ताप्लेजुङ: ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छभने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले दसैँअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएकामा दसैँपछि शुक्रबार मात्रै उडान भइरहेको थियो । मार्च ४ (फागुन २० गते) देखि उडान पुनः सञ्चालन गर्ने आधिकारिक सूचना आएपनि जहाज नआएकाले सञ्चालन गर्न नसकिएको सुकेटार विमानस्थलका वरिष्ठ अधिकृत धर्मेन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम कहिलेकाहीँ प्रमुख चुनौती भए पनि यस पटक मुख्य समस्या जहाज बिग्रिएर भएको हो । लामो समयदेखि हवाई सेवा बन्द हुँदा ताप्लेजुङको पर्यटन क्षेत्र प्रभावित भएको छभने स्थानीय बासिन्दा यात्राका लागि सास्ती खेप्न बाध्य भएका छन् । पर्यटकले हवाई सेवा लिन पाएका छैनन्, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामका लागि काठमाडौँसहित अन्यत्र जानुपर्ने सर्वसाधरण झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यतामा छन् । यात्रुहरूको सहज आवागमनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती ब्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दावी गर्दै आएको छ । “दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,” स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भन्नुभयो । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताउनुभयो । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । महाभारत, खानिखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । सो अवसरमा मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँका अनुसार मन्त्री मास्कले आपूmले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताउनुभयो ।
पाल्पा: जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आउनुभएको थियो । त्यही मजदूरीको भरमा सारुले आठ जनाको परिवार पाल्नुभएको थियो । पर्यटकीय स्थल फोक्सिङ्गकोट नजिकै वस्तीमा बसोबास गरिरहनुभएको उहाँले हाल मजदूरी गर्न छाड्नुभएको छ । केही समययता उहाँको वस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन भएपछि अर्काकोमा मजदूरी गर्नुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । सारु मजदूरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लाग्नुभएको छ । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उहाँ उत्साहित हुनुहुन्छ । यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका वासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् । आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’ बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई÷चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् । समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृङ्खला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् । होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झामे्र नाँच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताउनुभयो । होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालय समेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् । साथै, मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामान सङ्ग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ । भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको रु एक करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आफ्नै घरमा पाहुनालाई राखेर आफँैले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो । होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् । होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । त्यसैले होमस्टे स्थापना तथा प्रवर्द्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ । नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् । पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने र पर्यटनको माध्यमबाट दूरदराजका मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने यस कार्यविधिको उद्देश्य रहेको छ । होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । अहिले नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ । यहाँ घरवास सञ्चालनमा आएसँगै यस क्षेत्रका सांसद तथा मन्त्रीसमेतले चासो व्यक्त गरेका छन् । उनीहरुले होमस्टेको दिगो विकासका लागि आपूmले आवश्यक सहयोग गर्ने बताएका छन् । यहाँका नागरिकको आम्दानीको स्रोत होमस्टे बन्न सक्ने भन्दै उनीहरुले आवश्यक भौतिक पूर्वधार निर्माणमा आपूmहरुको सहयोग रहने स्थानीयसँग प्रतिवद्धता जनाएका छन् । पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । होमस्टेको कारण फोक्सिङ्खकोटको विकासमा महत्वपूर्ण योगदान पुग्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अब फोक्सिङ्खकोटमा आउने मोटरबाटो स्तरोन्नति हुनेछ, पर्यटकीय पूर्वाधारहरु निर्माण हुनेछन् ।’ सङघ, प्रदेश र स्थानीय सरकार मिलेर फोक्सिङ्खकोटको विकासमा अगाडि बढ्ने समेत सांसद आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले होमस्टे सञ्चालन हुनु राम्रो पक्ष भएकाले पाहुनाहरुलाई सन्तुष्टि गराउन सके यहाँका वासिन्दा घरमै बसीबसी आम्दानी गर्नसक्ने बताउनुभयो । ‘‘हामी सबैको चाहना गाउँलाई सुखी सम्बृद्धि बनाउने भएकाले स्थानीय उत्पादन, स्थानीय कला, संस्कृति र प्राकृतिक अवलोकनको अभियानबाट नै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ’’ उहाँले भन्नुभयो । होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पूर्वाधार, तालिम, तथा प्रचार–प्रसारमा प्रदेश सरकारको सहयोग रहने मन्त्री सारुले बताउनुभयो । उहाँले मगर समुदायको संस्कृतिको संरक्षण र स्थानीयलाई घर खर्च चलाउन होमस्टे उपयुक्त माध्यम बन्ने समेत विश्वास व्यक्त गर्नुभयो । होमस्टेलाई एउटा शुद्ध व्यापारका रूपमा मात्र नबुझेर संस्कृति, परम्परामा आधारित पर्यटन सेवा हो भन्ने होमस्टे सञ्चालक, होमस्टेमा बास बस्न आउने अतिथि पर्यटक तथा नीति निर्माताले बुझ्नुपर्छ । होमस्टे ग्रामीण पर्यटनको पूर्वाधार मात्र नभएर, समुदायको एकीकृत विकासको महत्वपूर्ण अङ्ग पनि हो । यसलाई एकीकृत विकासको अवधारणाअनुसार दीर्घकालीन सोचसाथ अगाडि बढाउन सकिएमा समुदायलाई सामाजिक र आर्थिक समृद्धिको पथमा डो¥याउन सकिन्छ । स्थानीय सामाजिक, साँस्कृतिक रहनसहन तथा वातावरणीय सम्पदालाई पर्यटन व्यवसायसँग जोडेर समुदायमा स्वरोजगारको अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्र सबलीकरण गरी देशको आर्थिक समृद्धिको अभियानमा होमस्टेले सशक्त भूमिका खेल्न सक्छ ।
पोखरा: पोखरा जुवा (सट्टेवाजी) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित सार्वजनिक स्थानमा गोटी प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा ४ जनालाई १ लाख ११ हजार रुपैयाँसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–९ बस्ने ४६ वर्षीय आविद अंसारी, सोही स्थान बस्ने ३३ वर्षीय मनोज राम हरिजन, पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–२५ हेमजा बस्ने ३० वर्षीय रामचन्द्र भण्डारी र बारा कलैया उपमहानगरपािलका घर भई पोखरा ९ बस्ने ३८ वर्षीय साजन साह छन् । प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ११ हजार, ५ थान मोबाईल र ग २० प १४९६ नम्बरको एकथान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले बरामद गरेको नगद, मोबाइल र मोटरसाइकल । फोटोः कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
म्याग्दी: म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फुलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । “मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सौन्दर्यकरणको परियोजना शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोष सहितका संघ संस्थाको रु। ३० लाख बजेटबाट शुरु भएको योजनालाई आगामी वर्षपनि निरन्तरता र पूर्णता दिन्छौ ।” गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको ब्यवस्था मिलाइने वडा अध्यक्ष केसीले बताउनुभयो । भुईमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइने गरिएको छ । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु। २० लाख बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु। छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दीरले रु। दुई÷दुई लाख उपलब्ध गराएका छन् । गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु। २४ लाख ३६ हजार पाँच सय ७१ मा ठेक्का लिएको छ । गत माघ महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनिधी नवराज बरुवालले भुईमा बिछ्याउने ढुङ्गा तयार पार्ने काम भइरहेको र तयार भएपछि ल्याएर यसै आर्थिक वर्षभित्र बिछ्याइने बताउनुभयो । कालीगण्डकी नदी किनारमा नौरोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले मनोकांक्षा पुरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ ।
पाल्पा: जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।
पोखरा: सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव बुधबार सकिएको छ। महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्नुभएको छ। त्यस अवसरमा भनाई राख्नुहुँदै महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्नुहुँदै पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिनुभयो। अव पर्यटक हिमाल हेर्न, सुर्योदय र सुर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन् प्रमुख आचार्यले भन्नुभयो । प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउनु हुँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याउनुभयो। सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको जनाउनु हुँदै आगामि दिनमा पनि सहयोगको अपेक्षा सुनाउनुभयो ।वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवम् प्रवद्र्धन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ, उहाँले उल्लेख गर्नुभयो। यज्ञका सहअध्यक्ष समेत रहनुभएका वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको स्पष्ट्र पार्नुहुँदै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा राख्नुभयो। कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतम सहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरियो। महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिनुभयो ।यि मध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबार मार्फत तथा अन्य महायज्ञका निःशुल्क वस एवम् स्वस्र्फूत रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ । सराङकोटमा वि।स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य सङ्घले आज भिट्ठामोडमा आयोजना गरेको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो । आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने उहाँले बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवायलय जनाएको छ । अध्यक्ष दाहालसमक्ष जलेश्वर उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र पनि बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थान बताउनुभयो ।
पर्सा: वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताउनुभयो । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उहाँले बताउनुभयो । “कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ”, उहाँले भन्नुभयो । कम्पनीमा हाल तीन सय ५०भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा रु एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा रु एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।