मुस्ताङ: दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ। तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो। कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकिरहेको छैन। श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजन बताउँछन्। वि.सं. २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पुर्याएको थियो। उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौंको भौतिक क्षति पुर्याएको थियो। जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताए। उनका अनुसार कागखोलाको धारलाई नियन्त्रणमा राखिए पनि श्राद्धस्थलको भौतिक संरचना दिगो रूपमा व्यवस्थापन हुन सकिरहेको छैन। यसैबीच, शनिबार यहाँ श्राद्ध गर्न आउनुभएकी म्याग्दीको बेनी नगरपालिका–९ का ५३ वर्षीया सीता शर्मालाई कालीगण्डकी नदीले बगाएको छ। कागखोला र कालीगण्डकी नदीको दोभानमा स्नान गरिरहेको बेला उनलाई अचानक चिप्लिँदा करिब ६० मिटर तलसम्म खोलाले बगाएको थियो। चिप्लिएर खोलाले बगाएपछि उनको उद्धारका लागि गएका अर्का एकजनालाई पनि कालीगण्डकी नदीले केही तलसम्म बगाएपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएपछि शर्माको सकुशल उद्धार गरिएको जानकारी दिए। यहाँको श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चाँसो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुःखेसो गरे। कागबेनीमा बाढीले क्षति पुर्याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उनले जोड दिए। ‘अहिलेसम्म समिति र स्थानीयवासीको सहयोगमा स्थानीयस्तरबाट अस्थायी व्यवस्थापन र संरक्षण गर्दै आइरहेका छौँ, हामीसँग सीमित स्रोतसाधन भएकाले दीर्घकालीन संरक्षण र व्यवस्थापन सम्भव छैन’, अध्यक्ष गुरुङले भने, ‘कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा सरकारले दीर्घकालीन समाधानसहित योजना अघि बढाउनु पर्दछ। यहाँ लाखौँ भक्तजन आउने भएकाले यस क्षेत्रलाई जोखिममुक्त गराउनु जरुरी छ।’ अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताए। श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उनले जोड दिए। बर्सेनि बर्खायाममा कागखोला र कालीगण्डकीले धार परिवर्तन गर्दा यहाँको श्राद्धस्थल र स्नानस्थलको भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ। यसैबीच, समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने भक्तजनलाई स्नान र श्राद्ध गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ।
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका उनले बताए। घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि प्रनिल रानाभाटले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु ६१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद रु ३१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई उचित पुरस्कारको व्यवस्था रहेको रानाभाटले बताए । उनका अनुसार टिम दर्ता फोनमार्फत (९८१४१९८१०४, ९८०५८७१४१६) पनि गर्न सकिनेछ भने, टिम दर्ता शुल्क नगद रु ४ हजार ५ सय निर्धारण गरिएको छ ।
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। बिहान ५:५५ बजे खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको प्रहरीले जनाएकाे छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको पोखरामा आयोजित तेस्रो महाधिवेशनमा प्रमुख अतिथि भट्टले मानवीय सेवामा समर्पित पवित्र मन भएका व्यक्तिहरु आबद्ध रहेको लायन्स क्लबले गरेको सामाजिक कार्यहरूको प्रशंसा गर्नुभएको हो । ‘भूकम्प, बाढीपहिरोजस्ता समस्याले ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्दै आएका छन् । त्यसमा लायन्सको भूमिका पनि अग्रणी रहेको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । लायन्स क्लबको मुख्य उद्देश्य नै समाजसेवा रहेको भन्दै उहाँले स्वयंसेवी व्यक्तिहरु निर्माण गर्न लायन्सको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । ‘समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्स जस्ता सामाजिक संस्थाले सानो उमेरदेखि नै स्वयंसेवी भावना पैदा गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘सामाजिक सेवामा लाग्ने व्यक्तिको मूल्यांकन भावी पुस्ताले पनि गर्दछ । जसले समाजमा योगदान पु¥याउँछ, निश्चय नै समाजले त्यो व्यक्ति/संस्थाको मूल्यांकन उच्च रुपमा गर्ने गर्दछ ।’ मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले हरेक मानिसलाई आफ्नो र परिवारसँगै समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने भावना जागृत गराउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको बताउँदै उहाँले यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने अवसर एवं सम्भावना र नेतृत्व निर्माण गर्नका लागि थप अवसर सिर्जना गरेको बताउनुभयो । सन् १९१७ मा अमेरिकाको शिकागो शहरमा स्थापित लायन्स अन्तर्राष्ट्रिय १०८ वर्ष लागिसकेको छ । नेपालमा पनि ५४ वर्ष पूरा भएको परिप्रेक्ष्यमा १५ वटा डिस्ट्रिक्ट अन्तर्गत २१ सय भन्दा बढी क्लब र ४४ हजार सदस्य आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत देशभर १४० क्लब र ३५ सय बढी सदस्य छन् ।
पोखरामा ‘कार मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा शनिबार पोखरामा मोटर र्याली आयोजना गरिएको हो । पोखरा रंगशालाबाट र्याली सुरु भएको थियो । गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले फ्ल्याग अफ गरी र्यालीको उद्घाटन गरे । र्यालीमा ५२ वटा गाडीमा १५० जना सहभागी भएको वाडाका वरिष्ठ उपाध्यक्ष एवं र्याली कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए । र्याली पृृथ्वीचोक, मुुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, बसुुन्धारा पार्क, वाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, विन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुुख, तेस्रापट्टी, महेन्द्रपुुल, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युुरोड, चिप्लेढुंगा, महेन्द्रपुुल, रानीपौवा, हस्पिटलचोक हुँदै र्याली अमरसिंहचोक मैदानमा पुगेर समापन भएको हो । र्यालीमा पुरुषतर्फ शोवितमान बुद्धाचार्य प्रथम, सुमन बिजुक्छे दोस्रो र सुनिल श्रेष्ठ तृतीय भएका छन् । महिलातर्फ तिसा जोशी प्रथम, रोमिका बुद्धाचार्य दोस्रो र शोभा केसी तृतीय भएकी छन् । नाडा र वाडासहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नासा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर र्याली आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विन्दुकुमार थापाले पोखरामा अटो शो आयोजना हुनु राम्रो पक्ष रहेको बताए । विशेष अतिथि नाडाका निबर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले पोखरामा अटो शो आयोजना गर्दा अटो क्षेत्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला, वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसी लगायतले बोलेका थिए । चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ । अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने संयोजक निरन केसीले जानकारी दिए ।
काठमाडौँ: गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ । मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रुपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले सङ्गन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उनले जानकारी दिए ।
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । ‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ जल तथा ऊर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्य भएकाले प्रविधिको प्रयोग गरेर पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार लागेको बताए । मौसमसम्बन्धी देशको पूर्वानूमान प्रणालीलाई सबल बनाउन ‘राडार तथा सेटेलाइट’ प्रविधिको प्रयोगलाई सरकारले विस्तार गरिरहेको बताउँदै उनले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्वसूचना सेवा विस्तार गरिएको जानकारी दिए । मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा च्छोरोल्पा र इम्जा हिमतालको जलस्तर घटाउने काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै यस्ता कार्यले हिमतालजन्य बाढी जोखिम न्यूनीकरणमा सहयोग पुगेको उल्लेख गरे । मुलुकका जलविद्युत् परियोजना, सिँचाइ योजना र दैनिक उपभोगका लागि उपलब्ध पानीको स्रोतको मुख्य आधार हिमनदी भएकाले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्दै हिमनदीहरूको संरक्षण, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जोखिम घटाउनु सरकारको पहिलो प्रमुख प्राथमिकता भएको बताए । जल तथा मौसम विज्ञान सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था नभएकामा मन्त्रालयको नेतृत्वमा जल तथा मौसम विज्ञान नीति, २०८१ त लागू गरिएको मन्त्री खड्काले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसम विज्ञान विभागको सेवालाई विस्तार मन्त्रालयको प्राथमिकता हो भने । आयोगका सचिव मधुप्रसाद भेटुवालले जल तथा मौसम सेवा, जलवायु अनुकूलन र हिमनदी संरक्षणको क्षेत्रमा सरकारले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको बताए ।