पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । टेवानको बिहीबार पोखरामा भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय...

बाजुरा:   बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार ट्र्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।  अन्य तीन जना सकुशल रहेको , ट्र्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।      राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।        उहाँले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।      कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सुदूरपश्चिम:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताउनुभएको छ ।      आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पार्नुभयो ।       अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।”      कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुग्नुभएको छ ।

मुस्ताङ:   मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका  विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन्   ।       मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ ।  जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ ।  मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।       वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् ।  यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ । जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने  चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।  केन्द्रमा उत्पादन हुने अधिकांश जातहरु हाईचिलिङअर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरु रहेको उहाँले भनाइ छ । उहाँले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताउँनुभयो ।       केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरुमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ । यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ । आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ । खुर्पानी सक्करपारा जातमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रुपमा रहेको जानकारी दिनुभयो । समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खलाउनुभयो ।  “जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो होकी भन्ने अनुभूति गरेका छौ”, केन्द्र प्रमुख आत्रेयले थप्नुभयो, “बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरु माथि माथि सर्दै जान थालेको छ ।”  उहाँले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताउनुभयो । केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गदैआइरहेको जानकारी दिनुभयो ।       केन्द्रले  खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ । यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ । आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दैआइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो ।

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ ।   नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्त्विक महत्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।   नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोगो सार्वजनिक गरेको नगर प्रमुख विमला राईले जानकारी दिइन् ।   पूर्वअर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गरेका हुन् ।   नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ ।    नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।   नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् ।    हलेसी तुवाचुङ –७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र त्रिधार्मिकस्थल हलेसीलगायत ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेका क्षेत्र समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताइन् ।   हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको जनाइएको छ ।    दश स्थानीय तह रहेको जिल्लामा यसअघि जिल्ला समन्वय समिति खोटाङले आफ्नो जिल्लाको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याएको थियो । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म आफ्नो छुट्टै लोगो प्रयोग गरेका छैनन् ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् ।    पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।   संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ (सुमन), र कोषाध्यक्षमा युनिश गुरुङ चयन भए ।   यस्तै सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भए ।    रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।    अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समामार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए ।   समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘समाचारका लागि फोटो अति आवश्यक चिज हो । अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोली पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन्,’ उनले भने, ‘समचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरु एकजुन हुनु आवश्यक छ र रहिरहनेछ ।’   कास्कीका फोटो पत्रकारहरुले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।   नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।   नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । केन्द्रमा भएको फोटो पत्रकार संघ टुटफुट भएपनि कास्कीबाट एकजुटको सन्देश दिनुपर्ने उनले बताइन् ।   कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशिल भएर लाग्न उनको सुझाव थियो ।    संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२/०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए ।   २०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए ।   संघले राजनीति बाहेक, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए ।    पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए ।   वि.सं की २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए ।   त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।   फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ ।   २०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजए कास्कीमा गाम्ने घोषणा गरेका हुन् ।   ‘यति सानो शहरमा फोटो पत्रकारहरुको संस्था किन धेरै बनाउनु छ र?,’ अध्यक्ष गिरीले भने, ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ । आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित गरिएको जानकारी गराउँछु ।’

पाल्पाका किसानहरू यतिबेला खेतबारीमा आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् ।   व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।   एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन् । उनले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्।   “शनिबार र आइतबार दुई दिनसम्म १६/१७ जनाले आलु खन्ने काम भएको छ”, उनले भने, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उनले यस पटक चार क्विन्टल आलु लगाएका छन् ।   उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित छन् । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उनको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गरेका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आएका छन् । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उनले बताए ।   “आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उनले भने ।   उनले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उनी बताउँछन् । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्थे । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थालेका छन् ।   रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उनले व्यावसायिक उत्पादनमा जोड दिएका हुन् । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताए ।   आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उनको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा   आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् ।   यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ ।   रामपुर- ६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहेकी छन् । उनले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राखेकी छन् ।   रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् ।   रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।

म्याग्दी:   बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्।   “तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो”, उनले भने, “अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।”   भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो ।   काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।   “धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ”, योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, “तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।”   उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो ।   रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल ९होल० बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।   काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ ।   काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।   बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताए।   दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उनले बताए । “मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ”, उनले भने, “धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पु¥याएको छ ।”   यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए।   पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पु¥याइएको हो ।   चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए।

गोरखा:  भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्कनुभएका उहाँलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन ।      हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उहाँ बाजुरा पुग्नुभयो । पासाङले बाजुरामा काम त पाउनुभयो तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत जानुभएका उहाँ फेरी कागज उद्योगमै पुग्नुभयो ।  “त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ”, विगत सम्झँदै उहाँले भन्नुभयो । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर छ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो ।       करिब पाँच लाख रूपैँया ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गर्नुभयो । “अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ,” उहाँले भन्नुभयो, “नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ (लोक्ता) काढ्ने थुप्रै हुन्छन् ।”      चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उहाँ बताउनुहुन्छ । “पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्, पासाङले भन्नुभयो, “उनीहरुले पनि प्रतिकिलो रु १५० भन्दा बढी बुझेर फर्कन्छन ।”      गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गर्नुभएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । “धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु”, पासाङले भन्नुभयो ।       जग्गा भाडामा लिएर उहाँले उद्योग सञ्चालन गर्दै आउनुभएको छ । पासङको उद्योगमा बार्षिक १० देखि २० ‘टन’ कागज उत्पादन हुने गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको रु तीन हजार ५०० सम्ममा बिक्री हुन्छ ।  “बजारको मागअनुसार पु¥याउन अझै सकेको छैन, पासाङले भन्नुभयो, “कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो ।”      पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाउनु भएको छ । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उहाँ बताउनुहुन्छ ।