पर्सा: वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ । चौध वर्षदेखि डढेलोबाट जोगाउँदै आएको मुलुकभरकै उत्कृष्ट सामुदायिक वनलाई यस वर्ष पनि कसरी जोगाउने भन्ने चिन्ताकै कारणले उहाँ थप जिम्मेवारी बढेको अनुभव गर्नुहुन्छ । “वसन्त ऋतु आयो कि त हामीलाई हाम्रो सामुदायिक वन कसरी जोगाउने भन्ने चिन्ताले सताउने गर्छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म त उपभोक्ता समूहका सदस्य र वन हेरालुको संयुक्त प्रयासकै कारण सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेका छौँ ।” अध्यक्ष मोक्तानले जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५९ जना सदस्यमध्ये हिउँद्यामको तीन महिना दैनिक १५ जनालाई आलोपालो गरेर गरेर वन जोगाउनका लागि खटाउँदै आइरहनुभएको छ । त्यति मात्रै होइन, सब–डिभिजन वन कार्यालय निजगढ र उपभोक्ता समूहले राखेका अन्य आठ कर्मचारी पनि वन जोगाउन अहोरात्र खटिँदै आइरहेका छन् । “सामुदायिक वनमा आबद्ध प्रत्येक घरधुरीबाट आलोपालो रुपमा मान्छे आएर सामुदायिक वनमा अग्निरेखा ‘फायरलाइन’ बनाउनेदेखि वनको चोरी–तस्करी नियन्त्रणमा सहयोग गर्दै आइरहनुभएको छ,” अध्यक्ष मोक्तानले भन्नुभयो, “मेरो एक्लो प्रयासले मात्रै त ३८७ हेक्टर क्षेत्रफलको वन जोगाउन कहाँ सकिन्थ्यो होला र ! सबैको सहयोग र सद्भावको कारणले मात्रै यो सम्भव भएको हो ।” वन तथा भूसंरक्षण विभागले २०८१ साउन २५ गते सामुदायिक वन दिवसका अवसरमा मुलुकभर रहेका सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्ने उपभोक्ता समूहमध्येबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पनि यस वन उपभोक्ता समूहले रु एक लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो । उपभोक्ता समितिमा आबद्ध सदस्यले अपनत्व लिएकै कारणले अहिलेसम्म सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेको अध्यक्ष मोक्तान बताउनुहुन्छ । “अहिलेसम्म उपभोक्ता सदस्यहरुले निकै माया गरेर डढेलोबाट जोगाउँदै आइरहनुभएको छ,” उहाँले भन्नुभयो, “वनको गौंडागौंडामा समूहमा आबद्ध भएका स्थानीयको सुरक्षा दस्ता खटाएर अहिलेसम्म वन जोगाउँदै आइरहेका छौँ ।” निजगढ सब–डिभिजन कार्यालयका प्रमुख निरज पोखरेल समुदायले वन संरक्षणमा सक्रियता देखाएकै कारणले वनजङ्गल संरक्षणमा सहजता आएको बताउनुहुन्छ । ‘‘समुदायले चाहने हो भने नसिकिने केही नहुँदो रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘यहाँको संरक्षणका उपाय अन्य सामुदायिक तथा साझेदारी वनले अपनाउँदा राम्रो हुने गर्छ ।’’ जनज्योति सामुदायिक वन तीन सय ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँका समुदायले सकेसम्म वनजङ्गलमा आगजनी हुनै नदिने, यदि भइहालेमा पनि तत्कालै आगो निभाएर वन संरक्षणमा ध्यान दिने योजनासहित काम गर्दै आइरहेको छ । डढेलोबाट जोगाउन थालियो पूर्वतयारी मधेस प्रदेशमा आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारी थालिएको छ । हिउँद्याममा सम्भावित आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीको कामलाई तीव्रता दिँदै आइरहेको छ । मधेस प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले हिउँद्याममा सम्भावित वन डढेलो तथा आगजनीबाट जोगाउन पूर्वतयारीका काम अघि बढाइएको जानकारी दिनभयो । “हिउँद्याममा मधेस प्रदेशका वनजङ्गलमा डढेलो तथा आगजनीका दुःखद घटना हँुदै आइरहेका छन् । आगजनीको कारणले नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गरेका छन्,” उहाँले भन्नुभयो, “विगतका डढेलोका घटनाको पाठ सिक्दै यो वर्ष हामीले मधेस प्रदेशमा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीका कामलाई द्रूत गतिमा अघि बढाउँदै आइरहेका छौँ ।” प्रदेश वन निर्देशक जयसवालले यस वर्ष डढेलो नियन्त्रणका लागि सङ्घीय र प्रदेश सरकार दुवैको समन्वयमा पूर्वतयारीको काम भइरहेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले ‘रेड’ कार्यान्वयन र समृद्धिका लागि वन कार्यक्रमले पनि सम्भावित डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था मिलाउनुभएको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि वार्षिक स्वीकृत बजेट तथा कार्यक्रममा राखेर डढेलो नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आइरहेको छ ।” मधेस प्रदेशको करिब दुई लाख दुई हजार २०२ हेक्टर क्षेत्र वनले ओगटेको छ । जुन प्रदेशको कुल क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वन क्षेत्रले ओगट्ने गर्छ । कुल वन क्षेत्रमध्ये ७१ हजार ३६९ हेक्टर क्षेत्रमा ५०४ वटा सामुदायिक वन रहेका छन् । त्यस्तै, ४० हजार ९१२ हेक्टर वन क्षेत्रमा १६ वटा साझेदारी वन क्षेत्र पर्दछ । निर्देशक जयसवालले वन क्षेत्रको मुख्य विनाशको कारकका रुपमा आगजनी, अतिक्रमण र चरिचरन रहेको बताउनुभयो । “जब जङ्गलमा आगजनी हुने गर्छ । तब जङ्गलमा भर्खरै उम्रेका नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गर्छ,” उहाँले भन्नुभयो । त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले वनजङ्गलमा भएका सुकेका काठदाउरा, पत्करको उचित व्यवस्थापन नहुँदा वनजङ्गलमा आगजनी हुने बताउनुहुन्छ । “वनजङ्गलमा भएका सुकेका काठदाउराको समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “तिनै सुकेका रूख, काठ, पत्कर, झाडीले झनै आगोलाई प्रज्वलनशील बनाउन मद्दत पु¥याउने काम गर्छ । त्यसैले वनजङ्गलमा हुने पत्कर तथा सुकेका काठलाई तत्कालै हटाउनुपर्ने हुन्छ ।” सङ्घीय सरकारले पनि हिउँद्याममा वनजङ्गललाई डढेलोबाट जोगाउनका लागि रेड कार्यान्वयन केन्द्र काठमाडौँबाट प्रत्येक जिल्लामा पाँचजना वन कर्मचारीलाई करिब रु १८ हजार दिएर आगो निभाउने दस्ताका रुपमा परिचालन गरेको बताइएको छ । ‘समृद्धिका लागि वन’ कार्यक्रमले पनि आगजनी नियन्त्रण र न्यूनीकरणका लागि विभिन्न स्थानमा आगो निभाउनका लागि ट्र्याक्टर, टिलर समेतको ट्याङ्करको पनि व्यवस्था गरेको छ । केन्द्रबाट पनि कुनै पनि ठाउँको वनजङ्गलमा आगजनी भएको खण्डमा तत्कालै सूचना सम्प्रेषण गर्ने प्रणालीको पनि विकास गरेको छ । सो जानकारीका आधारमा तत्कालै वन डढेलो रोकथाम गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । निर्देशक जयसवालले वनजङ्गलमा हुने डढेलो तथा आगजनी नियन्त्रणमा खटिने सुरक्षाकर्मी, वनरक्षक, वनहेरालुलगायत सबै कर्मचारीको बिमाको समेत प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । “मधेस प्रदेश सरकारले पनि वार्षिक स्वीकृत कार्यक्रम पनि डढेलो नियन्त्रण सम्बन्धित कार्यक्रम समावेश गरेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार आफैँले पनि अग्नि नियन्त्रकका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान तथा उपकरण उपलब्ध गराउँदै आइरहेको छ ।” गत वर्ष सबैभन्दा धेरै आगजनी महोत्तरी र सर्लाही जिल्लामा भएको थियो । डढेलोबाट जोगाउन पूर्वसतर्कता अपनाइँदै मधेस प्रदेशको आठ जिल्लामध्ये पर्साले पनि डढेलोजन्य विपद्बाट जोगाउनका लागि पूर्वतयारीको काम अघि बढाउँदै आइरहेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले कार्यालयले भर्खरै बढ्नियारमा दुईदिने डढेलो नियन्त्रण र व्यवस्थापनसम्बन्धी तालिम गरेको बताउनुभयो । “डिभिजन वन कार्यालयका वनरक्षक, वनहेरालु, रेञ्जर, फरेष्टरलगायत ५०÷६० सहभागी राखेर तालिम दिइसकेका छौँ,” उहाँले भन्नुभयो, “वनजङ्गलमा आगजनी भइहालेको खण्डमा तत्कालै नियन्त्रण गर्नका लागि सहज हुने आशा गरेका छौँ ।” डिभिजन वन कार्यालय पर्साले रेञ्जरको नेतृत्वमा १० सदस्यीय दू्रत वन दस्ता ‘¥यापिड रेस्पोस्ड टिम’ बनाएर तयारी अवस्थामा राखेका छ । सो दस्तालाई पर्साको रङ्गपुर सब–डिभिजन वन कार्यालयमा राखिएको छ । “पर्सा जिल्लाको वनमा रहेका वनपथहरुलाई सफा गर्ने र छुट्याउने काम काम भइरहेको छ,” उहाँले भन्नुभयो, “आगजनी हुनु अगावै वनपथ क्षेत्र सफा गर्दा पनि धेरै हदसम्म आगजनी नियन्त्रण गर्न सहयोग पुग्छ ।” डिभिजन वन कार्यालयले वनजङ्गल आसपासका स्थानीय समुदायमा पुगेर आगजनीबाट हुने क्षति र नोक्सानीको विषयमा पनि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
नेपालगन्ज: पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ । त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ । चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रू पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रू एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ । जसमध्ये, कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रू छ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ । सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रू नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।
काठमाडौं: समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्र्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ । “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ”, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भन्नुभयो । बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताउनुभयो । “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उहाँले रासससँग भन्नुभयो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
म्याग्दी: खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले भन्नुभयो, “आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो । खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।” आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।
पोखरा महानगरपालिका २९ भण्डारढिकमा जारी दोस्रो नेकोस कप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ । शनिबार हुने फाइनल खेलमा उपाधिका लागि आयोजक सूर्य तारा क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका हुन् । उक्त खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए । उनका अनुसार गन्नी एफसीले डिफेन्डिङ च्याम्पियन एलसी ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै आयोजक सुर्य ताराले विष्णु पादुका क्लब हेमजालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको च्याम्पियन बन्ने टिमले नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । भने, उपविजेता टिमले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले नगद रु १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँसहित पुरस्कृत बन्नेछ । खेल महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको आयोजकले जनाएको छ ।
पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे । डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेका थिए । होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए । अन्तिम समयमा कार्यक्रम हुने स्थान बाराही घाटबाट कोमागाने पार्क सार्नु परेपनि दर्शकको साथले कार्यक्रम सोचेभन्दा धेरै सफल भएको उनको भनाइ थियो । करिब सात घण्टा चलेको कार्यक्रमको होस्ट यकिन गुरुङ थिए । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेका थिए । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो । अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए
म्याग्दी: मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो । मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ । “हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भन्नुभयो, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।” अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गर्नुभएको छ । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्यौली जग्गा छ । सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आउनुभएको थियो । कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो । केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ । आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ । “देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भन्नुभयो, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”