पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।   पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला...

गण्डकी:  पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यतिबेला स्तरोन्नतिको चरणमा छन् । पोखरा–मुग्लिन सडक, पोखरा–लमजुङ सडकअन्तर्गत तालचोक–बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड कालोपत्र हुने भएको छ ।       पोखरा–मुग्निल सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ४३।३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार हालसम्म २९.४७ किमि सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किमिमा दुईतर्फी र १४.१५ किमिमा एकतर्फी कालोपत्र भइसकेको छ ।  “तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।” चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा पर्ने सडक स्तरोन्नति भइरहेको इन्जिनियर नेपालले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उहाँले बताउनुभयो । कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको छ । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिनुभयो । वियजपुर खोला र सेती नदीमा पुल निर्माण सँगसँगै भइरहेको उहाँको भनाइ छ । ३८.८८ किमि दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।  चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।  कूल ४१.४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।  पोखरादेखि रुपा गाउँपालिका हुँदै लमजुङ जोड्ने सडकअन्तर्गत पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको उक्त सडक विश्व बैङ्कको सहुलियत ऋणमा बन्न लागेको हो ।  कूल ३।२८ किमिको उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले बताउनुभयो ।  निर्माण कम्पनी ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु गरेको थियो । रु एक अर्ब ४९ करोडको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने उहाँको भनाइ छ ।  सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् । सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताउनुभयो ।  इन्जिनियर नेपालले आगामी असारसम्म उक्त सडक कालोपत्र गर्ने लक्ष्य लिइएको बताउनुभयो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत हरिचोक–याम्दी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।   पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका अनुसार कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइसकेको छ । करिब २२ सय मिटर दुरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।  चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायतका काम सकिएको जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो ।  निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड समयमा निर्माण नहुँदा लोकमार्गको यात्रा सास्तीपूर्ण बनेको थियो ।  विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो । एकसाथ तीन ठूला सडक निर्माणका क्रममा रहेकाले पर्यटकीय राजधानी पोखराको यातायात सेवा केही असहज भने बनेको छ ।

तनहुँ:  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए । 

सुर्खेत: तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।       कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो ।      हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।       ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताउनुभयो ।       यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौँ परीक्षण उडान सम्पन्न गरेको छ । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ । यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।      उहाँका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गर्नुभएको हो । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो ।       सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताउनुभयो । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उहाँले उल्लेख गर्नुभयो ।       यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिनुभयो । उहाँले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राख्नुभयो ।       यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ ।  कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर       सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।      सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् ।

लुम्बिनी:   विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।  धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो ।   नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताउनुभयो ।  यसैगरी कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्रचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताउनुभयो ।  सकियो त्रिपिटक पाठ बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।   त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गर्नुभयो । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गर्नुभयो । उहाँले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताउनुभयो ।  कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले यहाँ आउदा बुद्धलाई साक्षात् भेटेजस्तो हुने बताउनुभयो ।   कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान् बुद्धको उपदेश वैज्ञानिक र समयसापेक्ष रहेको बताउनुभयो । उहाँले बुद्धका उपदेशलाई चार दिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकारात्मक ऊर्जा पैदा गरेको बताउनुभयो ।   यस्तै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्ध शिक्षालाई अन्तरराष्ट्रियकरण गराउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो ।  कार्यक्रममा इन्टरनेसनल त्रिपिटक च्यान्टिङ कमिटीका संस्थापक उपासिका वाङ्मो डिक्सीले बुद्धको उपदेश लुम्बिनीमा बसेर पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धि भएको बताउनुभयो ।   कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी होटल व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मालगायतले बुद्धका उपदेश विश्वभर फैलाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।  उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरूलाई सम्मान पनि गरिएको महासङ्घका प्रचार संयोजक भिक्षु बिमलो महास्थविरले जानकारी दिनुभयो । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा सङ्ग्रहित गरिएको छ । त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित चार सय बढीको सहभागिता थियो ।

मनाङ: मनाङको माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि  किसानमा खुसी  थालेका छन्  । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ ।  पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको  छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् ।  हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताउनुभयो ।  “हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ”, उहाँले भन्नुभयो, “पानीको काम नै हिउँले गर्छ ।” हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।   यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।  किसान सेराप विष्टले मुहानमै पानी जम्ने हुँदा वैकल्पिक तरिकाबाट सिँचाइ गर्न नसकिने बताउनुभयो । “पानीको मुहान लामो दूरीमा हुन्छ, सीमित आयोजनाले पूरा गर्न सक्दैन, धेरै समस्या रहेको छ”, उहाँले भन्नुभयो । ढिला गरी परेको हिउँले स्याउखेती, तरकारी तथा खाद्यान्न उत्पादनमा सहयोग गर्ने उहाँले बताउनुभयो ।  हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि लोभिन थालेका पर्यटक बताउँछन् । यतिबेलाको समयमा पर्यटक आउनुपर्ने उनीहरू बताउँछन् । समयमा हिमपात भइरहेको अवस्थामा सेताम्मे देखिने हिमालले अझ पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् ।    जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ । दुई याम गरी मनाङमा पर्यटक घुम्न आउने गर्छन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।  पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा निस्कन्छन् । लामो दूरीको पदयात्रामा अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्छन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

म्याग्दी: धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ ।  धवलागिरि गाउँपालिकाले  रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो ।  गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो । धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।  छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ ।  गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताउनुभयो । पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन् । दरगाउँ सडक सञ्जालमा जोडियो  यसैगरी धवलागिरि गाउँपालिका–३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन् ।  गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना–मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका–३ का प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो । सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन् । आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुुजन्य वस्तु निकासीमा सहज भएको छ । दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु पाँच लाख, २०८०÷८१ मा रु १३ लाख र चालु आव २०८१÷८२ मा रु १० लाख विनियोजन गरेको थियो ।

पोखरा:  गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ ।  समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए ।  यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए ।  नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसीबारे प्रशिक्षण दिएका थिए ।    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् ।   गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।  सडकमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।   

पोखरा:  पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले जितेको छ ।  मनोहर युवा क्लबको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो ।  जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सान्त्वना भएको वडा नम्बर २१ र २३ ले २०/२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।    प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै उत्कृष्ट स्पाइकर नरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए  । उनीहरुले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो ।   पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । 

तनहुँ:  सूर्य नेपाल प्रालिले यहाँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो । दुई पालिकालाई रु २६ लाख मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिनुभयो ।  नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने बताउनुभयो ।  किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने भएकाले व्यावसायिक कृषि उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभएको छ ।   नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिँदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताउनुभयो ।  उहाँले गाउँगाउँमा रहेको सामुदायिक भवनलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरी कृषि उपज बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने  बताउनुभयो ।