पर्यटनकर्मी हरिध्वज तुलाचन र उर्मिला गुरूङ पुरस्कृत

पाेखरा | जेठ २२, २०८२

पर्यटनकर्मी हरिध्वज तुलाचन र उर्मिला गुरूङ पुरस्कृत

पोखरा:   यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् ।


पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् ।


संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो ।


पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा उनकी श्रीमती तुमला श्रेष्ठले अक्षयकोष स्थापनाका लागि गत वर्ष ५ लाख ५१ हजार १११ प्रदान गरेकी थिइन् । यस वर्ष १ लाख थपेकी छन् । सोही अक्षयकोषबाट बर्सेनि पुरस्कार दिँदै जाने योजनाअनुरुप पहिलोपल्ट सो पुरस्कार तुलाचन र गुरुङलाई दिइएको टेवान अध्यक्ष कमला गिरीले जनाइन् ।


प्रतिभा छनोटका लागि सञ्जयकान्त सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । ड्रागन होटलका संचालक ८१ वर्षीय तुलाचन पोखराको पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन् ।


यस्तै, दक्षिण एशियाकै पहिलो पर्यटन गाउँ सिरुबारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुन् ।


कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले टेवानको गतिविधिको प्रशंसा गरे । उनले लगानीका लागि निजी क्षेत्रलाई रातो कार्पेट ओेछ्याएर स्वागत गर्नुपर्ने विचार व्यक्त गरे । उनले होटलको मापदण्ड बनाउनेदेखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागिपरेको बताए । उनले सातै प्रदेशमा पर्यटन बोर्ड स्थापना गरिने बताए ।


गण्डकी प्रदेश सभा सदस्यद्वय प्रकाश बराल र सरस्वती गुरुङले पोखराको पर्यटन विकासमा टेवानको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै राज्यले पर्यटन विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।


कार्यक्रममा कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकीका प्रेस रजिष्ट्रार बिमला भण्डारी, पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, प्रतिभा छनोट समिति संयोजक सञ्जयकान्त सिग्देल, सल्लाहकार टीकाराम सापकोटा, बोबरजंग गुरुङ, पुरस्कृत व्यक्तित्व तुलाचन र गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


विभिन्न गतिविधि गरेर संस्थाको उचाइ माथि पु¥याएकोमा अध्यक्ष कमला गिरीलाई सबै कार्यसमितिका पदाधिकारी र सदस्यले भव्य सम्मान गरेका थिए ।
यस्तै, अध्यक्ष गिरीले आफ्नो कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारलाई मायाको चिनोसहित प्रशंसापत्र प्रदान गरिन् ।


उत्कृष्ट कार्य गरेकोमा कार्यसमिति सचिव शोभा पौडेल अधिकारी, कोषाध्यक्ष कमला गुरुङ, सदस्यद्वय शारदा लम्साल, शान्ता सुवेदी तिमिल्सिनालाई सम्मान गरियो । पत्रकारितामार्फत पर्यटन क्षेत्रको उन्नयनमा योगदान दिएकामा पत्रकार विश्व भण्डारी र विजय नेपाललाई प्रशंसापत्र प्रदान गरियो ।


संस्था अध्यक्ष कमला गिरीले टेवानले पोखराको पर्यटन प्रवद्र्धनमा विभिन्न खालका गतिविधि गर्दै आएको बताइन् । उनले ‘तीज सांस्कृतिक महोत्सव’ का दुईवटा संस्करण सफलतापूर्वक सम्पन्न गरेर ब्रान्ड बनाएको बताइन् । 


आफ्नो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कार्यक्रम, अन्तरप्रदेश भ्रमण, बिजनेस ब्रान्डका तालिम, डिजिटल साक्षरता एवं कानूनी साक्षरता तालिम, सदस्यको क्षमता अभिवृद्धिलगायत कार्यक्रम गरेको बताइन् ।


उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अनिता खड्का भट्टराई र धन्यवाद ज्ञापन सचिव शोभा पौडेल अधिकारीले गरेका थिए । पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थामा हाल १४० सदस्य छन् ।
 

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्

दैलेख:  भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...

थप पढ्नुहोस्