झापा:   खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।  झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियो...

काठमाडौँ:   ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् ।   त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे ।   त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।   इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे ।   स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए ।   नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए । नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।

राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो । सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।   सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।   विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।

गलकोट:   दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरवाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी–बरेङ सडकमा निर्माण व्यवसायीबाट चरम लापरवाही इएको तथा तिहारपछि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने चेतावनी उहाँले दिनुभयो । पूर्वाधार विकास कार्यालयसँग २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी शर्मा क्याराभानसँग ठेक्का सम्झौता भएको थियो । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुरसँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । निर्माण व्यवसायीलाई अन्तिम पटकलाई आगामी असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताउनुभयो । कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि सडक कालोपत्र नहुँदा सास्ती भएको हो । “रु २४ करोड ५८ लाखमा दुई वर्षमा काम पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो”, देवकोटाले भन्नुभयो, “तिहारपछि पुनः पत्र पठाउँछौँ, काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ ।”

देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध छ ।

त्रिशूली:   लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ । निजको ग्रिनसिटी अस्पताल काठमाडाँैमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उहाँले बताउनुभयो ।

स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् । स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी)ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् । बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ । क्यास्टिला–ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् ।   अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्युसङ्ख्या अझै बढ्नसक्ने बताएका छन् ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।   निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।   मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्घन गर्नका लागि राजविराज महोत्सव, २०८१ आजदेखि सुरु भएको छ ।   सप्तरीको राजविराजस्थित राजरङ्गशाला (खेलमैदान) मा सुरु भएको उक्त महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले उदघाटन गर्नुभयो ।   सो अवसरमा उहाँले महोत्सवले सांस्कृतिक, पर्यटन, कृषि, व्यापार प्रवद्र्घन र आर्थिक समृद्घिका लागि टेवा पु¥याउने विश्वास व्यक्त गर्नभयो । महोत्सवमा उदेश्यअनुसारका कार्यक्रम गर्न आयोजकलाई सुझाव दिँदै उहाँले सप्तरीको राजविराज नगरक्षेत्रको विकास गर्न आफू सबै पक्षसँग समन्वय गरी अगाडि बढिने बताउनुभयो ।   ड्रिम नेपाल युवा सङ्घ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा सुरु भएको उक्त महोत्सवमा स्थानीयस्तरका विभिन्न कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकलालगायतका सरसामान बिक्री हुनेगरी ४० वटा कक्ष राखिएका छन् । महोत्सवमा बालबालिकाका लागि बालउद्यान र युवाको मनोरञ्जनका लागि विभिन्न खेल र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ड्रिम नेपाल युवासङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले बताउनुभयो ।   महोत्सवमा मैथिली चित्रकला प्रदर्शनी पनि आकर्षणको केन्द्र रहेको छ । पाँच वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।   राजविराज महोत्सव यही कात्तिक २५ गतेसम्म चल्ने छ ।

अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् ।   बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उहाँका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।   घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ ।   घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।