काठमाडौं: ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ । यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि अग्रसरता देखाएको छ । अनुमति नलिई वाकिटकीलगायत रेडियो उपकरणहरू आयात, बिक्री–वितरण भएको पाइएपछि विभागले हालै तत्कालका लागि प्रयोग बन्द गरी लाइसेन्स लिन आग्रह गरेको छ । वाकिटकीको प्रयोग गर्दा अनुमति लिने प्रक्रिया झन्झटिलो भएकाले अधिकांशले अनुमति नलिई प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् । सूचना विभागअन्तर्गत प्रसारण शाखाका निर्देशक डा सुवोध नेपाल पनि नेपालमा वाकिटकीको प्रयोगका लागि अनुमति प्रक्रिया सहज नभएको स्वीकार्र्नुहुन्छ । “अनुमतिबिना वाकिटकी प्रयोग गर्न पाइँदैन । यसका लागि केही प्रक्रिया पूरा गरेपछि मात्रै अनुमति पाउने व्यवस्था छ तर प्रक्रिया भने लामो छ । जे भए पनि अनुमति त लिनुप¥यो नि”, उहाँले भन्नुभयो । निर्देशक डा नेपालका अनुसार वाकिटकीको प्रयोग सुरक्षासँग पनि सम्बन्धित भएकाले जिल्ला प्रशासन कार्यालय वा गृहमन्त्रालयलगायतको सिफारिस आवश्यक पर्ने हुँदा अनुमति प्रक्रिया लामो भएको हो । झन्झटिलो प्रक्रिया विसं २०७९ असोजमा वाकिटकी प्रयोगका लागि सूचना तथा प्रसारण विभागसँग अनुमति माग गरेको एक स्थानीय तहले केही समयअघि मात्रै उपकरण खरिद गर्न अनुमति पायो । स्थानीय तहको काम कारबाहीलाई चुस्त बनाउन यसको प्रयोग माग गरिए पनि झन्डै साढे दुई वर्षपछि यही फागुन १५ गते मात्रै अनुमति प्राप्त भएको हो । अब उपकरण खरिद गरेपछि विभागले प्राविधिक परीक्षण गरेपछि मात्रै त्यसको प्रयोग गर्न पाउने विभागको पत्रमा भनिएको छ । वाकिटकीको प्रयोग कानुनी रूपमा सहज नभएको लामो समयदेखि वाकिटकीको व्यवसाय गरिरहेका डिकेड इन्टरनेसनलका सञ्चालक विवि ढकाल बताउनुहुन्छ । उहाँका अनुसार वाकिटकी प्रयोगका लागि कानुन भए पनि प्रक्रिया झन्झटिलो छ । “विकट ठाउँहरूमा यो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो तर प्रयोगमा सहजता छैन”, ढकालले भन्नुभयो, “खासगरी पर्वतारोहण र जलविद्युत् आयोजनाका लागि यो प्रभावकारी मानिएको छ ।” विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्र, जलविद्युत्लगायत आयोजना निर्माणमा वाकिटकीको प्रयोग प्रभावकारी बनेको छ । ढकालले भनेजस्तै हिमाल आरोहण गर्नेका लागि यो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो भने जलविद्युत्लगायत आयोजनामा काम गर्नेका लागि यो एक मात्रै साधन हो । “हामीकहाँ अहिले दुईवटा ‘फ्रिक्वेन्सी’मा वाकिटकीको प्रयोग भइरहेको छ । निश्चित फ्रिक्वेन्सीलाई वाकिटकीको प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने हो भने समस्या हुँदैन”, उहाँले भन्नुभयो, “अहिले एउटै फ्रिक्वेन्सी सुरक्षा निकायलगायत सबैले प्रयोग गर्नुपर्दा समस्या भएको हो, फ्रिक्वेन्सी छुट्याउँदा यस्तो हुँदैन ।” वाकिटकी रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने भएकाले रेडियो यन्त्रहरूको आयात, बिक्री–वितरण, आफूसँग राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्छ । हाल सुरुमा रु दुई हजार बुझाएर वाकिटकी प्रयोग गर्न पाइन्छ भने प्रत्येक वर्ष नवीकरणका लागि रु एक हजार बुझाउनुपर्छ । “वाकिटकी प्रयोगका लागि जिल्ला प्रशासन अधिकारी ९सिडिओ०मार्फत सिफारिस लिनुपर्ने अवस्था छ तर उहाँहरूले पनि यसलाई जिल्ला सुरक्षा समितिमा छलफल गर्नुपर्ने विषय बनाएपछि कतिपय अत्यावश्यक ठाउँमा सहजै वाकिटकीको प्रयोग गर्न नपाइने अवस्था छ”, व्यवसायी ढकालले भन्नुभयो । वाकिटकीको प्रयोग मोबाइल तथा अन्य सञ्चार साधनको तुलनामा निकै सहज हुन्छ । यो छिटो र प्रभावकारी पनि हुन्छ । मोबाइलको ‘कभरेज’ राम्रो नभएको स्थानमा सञ्चार सम्पर्कका लागि वाकिटकीको विकल्प छैन । “त्यति मात्रै होइन, कुनै पनि कार्यक्रम गर्नका लागि, सेक्युरिटी कम्पनी, होटल तथा रेष्टुरेन्टमा पनि यो अत्यावश्यक भइसकेको छ । सरकारले यसको प्रयोगसम्बन्धी कार्यविधिमा सहजीकरण गर्ने हो भने यसबाट धेरैले लाभ लिन सक्छन्”, जानकारहरूले भन्ने गरेका छन् । अझ विपद्को समयमा सञ्चारका लागि वाकिटकी सबैभन्दा प्रभावकारी साधन बनेको विभिन्न घटनाक्रमले पुष्टि गरेको ढकालको भनाइ छ । पर्वतारोहणमा महत्वपूर्ण मानिने भए पनि ट्राभल एजेन्सीले सहजै अनुमति नपाउने अवस्था छ । यद्यपि विदेशी पर्वतारोहीका हकमा भने अस्थायी अनुमति दिने गरिएको छ । सूचना विभागका निर्देशक डा नेपाल पनि विदेशी नागरिकलाई निश्चित शुल्क तिरेर आवश्यक प्रयोजनका लागि वाकिटकीको प्रयोग गर्न दिने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार वाकिटकी खरिदबिक्री वा प्रयोग दुवैका लागि अनुमति लिनुपर्छ तर पछिल्लो समय नेपालमा अनुमतिबिना लुकाईछिपाई ल्याएका वाकिटकीको प्रयोग पनि बढेको छ । रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ मा विदेशी नागरिकलाई कुनै पनि रेडियो यन्त्र राख्न तथा प्रयोग गर्न पाउने गरी लाइसेन्स दिँदा उल्लिखित दस्तुरको चार दोब्बर परिवत्र्य विदेशी मुद्रा लाग्ने उल्लेख छ । साथै विदेशी नागरिक वा संस्थाले अस्थायी रूपमा पर्वतारोहण, पैदलयात्रा, चलचित्र छायाङ्कन आदि कार्यमा रेडियो यन्त्र प्रयोग गर्ने भएमा उल्लिखित दस्तुरको आधा मात्रै लाग्ने उल्लेख छ । अवैध रूपमा प्रयोग गर्नेको बिगबिगी गत वर्ष असोजमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाको मोहनपुरबाट करिब रु आठ लाख बराबरको वाकिटकी प्रहरीले बरामद गरेको थियो । तत्कालीन समयमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १०० वटा पोर्टेबल ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको थियो । त्यति मात्रै होइन, अनुमतिबिना ‘अनलाइन’मार्फत बिक्री गर्नेहरूको सङ्ख्या पनि उल्लेख्य छ । डिकेड इन्टरनेसनलका सञ्चालक ढकाल अनुमति नलिई वाकिटकी प्रयोग गर्ने, अनलाइनमार्फत बिक्रीका लागि विज्ञापन गर्नेहरूका कारण आफूहरूलाई समस्या भएको बताउनुहुन्छ । “प्रहरीले अवैध वाकिटकीलाई नियन्त्रणमा लिएका समाचार हामीले सुनिरहेका हुन्छौँ । अवैध रूपमा प्रयोग बढ्दा कानुनी रूपमा अनुमति लिएर प्रयोग गर्ने हामी जस्ताका लागि समस्या भएको छ”, उहाँले भन्नुभयो । हाल विभिन्न कम्पनीहरूले अनलाइनमार्फत पनि विज्ञापन गरी वाकिटकी बिक्री गरिरहेको पाइन्छ । विपद्मा वाकिटकी पछिल्लो समय स्थानीय सरकार तथा संस्थाहरूले विपद्को समयका लागि भन्दै वाकिटकीको प्रयोग सुरु गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाले २०७९ सालदेखि नै यसको प्रयोग गरिरहेको छ । उक्त उपमहानगरले विपद्को समयमा सञ्चार पहुँचका लागि भन्दै १९ वटै वटामा वाकिटकी वितरण गरेको थियो । उपमहानगरमा वितरण गरिएका प्रत्येक वाकिटकीमा वडाअनुसार कल साइनको व्यवस्था गरिएको जनाइएको छ । तुलसीपुर आपत्कालीन सञ्चालन केन्द्र, दमकल र नगरप्रमुख सचिवालयमा एक÷एकवटा वाकिटकी राखिएको छ । यसको प्रयोगका लागि प्रशिक्षण पनि दिइएको थियो । तुलसीपुरमा मात्रै होइन, वाकिटकीको प्रयोग ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि सुरु भइसकेको छ । त्यहाँ सञ्चारलाई थप व्यवस्थित गर्न वाकिटकी प्रयोग गरिएको हो । मन्दिरसहित केही ठाउँमा मोबाइल नेटवर्कको राम्रो कभरेज नहुँदा समस्या भएपछि पाथीभरा क्षेत्र विकास समितिले वाकिटकीको प्रयोग गरेको हो । पाथीभरा मन्दिर पुग्ने पदमार्गका कतिपय स्थानमा फोन नलाग्ने समस्या छ । त्यहाँ आउने भक्तजनको गणनादेखि स्वास्थ्यकर्मी, सरसफाइ, पूजाआजा तथा भेटीघाटी व्यवस्थापनमा कर्मचारी खटिएका हुन्छन् । उनीहरूबीच सञ्चार स्थापित गर्नका लागि वाकिटकी प्रयोग गरिएको हो । हाल नेपालमा युएचएफ फ्रिक्वेन्सीमा ४०० देखि ४८० सम्म र भिएचएफमा १३६ देखि १७४ फ्रिक्वेन्सीमा वाकिटकी प्रयोग भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि स्थान र उपलब्धताका आधारमा प्रिक्वेन्सी उपलब्ध गराउँदै आएको छ । हाल नेपालमा करिब एक हजार कम्पनीले वाकिटकीको प्रयोग र बिक्री वितरण गरिरहेका छन् । सूचना विभागको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म करिब ५०० ले नवीकरण गरेका छन् ।
पोखरा: मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यसवर्षको जाउँ है पोखरा अभियान औपचारिक रुपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विहीबार अभियानको समापन गर्दै जाउँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको भनाई राखे । आफ्नो खुट्टामा आफैं उभिन सक्ने वातावरण जाउँ है पोखरा जस्ता अभियानले सिर्जना गर्न सक्ने उनले बताए । कार्यक्रममा बोल्दै अभियानका संयोजक एवं आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा फेवा किनारमा आयोजना हुने नयाँ वर्ष महोत्सवका क्रममा पोखरा पुग्ने पाहुनालाई संघ अन्तरगतका होटल तथा लजमा २० प्रतिशत छुट प्रदान गरिने बताए । उनले जाउँ है पोखरा अभियानले देशका सातै प्रदेश जोड्ने उद्देश्य बोकेको बताउँदै विदेशी र गोरो छाला मात्र नभई नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता अभियानले सिर्जना गरेको स्मरण गराए । कार्यक्रममा बन्दिपुर केवलकार प्रालिका उपाध्यक्ष किरण पोखरेलले उक्त परियोजना अन्तर्गत संचालन भएका योजना र आगामी दिनमा संचालन हुने सेवासुविधाबारे जानकारी गराएका थिए । कार्यक्रममा होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, पर्यटन क्षेत्रका विज्ञ दिपेन्द्र पहारी र आयोजक संघका उपाध्यक्ष गणेशराज पहारीले भनाई राखेका थिए । यसअघि बुधबार महत्तोरीको बर्दिवासमा आयोजित कार्यक्रममा सो क्षेत्रका पर्यटकीय गन्तव्य र संभावनाका बारेमा चर्चा गरिएको थियो । सो अवसरमा बोल्दै मधेश प्रदेशका उद्योग, वाणिज्य एवं पर्यटन मन्त्री सकिल अलि मियाँले पर्यटन व्यवसायी र सम्वन्धित संघसंस्थाहरुसँग अन्तरक्रिया गरी सल्लाह र सुझाव लिएर अव आउने बजेट तर्जुमा गरिने प्रतिवद्धता जनाए । कार्यक्रममा सांसद शारदा देवी थापा, आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ दिपेन्द्र पहारी, नाथमका सिवेन्द्र मलिक, होटलकर्मीहरु गुञ्ज कार्की र हिरा गौतम र आयोजक संघका उपाध्यक्ष गणेशराज पहारीले भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वती पाण्डेले गरेकी थिइन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले संघले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानको यसपटकको कार्यक्रममा १८ फागुनमा सुरु भई २२ फागुनमा सम्पन्न भएको हो छ । पहिलो कार्यक्रममा धनुषाको जनकपुर र दोश्रो तथा तेश्रो कार्यक्रम क्रमशः झापाको विर्तामोड र सुनसरीको इटहरीमा सम्पन्न भएका थिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सम्पन्न पूर्वको अभियानको क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा पोखरामा आयोजना गरिएको नयाँ वर्ष महोत्सवमा सहभागी हुन पुर्वका वासिन्दालाई निम्ता प्रदान गरेका थिए । पर्यटकीय राजधानी पोखरामा पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ का बारेमा समेत अभियानको क्रममा चर्चा गरिएको थियो ।
पोखरा: महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आजदेखि तीनदिने साहसिक पदयात्रा सुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखरादेखि ‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा घान्द्रुक, टाडापानी, दोबाटे हुँदै मुल्डे भ्युप्वाइन्टसम्म सञ्चालन हुने मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले २८ सदस्यीय प्रवर्द्धनात्मक टोलीले पदयात्रा पर्यटनका सम्भावना तथा चुनौतीलाई स्थलगत रूपमा अध्ययन एवं अवलोकन गर्ने बताउनुभयो । “पोखरा महानगरपालिका कार्यालयले घोषणा गरेअनुसार पोखरामा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समर्थन गर्दै यो अभियानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । टोलीलाई पोखराबाट गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, पर्यटनमन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायतले विदाई गर्नुभएको थियो ।
काठमाडौं: काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । आगो निभाउन सातवटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए । आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
लुम्बिनी: राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप)को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ । राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो । उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिनुभयो । मुद्दामा खरिद र बिक्रेता फर्महरूका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐनको दफा ४ को खण्ड (ख), (छ), (झ) बमोजिमको कसुर गरेकाले प्रतिवादीहरू सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रू ६२ लाख ७१ हजार छ सय ७६ बिगो कायम गरी सोही ऐनको दफा २३ (१) बमोजिम मालबस्तु (बिगो) जफत हुन तथा बिगोबमोजिमको जनही रू ६२ लाख ७१ हजार छ सय ७६ जरिवाना र ऐनको दफा २३ (१) (क) बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी लिइ उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । उक्त मुद्दामा प्रतिवादीहरू डाइमण्ड इन्टरनेशनलकातर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेका सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूकोसमेत दुरूपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (३) बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रू ३१ लख ३५ हजार आठ सय ३८ मागदाबी लिइ उक्त अभियोगपत्र दायर गरिएको प्रमुख घिमिरेले बताउनुभयो । मुख्य प्रतिवादी बनाइएका पराजुली र जोलाहलाई पटकपटक पत्राचार गरी सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन्भने कारोवारमा संलग्न मतियारहरू भने करिब ९० दिनदेखि हिरासतमा राखी अनुसन्धान गरिएको थियो । विगतदेखि भेप कारोबार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको शृङ्खाका रूपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढी भेप विभिन्न ठाउँबाट बरामद गरी कारबाही भइरहेको छ ।
मुस्ताङ: मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्याउन सेवा दिइरहेका छन् । मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौती छ । मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्वारसम्म रेलिङसहितको ठाडो उकालो पैदल हिँड्नुपर्ने हन्छ । बसपार्कबाट पहिलो गेटसम्म समथर बाटो छ । बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाइकल र कुनै पनि सवारीसाधन लैजान पाइँदैन । यो त्यहाँको गाउँसमाजले बनाएको नियम हो । गाउँभित्रको पर्यटनमा असर नपुगोस् भन्ने हेतुले बसपार्कबाट माथि कुनै पनि सवारीसाधन लैजान निषेध नै गरिएको छ । यसैका कारण मुक्तिनाथका दर्शन गर्ने धोको बोकेर आइपुगेका दर्शनार्थी पैदल हिँड्न नसक्ने अवस्था भएमा घोडा वा स्टेचरमा चढेर मुक्तिनाथ पुग्नुपर्ने बाध्यता हुन्छ । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, मुुक्तिनाथ रानीपौवा र छेङ्गुर गाउँका युवाले घोडामा चढाएर लैजान वैकल्पिक व्यवसाय चलाएका छन् । त्यहाँको चारवटा गाउँका युवाले मात्रै सशुल्क घोडा चढाएर दर्शनार्थीलाई मुक्तिनाथ पुर्याउने सेवा दिएका छन् । वारागुङ मुक्तिक्षेत्रका यी चारवटा गाउँबाहेक अन्यत्रका युवाले त्यहाँ गएर दर्शनार्थीलाई घोडामा चढाएर मुक्तिनाथ लैजाने काम गर्न पाउँदैनन् । यात्रीलाई घोडामा चढाएर मुक्तिनाथ ओसारपोसार गर्न समितिसमेत गठन गरिएको छ । घोडा समितिमार्फत घोडामा दर्शनार्थी लानेलैजाने सेवालाई व्यवस्थित गरिएको छ । यसरी रानीपौवा बसपार्कबाट मुक्तिनाथ प्रवेशद्धारसम्म दर्शनार्थी ओसारपोसार गरेबापत नेपाली आन्तरिक दर्शनार्थीलाई रू चार सय र भारतीय दर्शनार्थीलाई भारू चार सय शुल्क निर्धारण गरिएको छ । मुक्तिनाथ रानीपौवाका स्थानीय युवा उर्गेन पाल्देन गुरूङले घोडा चढाउने व्यवसायले स्थानीय युवालाई वैकल्पिक आयआर्जनको माध्यम बनेको बताउनुभयो । देशमा युवा जनशक्ति पलायन भइरहेको अवस्थामा यहाँका युवाालाई गाउँमा रोक्न घोडा चढाएर मुक्तिनाथ लाने लैजान व्यवसायले निकै ठूलो योगदान दिएको बताउनुभयो । गाउँमा विकाससँगै पर्यटनको सम्भावना बढिरहेको अवस्थामा पनि युवहरू वैदेशिक रोजागारमा जाने अवस्था रहेकाले यस प्रकारको घोडा चढाउने व्यवसायले यहाँका युवापङ्क्तिलाई यहीँ आर्यआर्जन गर्न सक्ने गतिलो माध्यम बनेको उहाँले बताउनुभयो । वारागुङ मुक्तिक्षेत्र–१ को चारवटा गाउँमा एक २० घरपरिवारले मुक्तिनाथमा दर्शनार्थीलाई घोेडा चढाएर जीविकोपार्जन गर्दै आइरहेका छन् । समितिअन्तर्गत सञ्चालन भएको दर्शनार्थीलाई घोडा चढाउने व्यवसायमा सबै गाउँका एकसाथ आएर पनि आलोपालो गरी दर्शनार्थी ओसारपोसार गर्न पाउँछन् । घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न बिहानै ७ बजेभित्र घोडावाला धनीले नाम टिपाउनुपर्छ । नाम टिपाएपछि रोलक्रमअनुसार आलोपालो घोडा चढाएर मुक्तिनाथ लैजान पाउँछन् । यसरी दिनभरि घोडा चढाएरको पैसा हिसाब गरेर बाँड्छन् । मुक्तिनाथमा घोडाधनीले आफैँले र घोडा भएर पनि कर्मचारी राख्न चाहनेले त्यहाँ अस्थायी बसोबास गरेका व्यक्तिलाई घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न खटाउन पाइन्छ । यसरी गैरव्यक्तिले घोडाधनीको घोडा प्रयोग गरेबापत आधा उठेको आधा ज्याला पाउँछन् । मुस्ताङमा सडक यातायातको सुविधा नहुँदा बेँसीबाट मालसामान ढुवानी गर्न र व्यक्तिगत प्रयोजनका लागि अधिकांशले घोडा पाल्ने गर्थे । पछिल्लो समय मुस्ताङमा यातायातको पहुँच जोडिएपछि पालन गरिएका घोडा विस्थापित हुन थाले । सडकमार्फत सहजै मालसामान ढुवानी गर्न सकिने अवस्था आएपछि मुस्ताङका घोडा लोप हुँदै गए । तर, मुस्ताङमा पालिएका घोडा संस्कृतिसँग पनि जोडिएका छन् । उपल्लो मुस्ताङ र बाह्रगाउँ क्षेत्रका गुरूङ र विष्ट समुदायले महत्त्वपूर्ण चाडपर्वमा घोडाको संस्कृतिसँग जोडेर पर्व मनाउँछन् । तल्लो मुस्ताङका आंशिक थकाली समुदायले पनि विशेष पर्वमा घोडालाई संस्कृतिको रूपमा प्रयोग गर्ने गरेका छन् । वारागुङ–१ खिङ्गाका स्थानीय युवा सञ्जय गुरूङले मुस्ताङका लागि घोडा सांस्कृतिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले यार्तुङ, धज्याङ, ल्होसार, तिजीलगायत पर्वमा सांस्कृतिक वेशभुषा पहिरिएर घोडामा चढेर पर्व मनाउने प्रचलन छ । मुक्तिनाथ क्षेत्रमा दर्शनार्थीलाई घोडा चढाएर लैजाने व्यवसाय गर्न नपाउने होभने बाह्र गाउँका घोडासमेत विस्थापित हुने स्थानीय युवा गुरूङको भनाइ छ । यसैगरी मुक्तिनाथमा युवाहरूले घोडा चढ्न नसक्ने अवस्थाका दर्शनार्थीलाई स्टेचरमा बोकेर मुक्तिनाथ लाने लैजाने गर्छन् । मुुक्तिनाथ बसपार्कबाट मुक्तिनाथ मन्दिर लाने लैजाने गरेबापत उनीहरूले नेपाली दर्शनार्थीलाई रू चार हजार र भारतीय दर्शनार्थीलाई भारू चार हजार लिने गर्छन् । यसरी मुक्तिनाथमा स्टेचर बोकर लैजान चार जना युवाको आवश्यकता पर्छ । मुक्तिनाथमा स्थानीय युवाहरूले सञ्चालन गरेको स्टेचरमा राखेर मुक्तिनाथ लानेलैजाने व्यवसायले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीलाई निकै ठूलो सहयोग मिलेको छ । सशुल्क सेवा भए पनि मुक्तिनाथ दर्शन गर्न जाने यस प्रकारको व्यवसायले मुक्तिनाथ दर्शन गर्न लाखौँ खर्चिएर आउने दर्शनार्थी भक्तजनका लागि निकै ठूलो सेवा सहयोगको माध्यम बनेको छ ।
काठमाडौं: काठमाडौंको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो । सो टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
म्याग्दी: धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुग्नुभयो । “लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि चार घण्टामा छोटिएको छ”, उहाँले भन्नुभयो, “दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ ।” भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जावासीको यात्राअवधि छोटिएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । लत्रवाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले तीन हजार तीन सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्रयाक्टर, मोटरसाइकल चल्न थालेका छन् । हिउँ पग्लिएपछि देउरालीबाट लत्रवाङसम्मको करिब थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिन्छ । लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको देउरालीका बासिन्दा मोदीमान श्रीर्पालीले बताउनुभयो । “गुर्जाका मानिस बिरामी भएर अस्पताल पुर्याउन डोकामा बोकेर ल्याउँथे”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पुग्न नसकेर कतिले बाटोमै ज्यान गुमाएका छन् ।” गुर्जासम्म सडक नपुगेपनि बीच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जावासीको आधाभन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको श्रीपालीले बताउनुभयो । गुर्जासम्म सडक पुर्याउन थप करिब १० किलोमिटर मार्ग निर्माण गर्नुपर्छ । गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रू दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रू तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कार्यान्वयन गरेको तीनै तहका बजेटको उक्त योजनाको काम हालै सकिएको हो ।” योजनामार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको थियो । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो । धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको सडकको दूरी २५ किलोमिटर छ । लत्रवाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको रू ७० लाख बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताउनुभयो । प्रदेश सरकारले विनियोजन गरेको रू ५० लाखको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ । सङ्घीय सरकारले सडक डिभिजन कार्यालय बागलुङमार्फत विनियोजन गरेको रू एक करोड बजेटमार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलानको काम सुरू भएको छ । अर्को शीर्षकमा विनियोजन भएको रू एक करोड बजेटको योजनामार्फत लमसुङ–स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट ठेक्का आह्वान भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।
महोत्तरी: आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बिहीबार एकै दिन जिल्लामा भएका कार्यक्रममा सहभागिताले यहाँ उत्साह देखिएको हो । “मुलुकका जिम्मेवार दलका नेताहरू एकैदिन जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुहुन्छ, यसले यहाँका जनतामा आशा र उत्साह पलाएको छ”, बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री भन्नुहुन्छ, “मुख्य दलका नेताले यहाँका विषय उठाउनुभएको छ, यहाँका आवश्यकताले उपल्लो तहमा चासो बढाएको छ, यो हाम्रा लागि अवसर हो ।” तत्कालै कुनै परिणाम देखिनहाले पनि नेताहरूको यो जमघटले जिल्लालाई दूरगामी रूपमा फाइदा नै पुग्ने क्षेत्रीको विश्वास छ । प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक हुनुहुन्थ्यो । “तीनै ठाउँमा मधेसको आर्थिक विकास र समृद्धिका कुरा उप्किए, तीनै नेताले यहाँको विकासमा आपूm प्रतिबद्ध रहेको बताउनुभयो”, गौशाला–४ रजखोरका सामाजिक राजनीतिक कार्यकर्ता अजय कुशवाहा भन्नुहुन्छ, “नेताहरूको यो जमघटले यहाँका विकास सम्भावनाबारे चर्चा बढेका छन् ।” बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री नै रहनुभएका हुँदा आशलाग्दो स्थिति बनेको कुशवाहाको बुझाइ छ । बुधबारदेखि नै जिल्लामा विभिन्न भेटघाट र सभामा सरिक हुनुभएका माओवादी अध्यक्ष दाहालले बिहानबेलुका सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट र कुराकानी गर्नुभएको छ । यसैगरी शुक्रबारको मनराशिशवा नगरपालिकाको कार्यक्रममा सरिक हुन बिहीबार नै बर्दिबास आइपुग्नुभएका सभापति देउवाले यहाँका कृषि, उद्योग र सुक्खा बन्दरगाहको कुरा महत्वका साथ हेरिने बताउनुभएको छ । अध्यक्ष दाहालले त सुक्खा बन्दरगाहबारे आपूm निकै उत्साही रहेको र यसका लागि पहलकदमी लिने सार्वजनिक प्रतिबद्धता नै जनाउनुभएबाट अब केही हुन्छ भन्ने विश्वास पलाउँदै गएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको प्रतिक्रिया छ । प्रधानमन्त्री ओली सरिक कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री तथा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहको सरिकताले यहाँका कुरा केन्द्र र प्रदेश सरकारसम्म जिम्मेवार तहमा पुगेका गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतो बताउनुहुन्छ । यसबाहेक प्रदेश सरकारका मन्त्रीहरू सरोजकुमार यादव र राजकुमार लेखीसहितको नेताहरूको सामूहिक सहभागिताले यहाँका प्रस्ताव अब सबैजसो दलका मुख्य नेतासम्म पुगेका डा महतोको भनाइ छ । कार्यक्रम सकेर प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल महोत्तरीबाट फर्किसके पनि सभापति देउवा भने आज मनराशिशवामा आयोजना हुने कार्यक्रममा सरिक हुने तालिका छ । नेताहरूको यो जमघट जति बढ्यो, यहाँका आवश्यकताका कुराले जिम्मेवार ठाउँमा उति चर्चा पाएका शिक्षाविद् बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ । यस भेगमा नेताहरूको जमघटबीच यहीँकै विकास निर्माण र त्यससम्बन्धी बहसका मुद्दा जोडतोडका बढ्दा अब नयाँ कामका विषयबारे सघन चासो र चर्चा बढेको घिमिरेको ठम्याइ छ ।