काठमाडौं: ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ । समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
सिरहा: सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् । त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो । त्यसैगरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रनाउ पासवानका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ भने फरार अभियुक्तको खोजी भइरहेको छ ।
नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट सोही स्थानका इद्रिस अलीकी श्रीमती सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सतारुलको अनुहार, टाउको र हात जलेको छभने निजामोदिनको दुवै हात र खुट्टा जलेका छन्, तैमुरदिनको भने सामान्य हात जलेको छ । आज दिउँसो विद्युत्को मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँचजना दाजुभाइ इद्रिस अली, कसिम अलि, नुर महमद अलि, मो शेख आलम मियाँ, अफताव अलिको घर जलेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । आगलागीबाट खद्यान, लत्ताकपडा, भाडा, बोइरल कुखुरा, चार थान मोबाइल, फर्निचरका सामान, गरगहना तथा नगद गरी रु २७ लाख २९ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । आगोलाई बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण लिइएको थियो ।
काठमाडौं: सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्र के–कस्तो रोजगार आवश्यक छ, त्यसका लागि कस्तो शीप चाहिन्छ । उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी प्रदान गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।” शीपको अभावमा मानिस बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको विकल्प आन्तरिक रोेजगार नै हो । नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिऔँ ।” उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ । वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने मन्त्रालयको विश्वास छ । वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहने मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अङ्ग भएकाले वैदेशिक मुद्रा आय आर्जनको प्रमुख श्रोत भएको छ । विप्रेषणलाई के कसरी मुलुकको रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिने गरिएको छ । सामाजिक न्यायसहितको समावेशी विकास गर्नेगरी सोह्रौँ योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ । मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको तथा आर्थिक वर्ष २०८०र०८१ मा कूल ७ लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो । वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको मन्त्रालयको भनाइ छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधान संशोधन सरकारको महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । “सरकार अहिले सुशासन प्रणालीलाई गतिशील बनाउन कटिबद्ध छ, संविधान संशोधनको काम तीन वर्षभित्र पूरा हुन्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस मिलेर वर्तमान सरकार गठन हुँदा भएको सहमतिमा संविधान संशोधन पनि एउटा महत्वपूर्ण बुँदा रहेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका चरणमा देखिएका समस्या पहिचान गर्ने काम भइरहेको समेत बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अहिले शासन प्रणालीलाई जनतामुखी कसरी बनाउने भन्नेतर्फ यो सरकार केन्द्रित रहेको बताउनुभयो । कोमामा रहेको मुलुकको अर्थतन्त्र सुधार गर्दै सुशासनमा जोड दिएको अहिलेको सरकारले संविधान संशोधन तीन वर्षभित्र गरेरै छाड्ने उल्लेख गर्नुभयो । “संविधान संशोधनको विषय पहिचानका लागि समिति बनाएका छौँ । समस्या पहिचान गरेर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउछौँ”, मन्त्री गुरुङले भन्नुभयो, “संविधान संशोधन सबै दलको साझा सहमतिमा मात्रै हुन्छ ।” त्यसअवसरमा पछिल्लो समय राजतन्त्रका सम्बन्धमा भइरहेका गतिविधिसम्बन्धी प्रतिक्रिया दिँदै मन्त्री गुरुङले आजका दिनमा राजतन्त्र रोज्नु भनेको सामन्ती व्यवस्थालाई रोज्नु रहेको बताउनुभयो । “लोकतन्त्र विरोधी राजतन्त्र कहिल्यै जनताको हितमा हुँदैन, आफ्नो दरबारको रक्षा गर्न नसक्ने राजतन्त्रले देश कसरी बचाउन सक्छ रु”, उहाँले भन्नुभयो । उहाँले राजतन्त्रात्मक प्रणालीमा विश्वास गर्नु लोकतन्त्र विरोधी रहेको समेत उल्लेख गर्नुभयो ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् । त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन् । एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ । उक्त प्रतियोगिताको टिकट दर दशरथ रङ्गशालामा साधारण प्याराफिटतर्फ रु एक सय र भिआइपी प्याराफिटतर्फ रु तीन सय तोकिएको छ । त्यस्तै सातदोबाटोमा सामान्य प्याराफिटर्फ रु एक सय कायम गरिएको छ । प्रतियोगिताको विजेताले रु १५ लाख प्राप्त गर्ने छ भने उपविजेताले रु १० लाख पाउने छ । त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच लाख पाउने छ । प्रतियोगितामा फेयर प्ले टिमले रु एक लाख, उत्कृष्ट गोलकिपरले रु ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले रु सात हजार पाँच सय पाउने छ । त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले रु २५ हजार तथा बराबरी भएमा टोलीले रु १० हजार पाउने छ । उक्त प्रतियोगिताको सञ्चालनका लागि कुल रु तीन करोड ९३ लाख एक हजार आठ सय १३ लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।
दार्चुला: भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ । गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको जनाएको छ । बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए । मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । लेनदेनका विषयमा विवाद हुँदा विष्टले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेको अभियोग छ । कर्णबहादुर विष्टले सुरेन्द्रलाई रु ४० हजार तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएको जनाइएको छ ।
सर्लाही: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको बताउनुभएको छ । सर्लाहीको मलङ्गवामा आज ‘हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिले आयोजना गरिएको कार्यक्रममा उहाँले झापाबाट सर्लाहीसम्म आइपुग्दा बुद्धिजीवी, किसान, मजदुर, मधेसी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताउनुभयो । अध्यक्ष दाहालले अहिले विद्यमान रहेका भ्रष्टाचारलगायत बेथिति अन्त्यका लागि सबै तह र तप्काका जनता एकजुट भएर सरोकार भएका निकाय र प्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समाजिक, आर्थिक, राजनीतिक रुपान्तरण शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षासम्बन्धी विधेयकबारे सम्बन्धित समितिमा छफलफल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले उक्त विधेयकमा एक हजार सात सय संशोधन परेको बताउँदै जटिलताका बाबजुद पनि निरन्तर छलफल भइरहेकाले सबैको हितलाई मध्यनजर गर्दै सहमतिका आधारमा विधेयक आउने धारणा राख्नुभयो । माओवादी केन्द्रले अभियान सुरु गरेपछि राज्यको सम्पूर्ण ध्यान अहिले मधेसतिर केन्द्रित भएको उहाँको दाबी छ । मधेसको दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानका हकअधिकार प्रदान गर्न पहल गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषि क्षेत्रको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर निर्माण अघि बढाएको दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले आज जिल्लाका एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । उक्त अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रम सकेर आजै अध्यक्ष दाहालसहित पार्टीका शीर्षनेता रौतहट प्रस्थान गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने उल्लेख गरिन् । महिला घरयासी काममा सिमित हुनुपर्छ भन्ने पुरुषको गलत सोंचाइका कारण घर छाडेर पर काम गर्न जाने महिलाले हिंसा भोग्नु परेको उनले भनाइ थियो । महिला अधिकार विषयमा प्रस्तुति दिने क्रममा कार्यालय वा बाहिर महिलाहरुलाई अझै ढुक्कसँग काम गर्ने वातावरण नभएको उनले सुनाइन् । यसको न्यूनिरकरणका लागि पत्रकारको कमल र क्यामेरा चल्नुपर्नेमा उनले जोड दिइन् । महिला संवादकी अर्की प्रस्तुतकर्ता किताबखाना तथा प्रदेश सञ्चार समन्वय शाखा, गण्डकी प्रदेशकी प्रमुख पार्वती लामिछानेले श्रमिक महिलाहरुको अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । महिलाहरु दोहोरो अधिकारको लडाईमा परेको बताइन् । उनका अनुसार महिला अधिकारको लडाइमा रहेकाहरु श्रमिक महिलाको हक, अधिकारका लागि जुध्नुपरिरहेको छ । यस्तो अवस्था समाधानका लागि पुरुषहरु नै जागरुक र महिला अधिकारका विषयमा जानकार हुनुपर्ने उनको भनाइ थियो । उनले कार्यक्रममा श्रमिक महिला दिवस र महिलाका सवाल विषयमा प्रस्तुतिकरण राखेकी थिइन् । महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा प्रस्तुति राखेकी थिइन् । उनले पत्रकारिता क्षेत्रमा महिलाका लागि अवसर धेरै भएपनि हिंसा लगायत अन्य घटनाका कारण यो क्षेत्रमा टिक्न सक्ने अवस्था रहेको बताइन् । मिडियाका क्षेत्रमा पनि केही हिंसाका उजुरी परिरहेकाले पत्रकारिता क्षेत्रका श्रमिक महिला पनि समस्यासँग जुध्न बाध्य रहेको उनको भनाइ थियो । यसका लागि सम्बन्धित क्षेत्र नै कडा कानुन बनाएर लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकाल, ब्रोडकास्टिङ एसोसियशन अफ नेपाल (बान) का उपाध्यक्ष दुर्गा अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी लगायतले महिलाका मुद्दामा राज्यसँगै पुरुष जानकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महिला अधिकारसँगै श्रमिक महिलाका अधिकारको पक्षमा पत्रकारको कलम र क्यामेरा धेरैभन्दा धेरै चल्नुपर्नेमा उनीहरुको जोड थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाल बरालको अध्यक्षतामा भएको महिला संवादमा उपाध्यक्ष माधव रेग्मीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् । कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले सहयोग गरेको थियो ।