नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५३ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २० पैसा र बिक्रीदर ९६ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ २ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ । कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाईँ पनि यो शरद्याममा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त हुनसक्छन् । प्रकृति, संस्कृति र साहस (नेचर, कल्चर र एडभेन्चर) लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय सहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् । नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ । प्राचिन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका साँस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खा, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् । मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचिन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पवर्त र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ । स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामिण पर्यटनको अवधारणा नेपाल भित्राउनुभएको थियो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास (होमस्टे) कार्यक्रमले ग्रामिण पर्यटनको उत्थानमा महत्वपूर्ण टेवा पु¥याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् । यी हुन्, गण्डकीका गन्तव्य कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन् । बागलुङका पर्यटकीय गन्तव्यहरुमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत पर्छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो । बर्सेनि दुई याममा उक्त आरक्षमा वन्यजन्तुको वैधानिक सिकार गरिन्छ । साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि विदेशी सिकारीहरु ढोरपाटन पुग्नछन् । ढोरपाटन उपत्यका, बुकी, भुटानी शरर्णाथी बस्तीलगायतले पनि त्यस क्षेत्रको आकर्षण बढाएका छन् । तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । मुक्तिनाथ विश्वभरका हिन्दु धर्मवालम्बीहरुमाझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दस÷दस गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।
बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । यस भाररसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यस वर्ष डेङ्गुका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो। सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो । डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो । उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ । उक्त सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यकपर्ने अमेरिकी डलर एक हजार अर्ब भन्दा बढीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ । यसले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धीमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्नेछ । सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ । उक्त सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य उर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यासहरुको आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतको नवीकरणीय उर्जामन्त्री एवम् ‘आइएसए’को अध्यक्ष प्रह्लाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा नेपालको नविकरणीय उर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ । आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाईटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । भाईटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि भने समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११:३७ बजे नै टीका लगाएको जनाइएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाईले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
दमौली: भगवान् वेदव्यासको अवतरणभूमि व्यासगुफा तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसर एवं प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बुधबारदेखि व्यासगुफा परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने ज्ञानमहायज्ञमा धार्मिक एवं आध्यात्मिक गतिविधिका अतिरिक्त स्थानीय संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले राससलाई जानकारी दिनुभयो । “व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्धेश्य हो । यसमा सबै सङ्घसंस्था, व्यक्ति, राजनीतिक दलको साथ र सहयोग आवश्यकको अपेक्षा गरेका छौँ”, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको व्यासभूमिको प्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिँदै अध्यक्ष उहाँले भन्नुभयो, व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट अग्लो व्यासको मूर्तिका निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणाधीन छ ।
भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आउनुभएको छ । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताउनुभयो । मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । “आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु ग-यौं । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,” उहाँले भन्नुभयो । मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उहाँहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाड्नुभएन । दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,” उहाँले भन्नुभयो ।
तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । कैदीबन्दीलाई चाडपर्व खल्लो नहोस् भन्ने उद्धेश्यले आइतबार बिहान ७ बजे देखि पाँच बजे सम्म भाइटिका लगाउने प्रबन्ध मिलाईएको तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका रहेका छन् । अधिकारीले भन्नुभयो ‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं, दसैंमा पनि टिका लगाउने अवसर मिलाएका थियौं ।’ साईत लगाउन मिल्नेले साइत अनुसार नै लगाउन पाउने र अनुकुल नमिलेकालाई अन्य साँझ पाँच बजेसम्म नै लगाउन पाउने गरी व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।
जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाख बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्याउन नसकिएको अक्षयले जानकारी दिनुभयो । फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्याउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । अक्षयले भन्नुभयो, “बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ ।” उहाँले प्रतिकिलो रु दुई सय ५० मा फूल बिक्री गरिएको जानकारी दिनुभयो । फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो । गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ । उहाँले भन्नुभयो, “एकादशीका लागि पनि फूल बिक्री हुन्छ । त्यतिबेला उत्पादन गर्नेगरी तयारी गरेका छौँ ।” म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती सुरु गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो । फूलखेतीमा आबद्ध अक्षय गाउँपालिकाका कर्मचारी हुनुहुन्छ भने सन्तोष पशुपालन व्यवसायमा आबद्ध हुनुहुन्छ । स्थानीय किसानलाई प्रोत्साहन र हौसला दिन गाउँपालिकाले फूल बिक्रीका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । अन्य कार्यक्रममा पनि स्थानीयस्तरमा उत्पादित सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो ।