पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।   पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला...

काठमाडौं: काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।  आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ ।  उहाँले भन्नुभयो, “हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर  गाडी रोकेर राखिन्छ ।”  त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ ।  हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उहाँले बताउनुभयो ।    प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।    त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ ।    आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिननै होली खेलिन्छ । 

हेटौंडा:   मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो ।  त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उहाँ गाउँ फर्किनुभयो ।  यही क्षण उहाँका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उहाँ सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल हुनुभएको छ ।       न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाउनुभयो । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उहाँ जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उहाँ अचेल निकै हर्षित हुनुहुन्छ ।  “दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उहाँले रासससँग भन्नुभयो ।       हाल उहाँले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीनुभएको थियो, आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।  उहाँले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाउनुभएको छ । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताउनुभयो । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्नुहुन्छ ।  “मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु ।  त्यही  मूत्र तरकारीमा प्रयोग गर्छु”, उहाँले भन्नुभयो,“यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”      माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गर्नुभएका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहनुभएको बताउनुभयो ।  उहाँ भन्नुहुन्छ, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि  ।”  उहाँले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताउनुभयो । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाउनुभयो ।          चारवटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती गरिरहनुभएका उहाँले अन्तरबालीका रूपमा बन्दा पनि लगाउनुहुन्छ । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताउनुभयो ।       यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ ।  यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उहाँको बुझाइ छ ।  यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उहाँको आग्रह छ । 

काठमाडौं:   यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी  होली पर्व मनाउनेले  अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो ।  विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।  सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।   केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए ।  बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए ।  कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो । चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल      यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन् । बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ ।  वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ ।  वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ । फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो ।  वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको  मान्ने गरिन्छ । यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।  त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।  यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।  राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।  फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ । शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।  प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

भक्तपुर: फागुपूर्णिमाको अवसरमा याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।  फागुपूर्णिमाको दिन भीमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरू खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता भएकाले भक्तजन झिसमिसेदेखि नै भक्तजनको भीड लागेको हो ।  आजको दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था र पसल सञ्चालन गर्नेहरू बलिसहितको पूजा गर्न भीमसेन मन्दिर पुग्ने गर्छन् ।  आज टोलटोलमा धिमेबाजा, बाँसुरीलगायत बाजा बजाउँदै विभिन्न टोली भीमसेन मन्दिर जाने गरेका छन् । देवताको पूजाअर्चनापछि समयबजी खाएर फागुपर्व मनाउने प्रचलन छ । स्थानीय महिला हाकुपटासीमा सजिएर रङ खेल्दै टोलटोलमा पुग्ने परम्परा पनि अद्यापि कायम छ ।  आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठले बनेको प्रतीकात्मक पुरुष जननेन्द्रियलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागुपर्व हुन्छ । यो प्रतीकात्मक काठको लिङ्ग बोक्ने व्यक्ति पुत्रहीन भएमा कालान्तरमा निजलाई पुत्रप्राप्ति हुने जनविश्वास छ । 

चितवन:   गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व  मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।   यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि  गरिन्छ ।  खुकुरीजस्ता घरेलु हतियारको  पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो ।  आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता  तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले राससलाई बताउनुभयो ।

सोलुखुम्बु:   वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ ।      एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।  उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ ।      टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ ।       टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपिसिसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ ।       खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।      परम्परागत विधि र साइत हेर्ने परम्परा      सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ ।  एसपिसिसीका अनुसार आरोहण मार्ग निर्माण कार्य सुरु गर्न बौद्ध परम्पराअनुसार विशेष पूजा गरिन्छ । यस क्रममा स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको कृपा प्राप्त गरेपछि मात्र आइसफल क्षेत्रजस्तो जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।       मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ ।      दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ ।      सगरमाथा क्षेत्रमा आरोहण मार्ग निर्माण तथा मर्मतका लागि एसपिसिसीले विदेशी आरोहीहरूबाट शुल्क लिँदै आएको छ । प्रत्येक विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने व्यवस्था छ । यो शुल्क मार्ग निर्माण, मर्मत तथा वातावरणीय सरसफाइका लागि प्रयोग गरिन्छ । एसपिसिसीले आरोहण अनुमति जाँच गर्नाका साथै आधार शिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।      सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने यी ‘आइसफल डाक्टर’हरूले  जोखिम मोलेर हिउँको पुल बनाउने, आरोहीहरूको सुरक्षाका लागि मार्ग पहिल्याउने र अत्यधिक जोखिमपूर्ण क्षेत्रमा आधारभूत संरचना तयार गर्ने काम गर्छन् ।  “उनीहरूबिना आरोहीहरूको सफल यात्रा कल्पनै गर्न सकिँदैन । हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौं । पर्यटन मन्त्रालयसँगको सम्झौताअनुसार हाम्रा दायित्व पूरा गरिरहेका छौँ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही शुल्क हो”, एसपिसिसी अध्यक्ष शेर्पाले भन्नुभयो ।       सगरमाथा आरोहणको तयारी तीव्र      वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहीहरूको सुविधाका लागि आवश्यक सबै कार्य अघि बढाइएको छभने सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । वातावरण संरक्षणको दृष्टिकोणले समेत एसपिसिसीको टोली सक्रिय रहेको छ ।  यस वर्ष आरोहण मौसममा कति आरोहीहरू सगरमाथा चढ्नेछन् भन्ने विषयमा अझै निश्चित तथ्याङ्क आइसकेको छैन तर विगतका वर्षहरूसँग तुलना गर्दा ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गरिएको छ ।      “यस वर्ष पनि सगरमाथा आरोहणमा ठूला व्यावसायिक टोलीहरू आउने सम्भावना छ । हामीले आधार शिविरमा पूर्वाधार निर्माण तथा आरोहीहरूको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेका छौँ । हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण भएकाले हामी सबैसँग समन्वय गरेर सुरक्षित आरोहणको वातावरण सिर्जना गर्नेछौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो ।      यस्तै, पर्यटन व्यवसायी बलबहादुर दर्नाल मौसम अनुकूल रह्यो भने यो सिजन निकै सफल हुने बताउनुहुन्छ । “हामी यो वर्ष पनि ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गर्दैछौँ । सुरक्षित आरोहणका लागि मार्ग निर्माण, सरसफाइ, वातावरण संरक्षण तथा आवश्यक तयारी गरिरहेका छौँ । यो सिजन पनि सफल हुने विश्वास छ”, उहाँले भन्नुभयो ।       सगरमाथा आरोहणमा संलग्न सबै निकायहरू पूर्ण रूपमा तयारीमा जुटेका छन् । आरोहीहरूको सुविधाका लागि आधार शिविरदेखि माथिल्लो भागसम्म आवश्यक उपकरण, खाद्य सामग्री र सञ्चार सुविधाहरू उपलब्ध गराइँदैछ । स्थानीय शेर्पा गाइडहरूलाई विशेष तालिम प्रदान गरिएको छभने हिमाली वातावरणको दीर्घकालीन संरक्षणका लागि विभिन्न नीति तथा कार्यान्वयन योजनाहरू अघि सारिएको छ ।

काठमाडौं: आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।  “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भन्नुभयो, “प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन÷चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”      बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।  गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।           विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तरराष्ट्रिय उडानतर्फ हवाइजहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए । 

म्याग्दी:  म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् ।  नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।  फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।  “तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उहाँले भन्नुभयो, “आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी ९तारो हान्ने० खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।  घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक वेशभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् । 

काठमाडौं:  नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो ।       कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर  मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो ।  आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो ।       मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको  लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।       प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताउनुभयो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो ।  कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गर्नुभएको थियो ।       कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभएको फन्ट निर्माता कलाकार पौडेलले राससलाई जानकारी दिनुभयो ।        प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहनुभएको थियो ।