काठमाडौं:     नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्च...

काठमान्डौँः    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ । छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले  विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।  सबै समुदायका संस्कृति तथा चाडपर्वले एकापसमा सामाजिक सद्भाव, सांस्कृतिक सद्भाव साथै राष्ट्रिय एकता मजबुत बनाउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सन्देशमा उहाँले समुदायस्तरबाट आफ्ना भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणले देशलाई मौलिक सभ्यता र संस्कृतिमा सम्पन्न बनाउने विचार व्यक्त गर्नुभएको छ ।  पूर्वप्रधानमन्त्री नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सामाजिक विशेषताले देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।   

काठमाडौँः     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना  गर्नुभएको छ ।  अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  सन्देशमा भनिएको छ, “छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” “छठपर्व प्रकृति र मानवबीच व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ”, सन्देशमा भनिएको छ, “यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।”  

ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ ।   मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।   क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको जानकारी दिनुभयो ।   “रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म रु ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ”, उहाँले भन्नुभयो । ​देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा रेखा रोका, डा रञ्जना रोका र डा स्वस्ती रोकाले रु एक लाख ९२ हजारका दरले रु पाँच लाख ७६ हजार सहयोग गर्नुभएको छ ।   उहाँहरू मङ्गला गाउँपालिका अध्यक्षसमेत रहुनभएका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक सङ्कलन उपसमिति संयोजक यसोदा रोकाका छोरी हुनुहुन्छ । देउसीभैलोका क्रममा रोका दिदी बहिनीबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “रोका परिवारबाट क्याम्पसका लागि हालसम्म रु १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । घरायसी समस्याले सहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै आर्थिक स्रोत जुटाउन अभियान चलाएका छौँ ।”   मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ ।   अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ ।   रु १२ लाख सहयोग गर्नेलाई संरक्षक, रु सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, रु एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, रु ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र रु ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने क्याम्पसले जनाएको छ ।   म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावाससहितको संरचनासमेत बनेको छ ।   हाल यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

दमौली:   म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ ।   फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ ।   गाउँपालिकाले गत पुस १७ गते केन्द्र सञ्चालनमा ल्याएको थियो तर बाटोको असुविधाका कारण केन्द्र सञ्चालनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।   अन्य समयभन्दा वर्षाका बेला त्यहाँसम्म सवारीसाधन पुग्न नसक्दा निकै समस्या भइरहेको उहाँले बताउनुभयो ।   अधिकारीले चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट बाटो स्तरोन्नतिका लागि रु ४० लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त बजेटमा गाउँपालिकाले पनि केही रकम थपेर बाटो स्तरोन्नति गर्नेछ, बाटो स्तरोन्नति भएपछि फोहरमैला सङ्कलन केन्द्र सञ्चालनमा समस्या आउँदैन ।”   २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपालिकाले विसं २०७८ चैत ९ गते रु ३३ लाखमा जग्गा खरिद गरेको थियो ।   जग्गा खरिदलगायत केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।   फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । सोअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ ।   केन्द्र सञ्चालनमा आएसँगै बजार क्षेत्रका फोहर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ । स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।   उहाँले भन्नुभयो, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौति हुँदै आएको छ । केन्द्र सञ्चालनपछि फोहरमैला व्यवस्थापनमा सहयोग पुगेको छ ।” गाउँपालिकाको बजार क्षेत्रबाट सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहर उक्त व्यवस्थापन केन्द्रमा जम्मा गर्ने श्रेष्ठको भनाइ छ ।   प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिप्परसमेत खरिद भइसकेको छ ।   गाउँपालिकाको आन्तरिक स्रोतबाट फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेबाट भएको थियो । शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला विल्डर्ससँग सम्झौता भई केन्द्र निर्माण भएको थियो ।   गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन २०८० समेत पारित गरिसकेको छ ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।   विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।   कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।   त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ ।   आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 जेठोबुढो धानको 'पकेट' क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् ।   बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गर्नुभयो ।   गभारोले यस अघि बाली सखाप नपारेको अनुुभव उहाँले सुनाउनुभयो ।   रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ ।    “फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले रासससँग भन्नुुभयो । साथै उहाँले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ ।   लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट लेबनान) मा इजरायली हवाई आक्रमणबाट २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छभने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ ।   नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए ।   टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ ।   सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबीच हवाई आक्रमण सुरू भएको थियो ।   सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई विस्तापित भएका छन् । 

वीरगञ्जः    छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाउनुभएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ ।  भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् ।  उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् ।  वीरगञ्जका कलासाहित्य क्षेत्रमा अनुरागीहरुले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रुपमा स्मरण गर्नुभयो । “सिन्हाले लोकआस्थाका रुपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पु¥याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरुमा गुञ्जिरहेका छन्”, उहाँले भन्नुभयो, “लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरु पनि गाउनुभएको छ ।”  प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोकगायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । “सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन । साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ ।” पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रुचि र लगाव राख्ने अनुरागी भएको स्मारण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।  लोकगायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवं नेपाल भोजपुरी समाजको सहसचिव अजमत अली अन्सारीले भारतीय लोकगायिक सिन्हाको निधनले भोजपूरी गीतले महान श्रष्ठा गुमाएको बताउँदै उहाँलाई स्मरण गर्नुभयो ।  “भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो । छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरुलाई मर्माहत बनाएको छ ।”  भारतीय लोकगायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभुषण अवार्डसमेत प्राप्त गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।  लोकगायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।   

रौतहटः    जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् । हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो ।  करिब ५ बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उहाँले बताउनुभयो ।  केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिनुभयो ।  चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनाँै हात्ती केरा बारीमा प्रवेश गरी क्षति पु¥याएको स्थानीय गोपाल फुँयालले जानकारी दिनुभयो ।  सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उहाँले बताउनुभयो ।  त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् ।  साँझ पर्ने वित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन् ।  स्थानीय  सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ ।  उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन् ।        गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो ।  गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।  घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए । धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् ।  हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पु¥याउँदै आएका छन् । गतवर्ष मात्रै  हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए ।  हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् । हात्तीले क्षति पु¥याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पु¥याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् । हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिनुभएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।  हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो । कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण सङ्कलन भइरहेको साहले जानकारी दिनुभयो ।  हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उहाँले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिनुभयो ।