पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान कास्की च्याम्पियन बनेको छ ।   शनिबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७–० ...

गोरखा:  गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उहाँको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भिआइए) परीक्षण गराइएको थियो । भिआइए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ । त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाडजोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उहाँले बताउनुभयो । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोशालासेवा लिएका छन् । उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताउनुभयो । ‘‘शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, जनरल ओपिडी परीक्षणदेखि लिएर निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको हो, उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” सो क्रममा करिब रु तीन लाखभन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं:  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।  कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।  आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली  भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं: घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ ।  देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।            घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ ।  विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ ।       विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो ।       मालपोत कार्यालय कलङ्कीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । 

भैरहवा:   पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो ।  लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरेका छन् । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ । थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् ।  श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताउनुभयो । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने छ । धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्म यात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो ।  बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उहाँहरू श्रावणेर बन्नुभएको हो । उहाँहरूलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षासम्बन्धी कक्षा लिएको भिक्षु श्रीवजीरले बताउनुभयो ।  “प्रवज्या भनेको भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभन्दा अगाडि उहाँले आफ्नो राजपाट र घरगृहस्थ त्याग गरेर सन्यासी हुनुभयो, त्यसैलाई हामीले प्रवज्या भन्छौँ”, श्रीवजीरले भन्नुभयो, “प्रवज्या जीवनबाट नै भगवान् बुद्धले आफ्नो ज्ञानको मार्ग सुरु गर्नुभएको थियो ।” नयाँ भिक्षुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवापुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रवज्या कार्यक्रम महत्त्वपूर्ण हुने गरेको छ ।  धम्मकाय फाउन्डेसनको आयोजनामा भएको धम्म यात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो । भगवान् गौतमबुद्ध फागु पूर्णिमाको दिन ज्ञानको प्राप्ति गरेकाले फागु पूर्णिमाको नजिक पर्ने गरी गत वर्षदेखि धम्म यात्रा गरिँदै आएको छ ।  गौतमबुद्ध ज्ञान प्राप्तिपछि बुबालाई भेट्नका लागि फर्किँदा अहिलेको भैरहवा क्षेत्र रहेको स्थानबाट नै फर्केका कारण भैरहवामा धम्म यात्रा गराइएको बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शङ्कर गाहाले बताउनुभयो ।   यसरी प्रवज्या हुनेमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङका साथै म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, इन्डोनेसियालगायत रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले बताउनुभयो ।  उहाँले धम्म यात्राका क्रममा श्रामणेरहरूले बुटवल, बुद्ध मावली देवदहलगायत क्षेत्रको पनि भ्रमण गर्नुभएको जानकारी दिनुभयो ।  लुम्बिनीमा सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच सय र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष पाँच सय जनालाई प्रव्रज्या गरिएको छ ।

पवर्त:   कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ ।  सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो ।  पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन ।  खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन । रु ६ करोड १३ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो ।  अहिलेसम्म रु एक करोड ५० लाख कार्यालयबाट भुक्तानी गरिएको छ । उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो ।  सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन ।  “धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने÷नहुनेमा आशङ्का छ । ढिलोगरी काम सुरु भएको छ”, स्थानीय राजेन्द्र खड्काले भन्नुभयो ।  सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ ।  अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर धु्रव पोखरेलले जानकारी दिनुभयो । अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको छ ।  स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताउनुभयो ।  स्थानीय तह, सङ्घीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उहाँको भनाइ छ ।  यसैबीच निर्माणकार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थगलत अनुगमन गर्नुभएको छ । 

पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथसहित पदस्थापन गरिएको हो ।  समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए ।  संघको अधिवेशनले राम गुरुङको अध्यक्षमतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका थिए । भने, गिरीधारी पोखरेल, सञ्जय शाक्य र प्रवेश पोखरेल सदस्य छन् ।  पदस्थापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लामिछानेले हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको बताए । फोटो पत्रकारसँग फोटो मागेर काम चलाउनुभन्दा फोटो पत्रकार नियुक्त गर्न सकेमा यो क्षेत्रमा पनि व्यावसायिकता बढ्ने उनको धारणा थियो ।  ‘सबै मिडिया हाउसले फोटो पत्रकारलाई आवद्ध गराउन नसक्नु कमजोरी भएकै हो,’ उनले भने, ‘यो विषयमा फोटो पत्रकार संघ र मिडिया हाउस बसेर समाधानका उपाय खोज्न आवश्यक छ ।’  फोटो भिडियोका जमानामा लेख्ने पत्रकारहरु आफैं सुधारिनुपर्ने उनको भनाइ थियो । फोटो पत्रकार विरुद्धका  उजुरी प्रेस काउन्सिल कमै भेटिएकाले यो क्षेत्र नीति नियममा रहेको उल्लेख गरे ।  ‘म आवद्ध संस्थाले आचार संहिता बनाउन, अनुगमन पनि गर्छ र पालना गर्न पनि लगाउँछ,’ उनले भने, ‘खुसीको कुरा के छ भने फोटो पत्रकारहरुका विरुद्धमा आचार संहिता उल्लघंनका उजुरी परेको मलाई नै थाहा छैन् । यसैबाट थाहा हुन्छ कति फेयर छ भन्न कुरा ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, संघका संस्थापन अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नवनिर्वाचित टिमले संस्थालाई आगामी दिनमा अझ क्रियाशिल बनाउँदै लैजानुपर्ने बताए ।  पोखरामा २०६६ फागुन ५ गते गठन भएको फोटो पत्रकार महासंघ नेपाल, कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था राम गुरुङ नेतृत्वको फोटो पत्रकार संघ कास्कीमा गाभिएको घोषणा गरे । ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ,’ गिरीले भने, आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित जानकारी गराउँछु र खातामा भएको केही रकम पनि प्रक्रिया मिलाएर यही संस्थालाई सहयोग गर्न तयार छु ।’ यसैबिच, संस्थाको पहिलो बैठकले रिक्त रहेको पद र सल्लाहकार पनि मनोनीत गर्दै १३ सदस्यीय समितिले पूर्णता पाएको अध्यक्ष राम गुरुङले बताए । बैठकले सहसचिवमा दुर्गा रानामगर, सदस्यहरुमा सुदर्शन रञ्जित, सरोज अधिकारी, चेतबहादुर थापा ‘प्रविन’, सुरेश सुनार र रिखीराम जिसीलाई मनोनीत गरेको हो ।  संघको सल्लाहकारमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणि बराल, इन्द्रप्रसाद पौडेल र निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेललाई चयन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।   

काठमाडौं:  सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो ।  क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।  भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  यसैगरी उहाँले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ । 

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।  निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो ।       मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।       इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

गण्डकी:  धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो ।  पोखरा–बागलुङ यसअघि रु चार सय ५० लिने गरिएकामा शुक्रबारदेखि रु ५० घटाएर रु चार सय कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिनुभयो । म्याग्दी–पोखराको भाडा रु पाँच सय ५० बाट घटाएर रु पाँच सय कायम गरिएको उहाँले बताउनुभयो ।  बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो ।  सुरुवाती चरणमा दुई वटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा छन् । कम्पनीले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँच वटा बस सञ्चालन गरेको छ ।  बागलुङ– नारायणगढका लागि पाँच वटा बस सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको माग बढेपछि कम्पनीले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो ।  विद्युतीय गाडीले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा यो यात्राका लागि सहज र सस्तो हुने गरेको छ । पछिल्लो समय प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्रुयाउन थालेका छन् । प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । विद्युतीय गाड़ी सुविधायुक्त र वातावरणमैत्री छन् । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन विस्तार आदिमा सरकारले ध्यान दिनुपर्ने यातायात व्यवसायीको माग छ ।  प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मझौला र साना विद्युतीय सवारीसधान बढी प्रयोगमा आइरहेका छन् ।  गण्डकी प्रदेशमा ठूला विद्युतीय बस भने सञ्चालनमा आइसकेका छैनन् । माइक्रो बस, कार, भ्यान र स्कुटरको सङ्ख्या बढ्दो छ ।  कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिने मन्त्रालयले जनाइएको छ । चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको छ ।