पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । टेवानको बिहीबार पोखरामा भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय...

म्याग्दी: म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ ।       धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताउनुभयो ।       “कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,” उहाँले भन्नुभयो “स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।”      मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा)लाई रु. दुई सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन रु. एक सय ३० मूल्य कायम गरिएको छ ।       काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताउनुभयो ।       उहाँले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । ३७ वर्षीय भण्डारी रोजगारीका लागि छ वर्ष मलेसिया, दुई वर्ष कतार, दुई महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किनुभएको हो ।       भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले आफ्नै जग्गामा करिब रु ७५ लाख लगानीमा पूर्वाधार निर्माण गरिरहनुभएको छ । धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताउनुभयो ।       “कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,” वडाअध्यक्ष खत्रीले भन्नुभयो, “विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।”

काठमाडौं:  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली  प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

महोत्तरी:  यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ ।      मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाउने गर्छन् ।       यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात  स्थानीयतहका गाउँ तथा नगरक्षेत्र । खासमा १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीले यात्राको १६ औं दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेको भोलिपल्ट होली मनाउने चलन छ ।  शुक्रबार अन्तर्र्गृह परिक्रमा गरिएपछि यी बस्तीमा आज होली मनाउने गरिएको हो । यो मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्रको पुरानो परम्परा हो ।      फरकफरक परम्परागत मान्यताले होली मनाइने दिन फरक परेपनि यहाँ तीनै दिनको होलीमा सबैजसो सरिक हुँदै आएका छन् । यो उल्लासमय रमाइलो पर्व हुनुका साथै आपसी घुलमिलको परिणाम भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

भक्तपुर: प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोली अनुगमन गरेको छ ।       बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के अनुगमन गर्नुभएको हो ।      मन्त्री थापा मगरसहितको टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपिडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसियू, सिटी स्क्यान जडान कक्ष, विभिन्न विभागका सेवाहरुको अनुगमन गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीसँग  भेट गरी अस्पतालको सेवा र सुविधाका बारेमा सोधपुछ गर्नुभएको थियो ।      अनुगमन पश्चात मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिनुभयो ।  उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएसँगै मेमोग्राम मेशिन सञ्चालन गर्ने, उच्चस्तरीय प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पताललाई नर्सिङ कक्षा सञ्चालन गर्न दिइने, मापदण्ड पुरा नगर्ने अस्पतालको दर्ता, नविकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग र भक्तपुर अस्पतालमा न्यूरोको ओटी सवासमेत सञ्चालन गरिने जानकारी दिनुभयो  ।      स्वास्थ्य सचिव डा। गौतमले ३०० शय्याको सम्बन्धन पाएको भक्तपुर अस्पतालले पूर्ण शय्यामा सेवा सञ्चालन नगरे शय्या घटुवा गरिने र पाँच वर्षका लागि भनेर दिएपनि १३ वर्षदेखि सञ्चालित मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन छाड्न पत्राचार गर्न निर्देशन दिनुभयो । उहाँले भक्तपुर अस्पताल क्षेत्रभित्र साझा आषधि पसल ल्याउन रोक लगाउनुपर्ने बताउनुभयो ।      प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दईवषदेखि देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।  अस्पताल विकास एवं व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालले सञ्चालनमा ल्याउन लागको क्याबिनको सङ्ख्या चारबाट १० मा पु¥याउन मन्त्रालयलाई सहयोगको आग्रह गर्नुभयो ।  अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्र भट्टले अस्पतालमा दैनिक एक हजार देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउने गरेको जानकारी दिनुभयो ।

म्याग्दी: म्याग्दीको  यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् ।  गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् ।      रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।      मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताउनुभयो ।  यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिनुभयो ।      “यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तरराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ”, उहाँले भन्नुभयो ।      रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो ।       सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।

काठमाडौं:  हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो ।   विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।  तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र मुखमा टेपले बाँधी गरगहना र नगद लुटी हत्या गरी फरार भएका थिए ।  निज तामाङले २०७९ कात्तिक २७ गते काभ्रेको धुलिखेल नगरपालिका–९ फस्कोटमा विक्रम तामाङको घरमा लुटपाट र २०८१ साउन ३१ गते काभ्रेकै पनौती नगरपालिका–५ चौकोटमा धर्मगोपाल श्रेष्ठको होटलबाट रु ४० हजार डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।  तामाङको समूहले काभ्रेको बनेपा नगरपालिका–३ टनचोक डाँडामा लोप्चन लामाको घरमा प्रवेश गरी तीन थान मोबाइल, नगद, गरगहना र विभिन्न धनमाल र बनेपा नगरपालिका–४ रेडक्रस टोलमा सुकान्त बम्जनको घरमा धारिलो हतियार देखाइ सुनका गरगहना तथा नगद धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।  लुटपाटका घटनामा तामाङ र निजको सहोदर दाई वीरबहादुरसहित चार जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो घटनामा संलग्न वीरबहादुरसहित उदयपुरका ३७ वर्षीय राजुकुमार दनुवार, ओखलढुङ्गाका ५२ वर्षीय महेशकुमार खड्कालाई विभिन्न मितिमा पक्राउ परी कानुनी कारबाहीको प्रक्रियामा रहेका छन् ।  मुख्य योजनाकार बुद्धिमानको सहोदर कान्छो भाइ चमेरे भन्ने शिवकुमार तामाङ गुल्मी हत्या कसुरमा पुर्पक्षका लागि हाल कारागारमा रहेका छन् । आज पक्राउ परेका बुद्धिमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको ब्यूरोका प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।  ‘कल बाइपास’ मा संलग्न पक्राउ यसैबीच ब्यूरोले अवैध अन्तरराष्ट्रिय कल तथा एसएमएस बाइपासमा संलग्न १९ वर्षीय धिरज पटेललाई पक्राउ गरेको छ । नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधि सहयोग र समन्वयमा ब्यूरोबाट खटिइएको प्रहरीले टोलीले उनलाई पर्साको वीरगन्ज महानगरपालिका–३० स्थित लालपर्साबाट नियन्त्रणमा लिएको हो ।  सो क्षेत्रमा दुईवटा घरमा कोठा भाडा लिएर इन्टरनेटमार्फत कल बाइपास गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।  प्रहरीले निजको साथबाट भिओआइपी गेटवे तीन थान, एनसेल कम्पनीको सिमकार्ड १४ थान, राउटर चार थान, ल्यापटप दुई थान, ब्याट्री र इन्र्भटर दुई थानलगायत बाइपास गर्ने विभिन्न उकरण बरामद गरेको छ । 

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो ।  फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ ।  गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।   समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्दलगायत कारण यो वर्ष सङ्ख्या घटेको उहाँले बताउनुभयो । धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ ।

सर्लाही:  सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिनुुभयो ।  घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उहाँले बताउनुभयो ।  एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ:   मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ ।  तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।       पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”      गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८ दशमलव ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९ दशमलव २५ प्रतिशत छ । पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २० दशमलव १६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२ दशमलव ३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ ।       पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ ।  पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।       विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । मादी पुलमा ६५ प्रतिशत प्रगति      व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६५ दशमलव ०७ प्रतिशत भौतिक प्रगति भएको छ ।  मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि निर्माणाधीन पुलमा हालसम्म ६५ दशमलव ०७ प्रतिशतभन्दा प्रगति भएको हो । त्यस्तै ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ ।       पुल निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उक्त पुलमा छ वटा स्पान हुनेछन् । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।       पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।