पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।   पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला...

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् ।    पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।   संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ (सुमन), र कोषाध्यक्षमा युनिश गुरुङ चयन भए ।   यस्तै सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भए ।    रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।    अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समामार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए ।   समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘समाचारका लागि फोटो अति आवश्यक चिज हो । अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोली पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन्,’ उनले भने, ‘समचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरु एकजुन हुनु आवश्यक छ र रहिरहनेछ ।’   कास्कीका फोटो पत्रकारहरुले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।   नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।   नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । केन्द्रमा भएको फोटो पत्रकार संघ टुटफुट भएपनि कास्कीबाट एकजुटको सन्देश दिनुपर्ने उनले बताइन् ।   कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशिल भएर लाग्न उनको सुझाव थियो ।    संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२/०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए ।   २०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए ।   संघले राजनीति बाहेक, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए ।    पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए ।   वि.सं की २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए ।   त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।   फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ ।   २०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजए कास्कीमा गाम्ने घोषणा गरेका हुन् ।   ‘यति सानो शहरमा फोटो पत्रकारहरुको संस्था किन धेरै बनाउनु छ र?,’ अध्यक्ष गिरीले भने, ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ । आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित गरिएको जानकारी गराउँछु ।’

पाल्पाका किसानहरू यतिबेला खेतबारीमा आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् ।   व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।   एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन् । उनले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्।   “शनिबार र आइतबार दुई दिनसम्म १६/१७ जनाले आलु खन्ने काम भएको छ”, उनले भने, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उनले यस पटक चार क्विन्टल आलु लगाएका छन् ।   उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित छन् । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उनको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गरेका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आएका छन् । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उनले बताए ।   “आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उनले भने ।   उनले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उनी बताउँछन् । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्थे । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थालेका छन् ।   रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उनले व्यावसायिक उत्पादनमा जोड दिएका हुन् । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताए ।   आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उनको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा   आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् ।   यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ ।   रामपुर- ६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहेकी छन् । उनले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राखेकी छन् ।   रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् ।   रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।

म्याग्दी:   बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्।   “तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो”, उनले भने, “अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।”   भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो ।   काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।   “धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ”, योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, “तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।”   उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो ।   रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल ९होल० बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।   काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ ।   काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।   बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताए।   दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उनले बताए । “मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ”, उनले भने, “धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पु¥याएको छ ।”   यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए।   पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पु¥याइएको हो ।   चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए।

गोरखा:  भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्कनुभएका उहाँलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन ।      हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उहाँ बाजुरा पुग्नुभयो । पासाङले बाजुरामा काम त पाउनुभयो तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत जानुभएका उहाँ फेरी कागज उद्योगमै पुग्नुभयो ।  “त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ”, विगत सम्झँदै उहाँले भन्नुभयो । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर छ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो ।       करिब पाँच लाख रूपैँया ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गर्नुभयो । “अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ,” उहाँले भन्नुभयो, “नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ (लोक्ता) काढ्ने थुप्रै हुन्छन् ।”      चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उहाँ बताउनुहुन्छ । “पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्, पासाङले भन्नुभयो, “उनीहरुले पनि प्रतिकिलो रु १५० भन्दा बढी बुझेर फर्कन्छन ।”      गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गर्नुभएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । “धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु”, पासाङले भन्नुभयो ।       जग्गा भाडामा लिएर उहाँले उद्योग सञ्चालन गर्दै आउनुभएको छ । पासङको उद्योगमा बार्षिक १० देखि २० ‘टन’ कागज उत्पादन हुने गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको रु तीन हजार ५०० सम्ममा बिक्री हुन्छ ।  “बजारको मागअनुसार पु¥याउन अझै सकेको छैन, पासाङले भन्नुभयो, “कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो ।”      पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाउनु भएको छ । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उहाँ बताउनुहुन्छ ।

तनहुँ:  भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो ।  भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो ।   नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ ।  “वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु”, नगर प्रमुख त्रिपाठीले भन्नुभयो ।   काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो ।  उहाँका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराउनुभएको छ । ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुुभयो ।  “नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै काम तदारुकताका साथ काम भइरहेको छ”, उहाँले भन्नुभयो । सरकार प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु –२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर रु १० लाख ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो ।  “रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।  भानु नगरपालिका–१  सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकार्नुभयो । पेटी ठेकेदारको रुपमा काम गर्दै आउनुभएका राजेन्द्र पराजुलीले नगर प्रमुुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गर्नुभएको बताउनुभयो ।    ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहनुभएका पराजुलीलाई जिम्मा दिइएको हो । पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।  भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो ।  दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ ।   बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उहाँले बताउनुभयो । वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ ।  चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताउनुुभयो ।  शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उहाँले बताउनुभयो ।  मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द अधिकारीले सडकको दूरावस्ताले दैनिक उपभोग्य सामग्री बजारसम्म पु¥याउन र ल्याउनमै समस्या परिरहेको बेला जनप्रतिनिधिको सहयोगमार्फत सडक निर्माणले गति लिएको बताउनुभयो ।  उहाँले सडक स्तरोन्नतिको लागि दिनरात खटिएपछि कामले गति लिन थालेको बताउनुभयो । “यस वर्ष पानी पर्दा हिलोमा चिप्लिने र नपर्दा धुलोले हैरान भएको बेला कालोपत्रको कामले गति लिन थालेसँगै स्थानीयवासीमा खुसी छाएको छ”, उहाँले भन्नुभयो ।  यस वर्ष समयमा नै सडक निर्माण सम्पन्न भएपछि यस भेगका स्थानीयवासी सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि सहज यात्रा गर्ने आशामा रहेका स्थानीयवासी कालोपत्रको कामले तीव्रता पाएपछि हर्षित भएका हुन् । 

सोलुखुम्बु: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।  राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गर्नुभयो ।  वडाअध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस भन्ने उद्देश्यअनुरुप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।  उहाँले भन्नुभयो, “उहाँ नागरिकता पाउनबाट बञ्चित हुनुभएको रहेछ, जसले गर्दा राज्यबाट पाउने सेवा सुविधाबाट  वञ्चित हुनुभएको रहेछ ।” राईका बुवाआमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताउनुभयो । अत्यन्त न्यून आयस्तर भएका वृद्धाको घर नभएका कारण कटेरामा बस्दै आउनुभएको छ । “उहाँको आफ्नो भन्ने कोही छैन, घरसमेत नभएका कारण सानो कटेरामा बस्दै आउनुभएको छ, यसभन्दा अघि पनि नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी उल्झनका कारण सम्भव भएको थिएन तर यो पटक सिडिओ साबले सहजीकरण गर्दिनुभयो नागरिकता दिलाउन सम्भव भयो ।” वडाध्यक्ष राईले भन्नुभयो । गोटाल मनिका एक छोरा छन् ।  बावुको पत्ता नलागेका उक्त छोराको नागरिकता बनाउनसमेत आमाको नागरिकता आवश्यक पर्ने भएकाले वडा कार्यालयको पहलमा नेपाली नागरिकता दिलाइएको स्थानीयले बताए । विसं २०१३ साल असार १७ गते जन्ममिति रहेको राईको आर्थिक अवस्था अत्यन्त कम्जोर छ । 

सिन्धुली: सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर शहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त । चिया पसलकै एउटा कुनामा भेटिनुभयो पुजन बस्नेत ।      उहाँ तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुनुहुन्छ । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी)मा स्नातक गर्नुभएको छ । उहाँसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर सीप अनुसारको काम र कमाइ छैन ।       बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गर्नुभयो । तर लगानीको अभावले सम्भव भएन । बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो ।      उहाँले भन्नुभयो, “लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन । त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु ।” रोजगारीका लागि विदेशिने निर्णय उहाँको रहर नभएर बाध्यता हो । त्यसो त उहाँले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिनुभएको थियो । १५ पटक परीक्षा दिनुभयो । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन ।       हुन त पुजनले जिल्लास्थित एक संस्थामा काम गरिरहनु भएको छ । तर श्रमअनुसारको पारिश्रमक नपाउँदा उहाँमा नैराश्यता छाएको छ । विहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उहाँको गुनासो छ ।       यो केवल बस्नेतको कथा मात्र होइन । उहाँ जस्ता धेरै युवाहरु यही बाध्यताले विदेशिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् ।       बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा हुनुहुन्छ । उहाँ पढाइलाई निरन्तरता दिने वा  अधुरै छाड्ने भन्ने अन्योलमा हुनुहुन्छ । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भन्नुभयो ।       सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन् । उनीहरूसँग कुराकानी हुन्छ । विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ ।      पुजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् ।       जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ । आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् ।       वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा वर्षेनी १० हजार युवा जिल्लाबाट विदेशिएका छन् ।       वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेशिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भएपनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन ।       सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भइ फर्किएका छन् । यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ ।       नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन । 

काठमाडौं:  हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

काठमाडौं:  काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् ।      काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ की महिला यही फागुन २४ गते बिहान ११।५० बजे मृत फेला परेकी थिइन् ।  प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।      प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको सङ्लग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजलाई जिल्ला प्रहरी परिसर काठमाडौँसमेतको प्रहरी टोलीले पक्राउ गरेको थियो ।  आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।