काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा रु तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नहुनेमा जोड दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आज बेग्लाबेग्लै भएका छलफलका उहाँले असङ्ख्य योजना तथा कार्यक्रम बजेटमा राख्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सकिएका ठूला रुपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिनुभयो । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनुपर्ने र एक पटकका लागि बीउपुँजी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव, सङ्घीय मामिला सचिवगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डाले नेपाललाई जितको लागि ७७ रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् । त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
लमजुङ: प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गर्नुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ सनिवारबाट उक्त कोर्ष सुरु भएको हो । एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले कोर्ष पछि फुटबलको रेफ्री सदस्यको संख्यामा वृद्धि हुने बताए । उनले कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो रहेको सुनाए । ‘रेफ्री परिवारमा अब आउन लाग्नुभएको छ त्यसका लागि स्वागत छ । तपाईहरुले हिजोसम्म तपाईले आफ्नो हिसाबले फुटबल खेलाउनुभयो होला खेल्नुभयो होला तर, आजबाट तपाईहरुले आधिकारिक रेफ्रीका लागि आउँदै हुनुहुन्छ’ उनले भने, ‘रेफ्रीले के गर्नुपर्छ के गर्नुहुन्न भन्ने रेफ्रीका नियमहरु १७ वटा छन त्यो अब जानकारी हुन्छ त्यसैले तपाईहरुले राम्ररी सिक्नुहोस् । फुटबल खेलको विकास र विस्तारका लागि रेफ्रीको भूमिका अत्यावश्यक रहेको र त्यसका लागि रेफ्री उत्पादन महत्वपूर्ण कदम रहेको उनको भनाइ छ । उनले सात दिनको आधारभूत तालिम पर्याप्त नभएतापनि आधिकारिक तालिम भएकाले दत्तचित्त भएर सिक्न अनुरोध गरे । रेफ्री कोर्षका लागि सबै युवा देखिएको र रेफ्रीका लागि सबैभन्दा महत्वपूर्ण कुरा फिटनेस रहेको सुनाए । रेफ्रीका नियममा पोख्त हुँदैमा रेफ्री बन्न नपाइने र त्यसका लागि फिटनेस नै पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङले कोर्षका लागि गण्डकी प्रदेशभित्रका २९ जनाको सहभागिता रहेको बताए । उनका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा हुनेछ । जसमा पास हुनेले एन्फा क्याटगोरी ४ को प्रमाणपत्र प्राप्त गर्नेछन् । ‘क्याटगोरी ४ भनेको रेफ्रीका लागि पहिलो लेभल हो यसपछि क्याटगोरी ३, क्याटगारी २, क्याटगोरी १ गर्दै फिफा रेफ्रीसम्म जान्छ यो कोर्ष पास गरेको खण्डमा मात्रै अर्को लेभलमा जान पाउँछ’ उनले भने, ‘क्याटगोरी ३ देखी एकसम्म यहि बाट छानिनेहरु जाने हो त्यहाँ पनि कोर्ष पास गर्नुपर्ने हुन्छ ।’ गत वर्ष समेत क्याटगोरी ४ को कोर्ष गराउँदा ३५ जनाको सहभागिता रहेको थियो । जसमा १६ जनामात्रै पास भएका थिए । अहिले क्याटगोरी ४ पास गर्नेका लागि क्याटगोरी ३ को कोर्ष गराउने लक्ष्य प्रदेशको रहेको उनी सुनाउछन् । रेफ्री संयोजक गुरुङसहित रेफ्री प्रशिक्षक विरेन्द्र पाण्डे, सचिन अमात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिनेछन् । कोर्षका लागि टेक्निकल सहयोग एन्फाले गरेको छ भने गण्डकी प्रदेश सरकार र प्रदेश खेलकुद परिषद गण्डकीको समेत यसमा सहयोग रहेको महासचिव गुरुङले जानकारी दिए ।
काठमाडौं: कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिनुभयो । “जस्तोसुकै अवस्थाका लागि कमाण्डोलाई तयार गर्न साहसिक गतिविधिमा संलग्न गराइएको हो”, प्रहरी वरिष्ठ उपरीक्षक जबराले भन्नुभयो, “द क्लिफसँग केही वर्षदेखि हामीले सहकार्य गर्दै आएका छौँ ।” उहाँका अनुसार १०६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका हुन् । नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ । यसअघि पनि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले तालिमका क्रममा द क्लिफमा बञ्जी जम्प गरिसकेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयो । “हामी पनि नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी छौँ, आगामी दिनमा पनि यसप्रकारको सहकार्यलाई निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज पनि छ । इन्फिनिटी स्विमिङ पुल र सम्मेलन हल निर्माणाधीन छन् । क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।
गण्डकी: पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यतिबेला स्तरोन्नतिको चरणमा छन् । पोखरा–मुग्लिन सडक, पोखरा–लमजुङ सडकअन्तर्गत तालचोक–बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड कालोपत्र हुने भएको छ । पोखरा–मुग्निल सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ४३।३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार हालसम्म २९.४७ किमि सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किमिमा दुईतर्फी र १४.१५ किमिमा एकतर्फी कालोपत्र भइसकेको छ । “तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।” चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा पर्ने सडक स्तरोन्नति भइरहेको इन्जिनियर नेपालले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उहाँले बताउनुभयो । कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको छ । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिनुभयो । वियजपुर खोला र सेती नदीमा पुल निर्माण सँगसँगै भइरहेको उहाँको भनाइ छ । ३८.८८ किमि दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । कूल ४१.४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । पोखरादेखि रुपा गाउँपालिका हुँदै लमजुङ जोड्ने सडकअन्तर्गत पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको उक्त सडक विश्व बैङ्कको सहुलियत ऋणमा बन्न लागेको हो । कूल ३।२८ किमिको उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले बताउनुभयो । निर्माण कम्पनी ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु गरेको थियो । रु एक अर्ब ४९ करोडको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने उहाँको भनाइ छ । सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् । सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताउनुभयो । इन्जिनियर नेपालले आगामी असारसम्म उक्त सडक कालोपत्र गर्ने लक्ष्य लिइएको बताउनुभयो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत हरिचोक–याम्दी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका अनुसार कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइसकेको छ । करिब २२ सय मिटर दुरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायतका काम सकिएको जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड समयमा निर्माण नहुँदा लोकमार्गको यात्रा सास्तीपूर्ण बनेको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो । एकसाथ तीन ठूला सडक निर्माणका क्रममा रहेकाले पर्यटकीय राजधानी पोखराको यातायात सेवा केही असहज भने बनेको छ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।
सुर्खेत: तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताउनुभयो । यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौँ परीक्षण उडान सम्पन्न गरेको छ । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ । यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गर्नुभएको हो । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो । सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताउनुभयो । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उहाँले उल्लेख गर्नुभयो । यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिनुभयो । उहाँले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राख्नुभयो । यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ । कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् ।
लुम्बिनी: विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो । नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताउनुभयो । यसैगरी कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्रचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताउनुभयो । सकियो त्रिपिटक पाठ बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो । त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गर्नुभयो । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गर्नुभयो । उहाँले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले यहाँ आउदा बुद्धलाई साक्षात् भेटेजस्तो हुने बताउनुभयो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान् बुद्धको उपदेश वैज्ञानिक र समयसापेक्ष रहेको बताउनुभयो । उहाँले बुद्धका उपदेशलाई चार दिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकारात्मक ऊर्जा पैदा गरेको बताउनुभयो । यस्तै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्ध शिक्षालाई अन्तरराष्ट्रियकरण गराउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । कार्यक्रममा इन्टरनेसनल त्रिपिटक च्यान्टिङ कमिटीका संस्थापक उपासिका वाङ्मो डिक्सीले बुद्धको उपदेश लुम्बिनीमा बसेर पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धि भएको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी होटल व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मालगायतले बुद्धका उपदेश विश्वभर फैलाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरूलाई सम्मान पनि गरिएको महासङ्घका प्रचार संयोजक भिक्षु बिमलो महास्थविरले जानकारी दिनुभयो । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा सङ्ग्रहित गरिएको छ । त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित चार सय बढीको सहभागिता थियो ।