पवर्त: कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन । रु ६ करोड १३ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । अहिलेसम्म रु एक करोड ५० लाख कार्यालयबाट भुक्तानी गरिएको छ । उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो । सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन । “धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने÷नहुनेमा आशङ्का छ । ढिलोगरी काम सुरु भएको छ”, स्थानीय राजेन्द्र खड्काले भन्नुभयो । सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ । अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर धु्रव पोखरेलले जानकारी दिनुभयो । अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको छ । स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताउनुभयो । स्थानीय तह, सङ्घीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उहाँको भनाइ छ । यसैबीच निर्माणकार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थगलत अनुगमन गर्नुभएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथसहित पदस्थापन गरिएको हो । समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए । संघको अधिवेशनले राम गुरुङको अध्यक्षमतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका थिए । भने, गिरीधारी पोखरेल, सञ्जय शाक्य र प्रवेश पोखरेल सदस्य छन् । पदस्थापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लामिछानेले हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको बताए । फोटो पत्रकारसँग फोटो मागेर काम चलाउनुभन्दा फोटो पत्रकार नियुक्त गर्न सकेमा यो क्षेत्रमा पनि व्यावसायिकता बढ्ने उनको धारणा थियो । ‘सबै मिडिया हाउसले फोटो पत्रकारलाई आवद्ध गराउन नसक्नु कमजोरी भएकै हो,’ उनले भने, ‘यो विषयमा फोटो पत्रकार संघ र मिडिया हाउस बसेर समाधानका उपाय खोज्न आवश्यक छ ।’ फोटो भिडियोका जमानामा लेख्ने पत्रकारहरु आफैं सुधारिनुपर्ने उनको भनाइ थियो । फोटो पत्रकार विरुद्धका उजुरी प्रेस काउन्सिल कमै भेटिएकाले यो क्षेत्र नीति नियममा रहेको उल्लेख गरे । ‘म आवद्ध संस्थाले आचार संहिता बनाउन, अनुगमन पनि गर्छ र पालना गर्न पनि लगाउँछ,’ उनले भने, ‘खुसीको कुरा के छ भने फोटो पत्रकारहरुका विरुद्धमा आचार संहिता उल्लघंनका उजुरी परेको मलाई नै थाहा छैन् । यसैबाट थाहा हुन्छ कति फेयर छ भन्न कुरा ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, संघका संस्थापन अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नवनिर्वाचित टिमले संस्थालाई आगामी दिनमा अझ क्रियाशिल बनाउँदै लैजानुपर्ने बताए । पोखरामा २०६६ फागुन ५ गते गठन भएको फोटो पत्रकार महासंघ नेपाल, कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था राम गुरुङ नेतृत्वको फोटो पत्रकार संघ कास्कीमा गाभिएको घोषणा गरे । ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ,’ गिरीले भने, आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित जानकारी गराउँछु र खातामा भएको केही रकम पनि प्रक्रिया मिलाएर यही संस्थालाई सहयोग गर्न तयार छु ।’ यसैबिच, संस्थाको पहिलो बैठकले रिक्त रहेको पद र सल्लाहकार पनि मनोनीत गर्दै १३ सदस्यीय समितिले पूर्णता पाएको अध्यक्ष राम गुरुङले बताए । बैठकले सहसचिवमा दुर्गा रानामगर, सदस्यहरुमा सुदर्शन रञ्जित, सरोज अधिकारी, चेतबहादुर थापा ‘प्रविन’, सुरेश सुनार र रिखीराम जिसीलाई मनोनीत गरेको हो । संघको सल्लाहकारमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणि बराल, इन्द्रप्रसाद पौडेल र निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेललाई चयन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
काठमाडौं: सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो । क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी उहाँले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।
गण्डकी: धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो । पोखरा–बागलुङ यसअघि रु चार सय ५० लिने गरिएकामा शुक्रबारदेखि रु ५० घटाएर रु चार सय कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिनुभयो । म्याग्दी–पोखराको भाडा रु पाँच सय ५० बाट घटाएर रु पाँच सय कायम गरिएको उहाँले बताउनुभयो । बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो । सुरुवाती चरणमा दुई वटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा छन् । कम्पनीले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँच वटा बस सञ्चालन गरेको छ । बागलुङ– नारायणगढका लागि पाँच वटा बस सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको माग बढेपछि कम्पनीले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । विद्युतीय गाडीले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा यो यात्राका लागि सहज र सस्तो हुने गरेको छ । पछिल्लो समय प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्रुयाउन थालेका छन् । प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । विद्युतीय गाड़ी सुविधायुक्त र वातावरणमैत्री छन् । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन विस्तार आदिमा सरकारले ध्यान दिनुपर्ने यातायात व्यवसायीको माग छ । प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मझौला र साना विद्युतीय सवारीसधान बढी प्रयोगमा आइरहेका छन् । गण्डकी प्रदेशमा ठूला विद्युतीय बस भने सञ्चालनमा आइसकेका छैनन् । माइक्रो बस, कार, भ्यान र स्कुटरको सङ्ख्या बढ्दो छ । कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिने मन्त्रालयले जनाइएको छ । चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको छ ।
ललितपुर: समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताउनुभयो । उहाँले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताउनुभयो । उहाँले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताउनुभयो । “भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ”, अध्यक्ष दाहालले भन्नुभयो,“यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।” नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एकधारमा ल्याउने अभियान र छलफल चलिरहेको बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको पाएको छु ।’ उहाँले भन्नुभयो – ‘हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन् । सरकारका तीनै तहले सदुपयोग गरेर राष्ट्रहितमा शिक्षकका अनुभवलाई उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।’ देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षकको सम्मान नहुने समाजलाई उत्कृष्ट र शिक्षित समाज भन्न नसकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तराद्र्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने अवस्था निर्माण गर्नुपर्नेछ ।’ प्रदेश प्रमुख भट्टले निवृत्त शिक्षकहरूले निजामति कर्मचारी सरह सेवासुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्ने गरी संघ सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायहरूको पनि प्रमुख भूमिका रहने उहाँको भनाई छ । प्रदेश प्रमुख भट्टले जीवनको १४ वर्ष आफू पनि शिक्षा क्षेत्रसँग संलग्न रहेको अनुभव बाँड्नुभयो । निवृत्त शिक्षक समुदायले स्थापनकालदेखि नै संस्थाले सुधार र शिक्षक हकहितका लागि भएका थुप्रै प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थाहा पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।
मुस्ताङ: पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ । त्यसो त चीनसँग सिमाना जोडिएको कोरला नाका क्षेत्रको पठार भूमि र त्यहाँबाट देखिन मनोरम दृष्यहरूले त्यहाँ पुग्ने जोकोही पर्यटक माहित नहुने त कुरै भएन । त्यसैका कारण गर्मीयाम सुरू भएसँगै अहिले दैनिक एक सयभन्दा बढी मात्रामा नेपालका स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेका छन् । भारतीय नाकाबन्दीपछि एकाएक निकै नै चर्चामा आएको कोरला नाका पुगेर फर्किनेको ताँतीनै लाग्ने गरेको छ । जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसाय निक्कै नै उत्साहित भइरहेका छन् । भारतीय नाकाबन्दी अघि गुमनाम रहेको उत्तरी कोरला नाकाले चर्चा जति बेला पायो, त्यसको कारण थियो उत्तररदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजना । तत्कालीन सरकारले उत्तरी नाकाहरूमा पनि व्यापारिक मार्ग खोल्नुपर्ने योजना बनाएपछि आर्थिक वर्ष २०७३र०७४ सालदेखि (बेनी–जोमसोम–कोरला) सडक स्तरोन्नति सुरूआत गरिएको थियो । दुई सय दुई किमी (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत करिब १०५ किलोमिटर कालोपत्र भइसकेको र बाँकी ९९ किलोमिटर सडक ग्राभेल भइसकेकाले नेपाली पर्यटकलाई कोरला नाकासम्म पुग्न निकैनै सहज भइसकेको छ । जसका कारण नेपाली पर्यटक बस, जीप र मोटरसाइकल यात्रा गर्दै कोरला नाकासम्म पुग्न गरेका हुन् । बेनी–जोमसोम सडक ७४ किमी र जोमसोम–कोरला ११० किमी सडक एकदिनमै कोरला नाकासम्म पुग्न सक्छन् । सडक सहज भइसकेकाले नेपाली युवायुवतीको कोरला नाकामा लर्कोनै लाग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिनुभयो । कोरला नाका अवलोकन गर्ने पर्यटकका कारण उपल्लो मुस्ताङको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पुगेको प्रशासन प्रमुख केसीको भनाइ छ । शुक्रबार कोरला नाकाको अवलोकन गरी फर्किएका पोखरा माधव क्षेत्रीले कोरला नाकालाई नेपाल सरकारले व्यवस्थित तुल्याउन आवश्यक रहेको औँल्याउनुभयो । “सडकको अवस्थामा निकै राम्रो सुधार भएको पायौँ, यति ठूलो नाकामा पर्यटक तथा स्थानीय नागरिकको सुविधाका लागि भरपर्दो पूर्वाधार भएको पाइएन”, क्षेत्रीले भन्नुभयो, “चीनतर्फ लोभलाग्दो भव्य संरचना बनिसकेको रहेछ, हाम्रोतिर खै कहिले बन्ने ? ।” स्याङ्जाका अर्को पर्यटक रामजी पौडेलले उत्तरी कोरला नाका पर्यटन र नेपाल–चीनको व्यापारिक मार्ग भएकाले त्यहाँ अथाह सम्भावना रहेको कोरला नाकाबाट चीनको मानसरोवर यही नाकाबाट पुग्न छिटो र सजिलो भएकाले यसतर्फ सरकारले अग्रसरता देखाउन आवश्यकता रहेको औँल्याउनुभयो। राष्ट्रिय गौरवको कारला सडक स्तरोन्नतिसँगै उपल्लो मुस्ताङमा नेपाली स्वदेशी पर्यटकको आगमनदर बर्सेनि वृद्धि भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कोरला क्रेजका कारण पर्यटक बढेसँगै उपल्लो मुस्ताङमा स्तरीय सुविधा सम्पन्न होटल थपिँदै जान थालेको कार्यालय प्रमुख पौडेलले उल्लेख गनुभयो । त्यसो त मुस्ताङमा बर्सेनि पाँच लाख बढी स्वदेशी पर्यटक मुक्तिनाथको दर्शन गर्न आउँछन् । जसमध्ये एक तिहाइको सङ्ख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ९नेपाल–चीन० कोरला नाका गत वर्षको कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरेको थियो । कोरलास्थित तिब्बती बजारमा पुगेर मालसामान किनमेल गर्न चीन पक्षले कोरला नाका खुला गरेको हो । त्यसो त चीन पक्षले दीर्घकालीन रूपमा कोरला नाकालाई व्यापारिक ट्रान्जिट प्वाइट बनाउने उद्देश्यले चीनले आफ्नो भूमिमा दर्जनौँ भव्य प्रशासनिक भौतिक संरचना निर्माण गरिसकेको छ । नाका खुले पनि सरकारले भन्सार र अध्यागमन कार्यालयको गतिविधि सक्रिय बनाउन नसक्दा त्यहाँका स्थानीय नागरिक तथा पर्यटकलाई समस्याको विषय बनेको छ । कोरला नाकामा पुग्ने पर्यटकका लागि खाजानास्ता खाने ठाउँका साथै, शौचालय नहुँदा निकै समस्या हुने गरेको छ । यस्तै उपल्लो मुस्ताङका नागरिकलाई कोरला नाकामा व्यावसायिक सुविधाजनक पूर्वाधार निर्माण गर्न नसक्दा त्यहाँ व्यापार गरी बसेका स्थानीयले त्रिपालमै बसेर व्यापार व्यवसाय चलाउँदै आइरहेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाका अवलोकनका लागि बर्सेनि स्वदेशी पर्यटकको लर्को लागेपनि विदेशी पर्यटक उपल्लो मुस्ताङ जान सक्दैन । सरकारले अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत रहेको उपल्लो मुस्ताङ जान पाँच सय डलर शुल्क तिरेर १० दिनको प्रवेश अनुमति पाउँछन् । यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको सख्या निकै नै न्यून रहेको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकको तथ्याङ्कअनुसार बर्सेनि एक लाख ।भन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गर्दा करिब तीन प्रतिशत मात्रै पर्यटक उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।
सुनसरी: इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।