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान भयो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मुलुक समाजवादी यात्रामा अघि बढिसकेकाले पश्चगमनतर्फ फर्कने प्रयास कुनै हालतमा मान्य नहुने बताउनुभयो । पार्टीका उपमहासचिव जनार्दन शर्माले गणतन्त्रवादी शक्तिले आफूलाई सुधारेर सामन्तवादका विरुद्ध एकताबद्ध हुँदै जनभावनाको कदर गर्नुपर्ने बताउनुभयो । प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सङ्गठन सदैव क्रियाशील हुने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाललगायत पत्रकार सङ्घसङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुननसक्ने भन्दै प्रेस स्वतन्त्रता र जनअधिकार रक्षाका लागि खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।