गाेरखा:  नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । सातौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।   उपाध्यक्षमा विकास मरहट्टा, ...

तनहुँ:  जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो ।       बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत जानुभयो ।  त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किनुभयो । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बन्नुभएको छ ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उहाँले हाल ५० रोपनीमा विस्तार गर्नुभएको छ ।         “पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु”, ढकालले भन्नुभयो ।      उहाँले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा ।  पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।       तरकारीखेती गरिरहेको सबै जग्गा भने उहाँको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिनुभएको छ । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाउनुभएको छ ।  उहाँले भन्नुभयो, “उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक रु ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर रु १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।”       विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ ।  “तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए ।  अर्काको देशमा नोकरी गरेर बसेको भए खै ! यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै”, ढकालको भनाइ छ ।       हाल उहाँकी एक छोरी विदेश र छोरा शिक्षक हुनुहुन्छ । रु ३० लाख खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोड्नुभएको छ । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किन्नुभएको छ । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिनुभयो । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उहाँले बताउनुभयो ।  “कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ”, उहाँले खुसी साट्नुभयो ।         व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताउनुभयो ।  “कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो”, उहाँको कथन छ, “यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।” 

तेह्रथुम: डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ ।      म्याङलुङ नगरपालिकाको सहयोगमा एक कार्यक्रमबीच बुधबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा उक्त पुस्तकको विमोचन गरिएको हो । लेखक ड्रिम १० भाषाका विज्ञका रूपमा परिचित हुनुहुन्छ ।             सन् १९८७ मा जर्मनको ब्रिटर पब्लिसिङ हाउसले प्रकाशन गरेको सो पुस्तकको संस्करण नेपालस्थित स्विस राजदूतावासको सहयोगमा जगदम्बा प्रकाशन, काठमाडौँले प्रकाशित गरेको हो ।        पुस्तकमा फेदापे लिम्बू भाषाको ‘ग्रामर’ उल्लेख गरिएको छ । उक्त पुस्तक संसारभरका फेदापे लिम्बू भाषा अध्ययन गर्न चाहनेका लागि उपयोगी हुने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । पुस्तक विमोचन कार्यक्रममा उहाँले विश्व समुदायको दस्तावेजको इतिहास र दस्तावेजका रूपमा रहने यो पुस्तक तयार पार्ने लेखकप्रति आभारसमेत व्यक्त गर्नुभयो ।       लिम्बू समुदायका नयाँ पुस्तामा भाषा हराउँदै गर्दा विदेशी नागरिक लेखक जर्ज भ्यानले फेदापे लिम्बू भाषाको ग्रामर समेटिएको पुस्तक प्रकाशन गरिरहँदा यहाँस्थित अन्य निकाय पनि भाषा संरक्षणमा गम्भीर देखिनुपर्ने मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङले बताउनुभयो ।       नेपालको कुम्भकर्ण तथा धौलागिरि हिमाल क्षेत्रबाट सम्पूर्ण मानव जातिको विस्तार भएको भान्ड्रिनको खोज प्रमाणित भएमा र तेह्रथुमको फेदापबाटै भोट बर्मेली भाषा परिवारको विस्तार भएको प्रमाणित भएमा संसारभरका मानवशास्त्री र भाषाशास्त्रीका अध्ययनको केन्द्रका रूपमा तेह्रथुम बन्न सक्ने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो ।       हल्यान्ड निवासी जर्ज भान्ड्रिमले विसंं २०३९ मा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुुला गाउँ  पञ्चायतस्थित तम्फुला गाउँमा छ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गर्नुभएको थियो ।  लेखक भान्ड्रिमल आफू हल्यान्डस्थित भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्हरूको चिनियाँ भोट बर्मेली भाषाको पुरानो रूप लिम्बूवानमा भेटिन्छ भन्ने अनुसन्धानात्मक पुस्तक अध्ययनपछि प्रोफेसरहरूले आफूलाई नेपालको लिम्बूवान् क्षेत्रमा पठाएको स्मरण गर्नुभयो । उहाँले स्थानीय नारायण लिम्बूको सहायतामा लिम्बू भाषाको अध्ययन गरेको उल्लेख गर्नुभयो ।         तीन दशकपहिले प्रकाशित उक्त पुस्तकको संस्करण नेपालीहरूको पहुँचमा पुग्न सक्नेगरी स्विस राजदूतावासलगायतको सहयोगमा प्रकाशन गरिएको जगदम्बा प्रकाशनले जनाएको छ । 

दार्चुला:  यहाँको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।       जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जिप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।       दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।       त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।  ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो ।  प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।  आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।  अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको हो ।

सिरहा:  सिरहाको  नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।  घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिनुभयो ।  उहाँका अनुसार आरोपित मण्डललाई आजै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराई थप अनुसन्धान सुरू गरिएको छ । यस सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने उहाँले बताउनुभयो । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कुको स्थानीय रूपेशसहित तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ । सो घटनालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउन माघ २९ र ३० गते दुई पटक छलफल गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो ।  पहिलो दिनको छलफलले रूपेशलाई रु एक लाख ५० हजार जरिवाना गर्ने निर्णय सुनाएको थियो । भोलिपल्ट अर्को छलफलका क्रममा उपस्थितबीच नै कुटाकुट भएको थियो । सोही साँझ रिङ्कु आफ्नो घरको कोठामा शङ्कास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् ।  पहुँचका आधारमा घटना दबाउन खोजिएको भन्दै पीडकलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखी प्रतिनिधिसभा तथा राष्ट्रियसभामा समेत आवाज उठेको थियो । इलाका प्रहरी कार्यालय लहानले सुरूमा आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दर्ता गरेको थियो ।  घटनाको एक सातापछि फागुन ८ गते मृतक रिङ्कुकी आमा सीतादेवी सदायले रूपेशसहित मुख्य आरोपी तीनजना र छलफलमा सहभागी पाँचजना गरी आठजनाविरूद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र कसुरमा पुरक जाहेरी दिनुभएको थियो ।  पूरक जाहेरीको आधारमा प्रहरीले फागुन ११ गते सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएकामध्ये नवराजपुर—१ भगवतीपुरका ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा मुद्दा चलाएको थियो ।

काठमाडौं:   प्रतिनिधि सभाले पाँचवाटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश  स्वीकृत भएको हो । बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृति गरेको हो । प्रतिनिधि सभ बाट पारित अध्यादेश भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा निर्णायार्थ  पेश गरिने कार्य  सूची रहेको छ । सरकारले ल्याएको अध्यादेशहरु संघीय सदनको अधिवेशन सुरु भएपछि ६० दिन भित्र सघीय स दुबै सदनबाट स्वीकृत गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

काठमाडौं:    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलबारदेखि तीन दिने ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र विकास बोर्डमा आयोेजित महोत्सवको दोस्रो दिन आज विभिन्न चलचित्र प्रदर्शन गरिए ।  प्रदर्शनसँगै विभिन्न अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको आयोजक समितिका अध्यक्ष केकी अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महोत्सवले महिलाका विषयमा निर्माण भएका चलचित्रलाई प्रवर्द्धन गरिरहेको छ । चलचित्र हेर्दै त्यसमा गरिने अन्तरक्रियाले आगामी दिनमा काम गर्न सहज बनाउने गर्छ ।” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “हामी सुविधासम्पन्न स्टुडियो निर्माण गरेर चलचित्रकर्मीलाई सुविधा दिने प्रयासमा छौँ । यसले महिला चलचित्रकर्मीलाई अभिनय बाहेकका अन्य प्राविधिक विधामा काम गर्न प्रेरणा दिनेछ । किनकि बाहिर चलचित्र छायाङ्कन गर्दा स्टुडियो जस्तो सेवा सुविधा उपलब्ध हुँदैन ।”  महोत्सवको पहिलो दिन नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिनुका साथै उक्त चलचित्रका अभिनेता विश्व बस्नेत र अभिनेत्री बसुन्धरा भुसालसँग चलचित्रको विषयमा अन्तरक्रिया गरिएको थियो । 

जनकपुर:  मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ ।      विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिनुभयो ।      विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि  डा महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताउनुभयो ।       प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ ।      मङ्गलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियोे ।      चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियोे । लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन् ।       सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चारलगायत सेवा अवरोध गरेका छन् भने यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका एक सय विद्यार्थीको नियमित पढाइ भएको छैन ।  नियमित पठनपाठन गराउने तथा विद्यमान समस्या समाधान गर्नका लागि यो बैठक बसेको बताइएको छ । बैठकले गरेका निर्णय कार्यान्वयन भएसँगै विस्तारै समस्या समाधान हुँदै जाने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौं:  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताउनुभएको छ ।         यदु स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टीप्पणी गर्नुभयो ।           नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको हो भन्नुभयो ।   नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली कांग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।”         हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भनी चिन्ता व्यक्त गर्नुभयो ।  “सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको उहाँले स्पष्ट गर्नुभयो ।   मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याउन लागेको हो । लोकतान्त्रिक विधि, मूल्यमान्यताको उपज भएकाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने अहिलेको सरकार अराजकता र अस्थिरताको विरुद्ध रहेको स्पष्ट गर्नुभयो ।   नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्धका नाममा नेकपा माओवादीले हिंसात्मक बाटो रोज्दा धनजनको ठूलो क्षति भई मुलुक पछि परेको दृष्टान्त प्रस्तुत गर्दै माओवादी आन्दोलनलाई इतिहासले माफी नदिने धारणा व्यक्त गर्नुभयो ।      एमाले पोलिटब्युरो सदस्य खेममान खड्काले यदु गौतमको राजनीतिक जीवनशैली, योगदान र क्षमतामाथि चर्चा गर्दै एक साहसिक, जनप्रिय एवं स्थापित नेताका रुपमा स्वर्गीय गौतम आमा जनताबीच चिनिनुहुने धारणा व्यक्त गर्नुभयो ।   वरिष्ठ पत्रकार दिलभूषण पाठकले पत्रकारिताको धर्म सत्यतथ्य र निष्पक्ष हुनुपर्नेमा पछिल्लो समय हाम्रो पत्रकारिता हल्लाको पछाडि दौडिन थालेको भनी चिन्ता व्यक्त गर्नुभयो ।          सो अवसरमा वरिष्ठ पत्रकार पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।