लमजुङः पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो । मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका अनुसार लामो समयदेखि सडकलाई स्तरवृद्धि गर्दै स्तरोन्नति गर्ने योजनासहित निर्माण अघि बढाइएको थियो । केही स्थानीयले मुआब्जा, सडकको चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पु¥याएका छन् । स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो घरजग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको हो। केही स्थानीयले सडकको डिजाइन परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन् । “हामी विकासको विरोधी होइनौँ, तर उचित प्रक्रिया अपनाइनुपर्छ”, सुन्दरबजारका रामप्रसाद पण्डितले भन्नुभयो । सुन्दरबजार बजार क्षेत्रका स्थानीयले श्रीचन्द्र लामिछानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सडक निर्माणको विरुद्ध सर्वोच्च आदालतसम्म मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । “मुद्दा दायर भएको दुई वर्ष वितिसक्दा पनि सर्वोच्चले कुनै आदेश गरेको छैन”, उहाँले भन्नुभयो । यता स्थानीय भने सर्वोच्चको आदेशपछि सडक निर्माण गर्न दिने बताउँदै आएका छन् । ठेकेदार कम्पनीको सडक निर्माणको म्याद दुई महिना मात्रै बाँकी छ । स्थानीयको अवरोध भइरहँदा सडक निर्माण अलपत्र परेपछि धुलो र धुँवाले आफूहरूले सास्ती भोग्नु परेको स्थानीय राजु न्यौपानेले बताउनुभयो । मध्यपहाडी लोकमार्ग योजना कार्यालयका प्रमुख ईश्वरबहादुर रिजालले केही स्थानीयको अवरोधका कारण सडक निर्माण अन्योलमा परेको बताउनुभयो । स्थानीयको अवरोध नहुने हो भने हप्ता दिनमा काम सुरु गरेर दुई महिनाभित्र सम्पन्न गर्नसक्ने गरी आफूहरू तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । स्थानीयको विवाद समाधान नहुँदासम्म सडक निर्माण अगाडि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ । स्थानीयको विवाद समाधान गर्ने प्रमुख दायित्व स्थानीय तह, समाजसेवी, स्थानीय सर्वदलीय प्रतिनिधि भएकाले सबै बसेर छलफलमार्फत समाधान खोज्नुपर्नेमा प्रमुख रिजालले जोड दिनुभयो । सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक निर्माणमा अवरोध हुन नहुने बताउँदै समस्या समाधानको पहल भइरहेको बताउनुभयो । “सडक निर्माण नगरिँदा सबै नागरिकले सास्ती खेप्नुपरेको छ । स्थानीय बासिन्दाको जायज माग सम्बोधन गर्दै काम अघि बढाउन पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख कोइरालाका अनुसार सम्बन्धित पक्षबीच छलफल भइरहेको छ । स्थानीय प्रशासन, नगरपालिकाका पदाधिकारी, सडक डिभिजन कार्यालय र प्रभावित स्थानीयबीच सहमति जुटाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सुन्दरबजारका बासिन्दाले यथाशीघ्र सडक निर्माण सुचारु गर्न माग गरेका छन् । लामो समयदेखि अस्तव्यस्त सडकको अवस्था सुधार्न ढिलाइ नगरियोस् भन्ने स्थानीय माग छ ।
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा मिथ्या आरोप भएको बताउनुभएको छ । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ का सम्बन्धमा अस्वीकार गरियोस्’ भन्नेमा सांसद गोपीबहादुर सार्की अछामी, सांसद जगतबहादुर पार्की, सांसद राधेश्याम पासवान र सांसद उदयबहादुर बोहोराले प्रस्ताव पेस गर्नुभएको थियो । सोही प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले वर्तमान सरकार सङ्घीय लोकतन्त्रक गणतन्त्रको मूलभूत सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो । सरकारले ल्याएका अध्यादेश सबैको आवश्यकताका रूपमा रहेका उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “राज्य सबैको हो । मुलुकको समस्याका रूपमा रहेका ढिलासुस्ती, कुशासन, अनियमियतता हटाएर सुशासन कायम गर्न र विश्वासको माध्यमबाट समृद्धिको लक्ष्य निमाण गर्न यो अध्यादेश ल्याइएका हो ।” मन्त्री गुरुङले भन्नुभयो, “यो सरकार लोकतान्त्रिक पद्दतिमा विश्वास गर्दछ । सङ्घीय लोकतन्त्रका मूलभूत सिद्धान्तको रक्षा गर्नेमा सरकार प्रतिबद्ध छ । संसद्लाई गरिमामय र मर्यादित बनाउनुपर्नेमा प्रतिबद्ध छौँ । विधिगत रूपमा अस्वकीर गर्नुपर्नेमा तर्कअनुसार कुनै औचित्य देखिएन । निरङ्कुशता बढ्यो भन्नु मिथ्या आरोप हो ।”
काठमाडौं: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री खडकाले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्याङ्कन गर्न नसकिएको जानकारी दिनुभयो । पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मूल्याङ्कन गर्न भन्दै आफैँले नम्बर तोकेर पठाएकाले समस्या भएको उहाँको भनाइ छ । डेडिकेटेड र ट्रङ्कलाइन बापत उठ्नपर्ने रु २२ अर्ब रकमसमेत प्राधिकरणको नाफाका रूपमा राखिएको पाइएको मन्त्री खड्काले बताउनुभयो । विभिन्न विषयका कारण प्राधिकरणको नाफा एकिन गर्न नसकिएको उल्लेख गर्दै उहाँले वास्तविकता पत्ता लगाएर मात्रै शेयर बिक्री गरिने जानकारी दिनुभयो । भारतबाट आयात गरिएको भन्दा नेपालबाट गरिने बिजुलीको निर्यात बढी हुने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अनुसन्धान गरिने बताउनुभयो । उहाँले नीति, नियम तथा कानुन सबैले मान्नुपर्नेमा जोड दिँदै ऊर्जा मन्त्रालय पनि सोहीअनुसारको व्यवहार गर्नरगराउन लागिरहेको स्पष्ट पार्नुभयो ।
महोत्तरी: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।” प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताउनुभयो । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको हालसम्म गरिएका अध्ययनअनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उहाँले बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भन्नुभयो, “यो खोपले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट सुरक्षित गराउँछ । यो खोप सुरक्षित र प्रभावकारी छ । यसबाट हालसम्म कुनै गम्भीर किसिमका असर वा घटना भएका छैनन् ।” सांसद मदनकुमारी शाह (गरिमा)ले किशोरीलाई लगाइने यो खोप पूर्ण स्वास्थ्यका दृष्टिकोणबाट कति सुरक्षित छ? र यो खोप पुरुषलाई दिने प्रबन्ध सरकारले कहिले मिलाउने भनी प्रश्न गर्नुभयो । उत्तरमा मन्त्री पौडेलले अन्य राष्ट्रमा पुरुषलाई पनि दिने गरिएको बताउँदै यसबारे सहयोगी राष्ट्रबाट उपलब्ध हुन सक्छ की भन्नेमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । गत माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरूआत गरिएको अभियानमा हालसम्म १४ लाख किशोरीले यो खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यसलाई नियमित खोपका रूपमा कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइनेछ ।
महोत्तरी: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ । नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।
ललितपुर: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घको छैठौँं केन्द्रीय महाधिवेशन उद्घाटन गर्नुहँुदै उहाँले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गर्नुभयो । उहाँले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्नसक्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो “लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।” उहाँले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनुभयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो ,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।” पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूतपूर्व सैनिकको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई थप व्यवस्थित बनाउन अनुशासनको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ भन्नुभयो । लोकतान्त्रिक खेलकुद सङ्घको महाधिवेशन निर्देशक समितिका प्रमुख एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भूतपूर्व सैनिक सङ्घ पार्टीले भर गर्नसक्ने सङ्गठनका रुपमा विकसित हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाली सैनिकको नाम लिने वित्तिकै विश्वले शिर उच्च बनाउने अवस्था रहेको भन्दै पार्टीलाई पनि अनुशासित बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गर्नुभयो । बस्नेतले सार्वजनिक खपतका लागि पार्टीभित्रको विषयलाई अनावश्यक उछाल्ने काम हुन नहुने भन्दै सैनिक सङ्घलाई बलियो बनाउँदा पार्टी बलियो हुने प्रष्ट पार्नुभयो । नेपाली कांग्रेसको महिला विभागको प्रमुख एवं केन्द्रीय सदस्य पुष्पा भुुसालले भूतपूर्व सैनिकले हरेक राजनीतिक उत्तरचढावमा काम गर्न, नेपालको पहिचान कायम राख्न ठूलो योगदान पु¥याएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले लोकतन्त्र प्राप्ति र पुनःप्राप्तिको आन्दोलनमा भूतपूर्व सैनिकको महत्वपूर्ण योगदान रहेको बताउँदै भूतपूर्व सैनिकले जानेको सीप र दक्षतालाई पार्टीमा उपयोग गरेर बलियो बनाउनुपर्छ भन्नुभयो । उहाँले पार्टीको अबको यात्रामा भूतपूर्व सैनिकको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भन्नेमा जोड दिनुभयो । सङ्घको राष्ट्रिय महाधिवेशन यही फागुनसम्म २४ गतेसम्म चल्नेछ ।
ताप्लेजुङ: ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छभने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले दसैँअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएकामा दसैँपछि शुक्रबार मात्रै उडान भइरहेको थियो । मार्च ४ (फागुन २० गते) देखि उडान पुनः सञ्चालन गर्ने आधिकारिक सूचना आएपनि जहाज नआएकाले सञ्चालन गर्न नसकिएको सुकेटार विमानस्थलका वरिष्ठ अधिकृत धर्मेन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम कहिलेकाहीँ प्रमुख चुनौती भए पनि यस पटक मुख्य समस्या जहाज बिग्रिएर भएको हो । लामो समयदेखि हवाई सेवा बन्द हुँदा ताप्लेजुङको पर्यटन क्षेत्र प्रभावित भएको छभने स्थानीय बासिन्दा यात्राका लागि सास्ती खेप्न बाध्य भएका छन् । पर्यटकले हवाई सेवा लिन पाएका छैनन्, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामका लागि काठमाडौँसहित अन्यत्र जानुपर्ने सर्वसाधरण झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यतामा छन् । यात्रुहरूको सहज आवागमनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती ब्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दावी गर्दै आएको छ । “दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,” स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भन्नुभयो । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताउनुभयो । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । महाभारत, खानिखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । सो अवसरमा मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँका अनुसार मन्त्री मास्कले आपूmले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताउनुभयो ।