टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।   कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...

चितवन: यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् ।      प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शवपरीक्षण गरी रोगको परीक्षण गरेको थियो ।  कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ ।       यस्तै, एसआइटिस (पेटमा पानी जम्ने) ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा (कुखुराको हैजा) २५, कक्सी डियोसिस ९रातो छेर्ने० १९, जुका १४ र रानीखेत आठ वटामा देखिएको थियो ।  यही अवधिमा चार वटा खोरका ‘ब्वायलर’ कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शत्प्रतिशतसम्म मृत्यु हुने भएकाले जैविक सुरक्षा अपनाउनुपर्ने उहाँको भनाइ छ । रानी खेत, बर्डफ्लुजस्ता कारण शत्प्रतिशत कुखुरा मर्ने गर्दछन् ।  गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमा नै सतर्कता अपनाउन कृषकहरूलाई सुझाव दिएको बताउनुभयो ।  फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।       मौसम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशैभरका कुखुरापालक कृषकले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ । यस कार्यालयले देशैभरिका पन्छीका नमूना लिएर परीक्षण गर्ने गर्दछ ।  यस वर्षको पुससम्ममा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लामा पालिएका पन्छीहरूको नमूना परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमूना चितवनका रहेका छन् ।  

गोरखा: गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।  मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उहाँले बताउनुभयो ।  दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो ।  दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार हुनुहुन्छ ।  अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो ।   घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

भैरहवा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ ।  पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको बताउनुभयो ।  प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उहाँको भनाइ थियो ।  उहाँले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताउनुभयो ।  उहाँले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरुलाई आपसी छलफलबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो । नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।  नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना सहभागी छन् ।  साथै सोही सङ्ख्यामा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरु तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।  संयोजक खडकाले त्यसअवसरमा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार, संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताउनुभयो । यस्तै समसामायिक विषयवस्तुसँग जोडिएका विभिन्न छ वटा विषयमा प्रस्तुति रहने उहाँको भनाइ छ ।  दोस्रो दिन सात वटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गर्नेछन् ।  अर्को सत्रमा सरकारसँग जोडिएका विषयमा छलफल गरी सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको खड्काले जानकारी दिनुभयो । त्यसअवसरमा पार्टीबाट सरकारमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिनुहुनेछ कार्यक्रम छ ।   केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ । 

काठमाडौं:   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्छ ।

जनकपुर:  जनकपुर र पोखराका व्यवसायीले आपसी सहकार्यमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिने विषयमा उनीहरु एक मत देखिएका छन् । यसपटकको पाँच दिने जाउँ है पोखरा अभियान अन्तरगत जनकपुरमा सोमबार आयोजित पहिलो कार्यक्रममा उल्लेखित विषय उठान गरिएको थियो । सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा-जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अबगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे । आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानबारे जानकारी गराउँदै जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरे । मधेश प्रदेशका सांसद राम आशिष यादबले पोखरा र जनकपुरले एक अर्कासँग सिक्न जरुरी भएको भनाई राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अगाडि बढ्न सक्ने स्मरण उनले गराए । होटल संघका केन्द्रिय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अगाडि बढ्न नसक्नु दुस्खद पक्ष भएको बताए । जनकपुर उद्धोग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपायहरु अगाडि बढाउनु पर्ने सुझाव राखे । बन्दिपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले संचालन गरेको परियोजना र सेवासुविधाका बारेमा अवगत गराएका थिए । नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अगाडि बढ्न सक्ने सुझाव राखे ।  नेपाल पत्रकार महासंघ धनुषाका सभापती पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए । ब्यबसायी बीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बिच धार्मिक र पर्यटनका हिसाबले धेरै समानता रहेको बताउँदै आपसी सहकार्यका लागि आव्हान गरे । कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धि यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बिचका रहेका छन् । आयोजक संघका सचिव पार्वता पाण्डेले कार्यक्रमको संचालन गरेकी थिइन् ।

म्याग्दी:  धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी हुनुहुन्छ ।  आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् ।  “अहिलेसम्म त सहर बजार जान पनि पैदलै घण्टौँ हिँड्दै आएका थियौँ, खाद्यान्नलगायतको सामान पनि बोकेरै लैजानुपर्ने बाध्यता थियो, धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ”, घर्तीले भन्नुभयो ।  सडक निर्माणका लागि यहाँ सञ्चालित जलविद्युत् आयोजनाको भूमिका छ । हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले नाउरादेखि १९ घरधुरी रहेको चेचुङगाउँ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो ।  प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर दुर्गम गाउँमा मोटरबाटो निर्माण गरिएको हो । यसबाट स्थानीयको समस्या केही हदसम्म सम्बोधन भएको छ । मोटरेबल सडक निर्माणले खाद्यान्नलगायतका सामग्री ढुवानीमा मानिसले बोक्नुपर्ने र खच्चडको भर पर्नुपर्ने बाध्यता हटेको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रिखोलादेखि खाम्ला, नाउरा हुँदै जेल्टुङ बगरसम्म १५ किलोमिटर सडक निर्माण गरेका छन् ।  चेचुङ र बगरसँगै खिबाङमा समेत जलविद्युत् आयोजनाकै लगानीमा सडकमार्ग जोडिएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा सडकको ट्रयाक दुर्गम बस्तीसम्म पुगेपछि गाउँमा जलविद्युत् आयोजनासँगै विकास भित्रिएको मुदीका वडासदस्य समेत रहनुभएका बगरका स्थानीयवासी हरिप्रसाद तिलिजाले बताउनुभयो ।  “शिवरात्रिखोलाबाट बगर गाउँ पुग्न नाउराको भिरबाट एक दिनको यात्रा गर्नुपथ्र्यो, सडक बनेपछि अब एक घण्टामै यात्रा गर्न सकिने भएको छ, वडा र गाउँपालिकाको कार्यालयसँगै जिल्ला सदरमुकाम आउनजान समेत सडकले सुविधा दिएको छ”, तिलिजाले भन्नुभयो ।  जलविद्युत् आयोजनाले म्याग्दी नदीमा बेलिब्रिज जडान गरेपछि खोलाबारी र पारिका बस्तीहरूमा समेत सजिलै आवतजावत गर्न सकिने भएको छ । मुदीको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन ।  पहाडी भेगका भिर पहाडका फेदी र कुनामा रहेका बस्तीमा सडक पु¥याउने काम चुनौतीपूर्ण रहेको अवस्थामा जलविद्युत् आयोजना भित्रिएसँगै सडकको सपना पूरा भएको वडाध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । जलविद्युत् आयोजनाले सडक, पुललगायतका पूर्वाधारसँगै गाउँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सघाउन थालेका छन् ।  सामाजिक उत्तरदायित्वअन्तर्गतका कामलाई प्रभावित क्षेत्रका बासिन्दाको आवश्यकता र विकाससँग जोड्ने प्रयास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।  “जलविद्युत् गाउँपालिकाको प्रमुख सम्भावनाको आधार हो, यहाँ ठूला आयोजना भित्रदै गर्दा यस क्षेत्रको विकासमा पनि योगदान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, आयोजनामा आवश्यक पर्ने जनशक्तिमा समेत स्थानीयलाई अवसर दिन हामीले ध्यानाकर्षण गराइरहेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।  धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र यसका सहायक नदीमा आठ वटा जलविद्युत् आयोजना दर्ता भएको र त्यसमध्ये तीन आयोजनाको निर्माण अघि बढेको उहाँले बताउनुभयो । 

रौतहट:  रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो ।  उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताउनुभयो । मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गर्नुभएको थियो । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो ।  एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।  मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।      राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आउनुभएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गर्नुभएको हो ।      भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी हुनुहुन्थ्यो । यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।

मुगु:  नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।  रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुग्नुभएको थियो ।  चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उहाँले नमान्नुभएको अस्पतालले जनाएको छ ।  चेकजाँच पछि सल्लेरी फर्कनुभएको तर सोमबार बिहान ६ बजेतिर उहाँलाई साथीहरूले एम्बुलेन्समा लिएर आउनुभएको थियो । अस्पताल पुग्दा उहाँको मृत्यु भइसकेको  चिकित्सक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताउनुभयो । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।