पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । टेवानको बिहीबार पोखरामा भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय...

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।       सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।  बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । 

दैलेख: भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।   सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गर्नुभएको हो ।  “हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।” उहाँले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो । सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, त्यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा अवगत गराउनुभएको थियो ।  उहाँले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तरक्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

पोखरा:   चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ ।  चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो। चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य का अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ। डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताइएको छ। चलचित्रका कलाकार तथा गायक रवि ओड ले ‘द्रौपदी’ प्रति ठूलो अपेक्षा रहेको बताए। चलचित्रका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै, दर्शकहरूको साथ र माया आवश्यक रहेको बताए। आफ्नो लागि अभिनयकला नयाँ भएता पनि मिहेनत गरेको भनाई उनको छ । उनी स्थानीय कुलेको भूमिकामा चलचित्रमा देखिएका छन् । चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवाली ले कन्टेन्टले आफूलाई तानेको बताए। अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताए।  निर्देशक ऋषिराज आचार्य आफ्नो पुरानो साथी भएको र कथाको विषयवस्तु मन परेका कारण नै आफु लगानीका लागि तयार भएको भनाई उनको छ । चलचित्रमा कलाकारको भूमिकामा उनी पनि देखिएका छन् । नायिका आश्विनी शाही ले ‘द्रौपदी’ एउटा सशक्त कथावस्तु बोकेको चलचित्र भएको बताइन्। उनले अनुहार हेरेर चलचित्र नहेर्न, बरु कन्टेन्टलाई प्राथमिकता दिन दर्शकलाई अनुरोध गरेकी छिन् । ‘द्रौपदी’ को हिरो नै कन्टेन्ट भएको भनाई उनको छ । चलचित्रको कन्टेन्टले दर्शकलाई निराशा नबनाउने विश्वास उनले लिएकी छिन् । चलचित्रकी अर्की नायिका सुजाता तिमल्सिनाले विकट भेगको कथा दर्शकसामु ल्याउन पाउँदा खुशी लागेको बताइन्। बलियो कथामा आधारित सिनेमामा आफु बाँधिन पाउँदा उनी हर्षित छिन् । पत्रकार सम्मलेनमा चलचित्रका टिजर, गीत तथा ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको र चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनोट भइसकेको जानकारी गराइएको थियो। निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको बताए। दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ । करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निमार्ण पक्षले जनाएको छ ।  ४८ दिन लगाएर छायाँकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागि समेत छनोट भएको बताइएको छ । मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टीम आशावादी छ ।   

मोरङ: लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो ।  ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।        बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन जानुभएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते हुनुभयो ।  भागेर ज्यान जोगाउन सफल हुनुभएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताउनुभयो ।       डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्युु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।  जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।       गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।  “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ”, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउनुहुन्छ ।       दिउँसो जङ्गलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताउनुभयो । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।       जङ्गली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।  मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा  करिव १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।

पर्सा: वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ ।  चौध वर्षदेखि डढेलोबाट जोगाउँदै आएको मुलुकभरकै उत्कृष्ट सामुदायिक वनलाई यस वर्ष पनि कसरी जोगाउने भन्ने चिन्ताकै कारणले उहाँ थप जिम्मेवारी बढेको अनुभव गर्नुहुन्छ ।           “वसन्त ऋतु आयो कि त हामीलाई हाम्रो सामुदायिक वन कसरी जोगाउने भन्ने चिन्ताले सताउने गर्छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म त उपभोक्ता समूहका सदस्य र वन हेरालुको संयुक्त प्रयासकै कारण सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेका छौँ ।”  अध्यक्ष मोक्तानले जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५९ जना सदस्यमध्ये हिउँद्यामको तीन महिना दैनिक १५ जनालाई आलोपालो गरेर गरेर वन जोगाउनका लागि खटाउँदै आइरहनुभएको छ ।       त्यति मात्रै होइन, सब–डिभिजन वन कार्यालय निजगढ र उपभोक्ता समूहले राखेका अन्य आठ कर्मचारी पनि वन जोगाउन अहोरात्र खटिँदै आइरहेका छन् । “सामुदायिक वनमा आबद्ध प्रत्येक घरधुरीबाट आलोपालो रुपमा मान्छे आएर सामुदायिक वनमा अग्निरेखा ‘फायरलाइन’ बनाउनेदेखि वनको चोरी–तस्करी नियन्त्रणमा सहयोग गर्दै आइरहनुभएको छ,” अध्यक्ष मोक्तानले भन्नुभयो, “मेरो एक्लो प्रयासले मात्रै त ३८७ हेक्टर क्षेत्रफलको वन जोगाउन कहाँ सकिन्थ्यो होला र ! सबैको सहयोग र सद्भावको कारणले मात्रै यो सम्भव भएको हो ।”      वन तथा भूसंरक्षण विभागले २०८१ साउन २५ गते सामुदायिक वन दिवसका अवसरमा मुलुकभर रहेका सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्ने उपभोक्ता समूहमध्येबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पनि यस वन उपभोक्ता समूहले रु एक लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो ।      उपभोक्ता समितिमा आबद्ध सदस्यले अपनत्व लिएकै कारणले अहिलेसम्म सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेको अध्यक्ष मोक्तान बताउनुहुन्छ । “अहिलेसम्म उपभोक्ता सदस्यहरुले निकै माया गरेर डढेलोबाट जोगाउँदै आइरहनुभएको छ,” उहाँले भन्नुभयो, “वनको गौंडागौंडामा समूहमा आबद्ध भएका स्थानीयको सुरक्षा दस्ता खटाएर अहिलेसम्म वन जोगाउँदै आइरहेका छौँ ।”       निजगढ सब–डिभिजन कार्यालयका प्रमुख निरज पोखरेल समुदायले वन संरक्षणमा सक्रियता देखाएकै कारणले वनजङ्गल संरक्षणमा सहजता आएको बताउनुहुन्छ । ‘‘समुदायले चाहने हो भने नसिकिने केही नहुँदो रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘यहाँको संरक्षणका उपाय अन्य सामुदायिक तथा साझेदारी वनले अपनाउँदा राम्रो हुने गर्छ ।’’ जनज्योति सामुदायिक वन तीन सय ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँका समुदायले सकेसम्म वनजङ्गलमा आगजनी हुनै नदिने, यदि भइहालेमा पनि तत्कालै आगो निभाएर वन संरक्षणमा ध्यान दिने योजनासहित काम गर्दै आइरहेको छ ।      डढेलोबाट जोगाउन थालियो पूर्वतयारी       मधेस प्रदेशमा आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारी थालिएको छ । हिउँद्याममा सम्भावित आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीको कामलाई तीव्रता दिँदै आइरहेको छ ।       मधेस प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले हिउँद्याममा सम्भावित वन डढेलो तथा आगजनीबाट जोगाउन पूर्वतयारीका काम अघि बढाइएको जानकारी दिनभयो ।  “हिउँद्याममा मधेस प्रदेशका वनजङ्गलमा डढेलो तथा आगजनीका दुःखद घटना हँुदै आइरहेका छन् । आगजनीको कारणले नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गरेका छन्,” उहाँले भन्नुभयो, “विगतका डढेलोका घटनाको पाठ सिक्दै यो वर्ष हामीले मधेस प्रदेशमा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीका कामलाई द्रूत गतिमा अघि बढाउँदै आइरहेका छौँ ।”      प्रदेश वन निर्देशक जयसवालले यस वर्ष डढेलो नियन्त्रणका लागि सङ्घीय र प्रदेश सरकार दुवैको समन्वयमा पूर्वतयारीको काम भइरहेको जानकारी दिनुभयो ।  “सङ्घीय सरकारले ‘रेड’ कार्यान्वयन र समृद्धिका लागि वन कार्यक्रमले पनि सम्भावित डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था मिलाउनुभएको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि वार्षिक स्वीकृत बजेट तथा कार्यक्रममा राखेर डढेलो नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आइरहेको छ ।”       मधेस प्रदेशको करिब दुई लाख दुई हजार २०२ हेक्टर क्षेत्र वनले ओगटेको छ । जुन प्रदेशको कुल क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वन क्षेत्रले ओगट्ने गर्छ । कुल वन क्षेत्रमध्ये ७१ हजार ३६९ हेक्टर क्षेत्रमा ५०४ वटा सामुदायिक वन रहेका छन् ।  त्यस्तै, ४० हजार ९१२ हेक्टर वन क्षेत्रमा १६ वटा साझेदारी वन क्षेत्र पर्दछ । निर्देशक जयसवालले वन क्षेत्रको मुख्य विनाशको कारकका रुपमा आगजनी, अतिक्रमण र चरिचरन रहेको बताउनुभयो । “जब जङ्गलमा आगजनी हुने गर्छ । तब जङ्गलमा भर्खरै उम्रेका नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गर्छ,” उहाँले भन्नुभयो ।       त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले वनजङ्गलमा भएका सुकेका काठदाउरा, पत्करको उचित व्यवस्थापन नहुँदा वनजङ्गलमा आगजनी हुने बताउनुहुन्छ ।  “वनजङ्गलमा भएका सुकेका काठदाउराको समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “तिनै सुकेका रूख, काठ, पत्कर, झाडीले झनै आगोलाई प्रज्वलनशील बनाउन मद्दत पु¥याउने काम गर्छ । त्यसैले वनजङ्गलमा हुने पत्कर तथा सुकेका काठलाई तत्कालै हटाउनुपर्ने हुन्छ ।”       सङ्घीय सरकारले पनि हिउँद्याममा वनजङ्गललाई डढेलोबाट जोगाउनका लागि रेड कार्यान्वयन केन्द्र काठमाडौँबाट प्रत्येक जिल्लामा पाँचजना वन कर्मचारीलाई करिब रु १८ हजार दिएर आगो निभाउने दस्ताका रुपमा परिचालन गरेको बताइएको छ ।  ‘समृद्धिका लागि वन’ कार्यक्रमले पनि आगजनी नियन्त्रण र न्यूनीकरणका लागि विभिन्न स्थानमा आगो निभाउनका लागि ट्र्याक्टर, टिलर समेतको ट्याङ्करको पनि व्यवस्था गरेको छ । केन्द्रबाट पनि कुनै पनि ठाउँको वनजङ्गलमा आगजनी भएको खण्डमा तत्कालै सूचना सम्प्रेषण गर्ने प्रणालीको पनि विकास गरेको छ । सो जानकारीका आधारमा तत्कालै वन डढेलो रोकथाम गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।      निर्देशक जयसवालले वनजङ्गलमा हुने डढेलो तथा आगजनी नियन्त्रणमा खटिने सुरक्षाकर्मी, वनरक्षक, वनहेरालुलगायत सबै कर्मचारीको बिमाको समेत प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।  “मधेस प्रदेश सरकारले पनि वार्षिक स्वीकृत कार्यक्रम पनि डढेलो नियन्त्रण सम्बन्धित कार्यक्रम समावेश गरेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार आफैँले पनि अग्नि नियन्त्रकका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान तथा उपकरण उपलब्ध गराउँदै आइरहेको छ ।” गत वर्ष सबैभन्दा धेरै आगजनी महोत्तरी र सर्लाही जिल्लामा भएको थियो ।      डढेलोबाट जोगाउन पूर्वसतर्कता अपनाइँदै      मधेस प्रदेशको आठ जिल्लामध्ये पर्साले पनि डढेलोजन्य विपद्बाट जोगाउनका लागि पूर्वतयारीको काम अघि बढाउँदै आइरहेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले कार्यालयले भर्खरै बढ्नियारमा दुईदिने डढेलो नियन्त्रण र व्यवस्थापनसम्बन्धी तालिम गरेको बताउनुभयो ।  “डिभिजन वन कार्यालयका वनरक्षक, वनहेरालु, रेञ्जर, फरेष्टरलगायत ५०÷६० सहभागी राखेर तालिम दिइसकेका छौँ,” उहाँले भन्नुभयो, “वनजङ्गलमा आगजनी भइहालेको खण्डमा तत्कालै नियन्त्रण गर्नका लागि सहज हुने आशा गरेका छौँ ।”      डिभिजन वन कार्यालय पर्साले रेञ्जरको नेतृत्वमा १० सदस्यीय दू्रत वन दस्ता ‘¥यापिड रेस्पोस्ड टिम’ बनाएर तयारी अवस्थामा राखेका छ । सो दस्तालाई पर्साको रङ्गपुर सब–डिभिजन वन कार्यालयमा राखिएको छ ।  “पर्सा जिल्लाको वनमा रहेका वनपथहरुलाई सफा गर्ने र छुट्याउने काम काम भइरहेको छ,” उहाँले भन्नुभयो, “आगजनी हुनु अगावै वनपथ क्षेत्र सफा गर्दा पनि धेरै हदसम्म आगजनी नियन्त्रण गर्न सहयोग पुग्छ ।”  डिभिजन वन कार्यालयले वनजङ्गल आसपासका स्थानीय समुदायमा पुगेर आगजनीबाट हुने क्षति र नोक्सानीको विषयमा पनि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ । 

नेपालगन्ज:  पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।        जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।  सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो ।       इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।      त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ ।  सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ ।      सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ ।      चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रू पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रू एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ ।      सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ । जसमध्ये, कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रू छ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ ।       त्यस्तै, गैरकर राजस्वतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ ।      सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रू नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।

काठमाडौं: समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।            मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्र्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ ।  “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत्  राजनीतिक पहल लिने निर्णय गरेको छ”, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले  भन्नुभयो ।           बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।            बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।            बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।