खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भङ्गेटारका २४ घरले चन्दा सङ्कलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो । रिचार्ज पोखरी बनाउने उद्देश्यले रु आठ लाख लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुङ्गा निर्माण गरेर व्यावसायिकरुपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताउनुभयो । “खार्मीको काङ्साहोप, बाँझोबारी, रमितेडाँडा, निङ्गालेडाँडा लगायतका ठाउँहरु आफैमा पर्यटकीय क्षेत्र हो । यसको पर्यटन प्रवद्र्धन गर्न सकेमा वडाको मात्र नभइ नगरपालिकाको समेत आम्दानीको स्रोत वृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “कृत्रिम तालमा जम्मा भएको पानीमा माछापालन व्यवसायसमेत उपयुक्त हुने भएकाले ग्रासकार्प प्रजातिका १९ किलो माछाका भुरा ल्याएर हालेका छौँ ।” जमिन रिचार्ज गर्नुका साथै तल्लो क्षेत्रका स्थानीयको खेतबारीमा सिँचाइ गर्न मिल्नेगरी निर्माण गरिएको ‘एल’ आकारको ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि डुङ्गा सयर गर्ने स्थलकोरुपमा विकास हुँदै गएको छ । तालमा दुईवटा काठको गुङ्गा निर्माण गरेर सञ्चालन गरिएको छ भने, सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकबाट रु एक सय लिने गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई गुङ्गा सयर गराउने तालिम प्राप्त व्यक्तिलाई रु ५० र समितिमारु ५० रकम जम्मा गर्ने गरिएको सञ्चालक समितिले जनाएको छ । गुङ्गा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट सङ्कलन भएको रकम ताल सरसफाइ तथा व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । तालमा ढुङ्गा सयर गर्ने र हेर्नेको भीड लाग्न थालेपछि तालसम्म पुग्नका लागि कच्ची सडकसमेत निर्माण गरिएको सचिव तामाङले बताउनुभयो । “तामाङ भाषामा मट्याङ्ग्रा तथा मूर्ति बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भन्ने गरिन्छ । मट्याङ्ग्रा तथा मूर्ति बनाउने माटो भएको ठाउँमा ताल निर्माण गरिएकाले तालको नाम ‘काङ्साहोप ताल’ राखेका छौँ”, उहाँले भन्नुभयो, “कच्ची सडकसमेत निर्माण गरेर सञ्चालनमा आएपछि तालमा गुङ्गा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।” नियमित पानी पलाउने ठोट्नेखोल्सा मुहान भएको सानो खाल्डोलाई स्काभेटरले फराकिलो बनाएर निर्माण गरिएको काङ्साहोप तालमा व्यावसायिकरुपमा पालिएका माछाको हेरचाह स्थानीयबासी आफैले गर्दै आएका छन् । टाढाबाट झट्ट हेर्दा पानको पातजस्तो आकृति देखिने काङ्साहोप तालमा हिउँद्को समयमा समेत पानी कम हुन नदिन नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हाल्ने गरिएको जनाइएको छ । काङ्साहोप तालबाट दुई मिनेट पैदल यात्रा गर्दा पुगिने पश्चिम दिशामा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ । समुन्द्री सतहदेखि करिब एक हजार सात सय मिटर उचाईमा रहेको काङ्साहोप तालबाट उच्च हिमशृङ्खला तथा टाढा–टाढाका मनोरम दृश्याहरुको सजिलै अवलोकन गर्न सकिन्छ । स्थानीयबासीकै सक्रियतामा बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गरेपछि आवतजावतमा समेत सहज भएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट आवश्यक बजेट प्राप्त भएको खण्डमा काङ्साहोप तालको क्षेत्रफल थप बढाउन सकिनेगरी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत निर्माण गरिएको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बाह्रै महिना पानी पलाउने खाल्डोलाई स्थानीय बासिन्दाले कृत्रिम तालको रुपमा विकास गरेपछि वडा कार्यालय खार्मीले तीन वर्षअघि उपलब्ध गराएको रु दुई लाख ५० हजार बजेटबाट ड्याम निर्माण गरिएको छ । चार वर्षअघि निर्माण गरिएको काङ्साहोप तालभन्दा तल्लो भेगमा यसअघि सुकिसकेका पानीको मुहानमासमेत पुनः मुल फुटेको स्थानीयबासीले बताएका छन् । काङ्साहोप तालभन्दा करिब एक सय मिटर तल नयाँ मुल फुटेपछि ताल निर्माण उपभोक्ता समितिका सचिव तामाङले व्यक्तिगत लगानीमा यसै वर्षबाट माछापालन सुरु गर्नुभएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा भएको पाँच दिने तालिम मंगलबार सुरु गर्दै उनले यस्तो धारणा राखेका हुन् । तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकहरुलाई मोटरेबल पुल निर्माणबारे विभिन्न विषयमा ज्ञान दिइनेछ । मन्त्री केसीले तालिममा सहभागी भई सडक, पुलहरुको नक्सा अध्ययन, डिजाइन, निर्माणसम्बन्धी सीप, ज्ञान सिक्न र त्यो ज्ञान व्यवहारमा लागू गर्न आग्रह गरे । कर्मचारीले स्थायी सरकारको रुपमा जनताले अनुभूत गर्ने गरी सेवा प्रदान गर्नुपर्ने विचार राख्नै मन्त्री केसीले राम्रो कामका लागि मन्त्रालयको ढोका सधै खुला रहेको जनाए । प्रदेश लोक सेवाबाट आएका नयाँ कर्मचारीलाई सीप र दक्षता सिकाउन सुरु भएको पर्यवेक्षण तालिममा ३६ प्राविधिक सहभागी छन् । तालिममा पुल, पुलका पार्टपुर्जा, लेआउट, कंक्रिटको परीक्षण, मिश्रण, आरसिसी संरचनाको गुणस्तर नियन्त्रण, विवरण, सामग्री ढुवानीको पक्ष, ब्रिज फाउन्डेसन, ओपन फाउन्डेसन, डिप फाउन्डेसन उत्खनन, विस्तार, जोइन्ट, वोल्ट वायारिङ, गुणस्तर आस्वासन योजना आदिबारे जानकारी दिइनेछ । प्रशिक्षार्थीलाई विभिन्न समूहमा विभाजित गरी मोटरेबल पुलका विभिन्न अवस्था, देखा पर्ने समस्या र न्यूनीकरण गर्ने उपायबारे सिकाइनेछ । पूर्वाधार विकास निर्देशानालय गण्डकी प्रदेशका निमित्त निर्देशक रामकुमार श्रेष्ठको अध्यक्ष्यतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले कार्यकुशलता र कार्यदक्षता अभिवृद्धि गर्न तालिम उपयोगी भएको बताए । स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रमका कार्यालय प्रमुख साखिल मानन्धरले पहिले नेपालमा मोटरेबल सडक विभागले मात्र बनाउने गरेको स्मरण गर्दै धेरै ठाउँमा कर्मचारी र आवश्यक सामग्रीको अभावले गर्दा काम ढिलो हुने गरेको जनाए । भौगोलिक कारणले नेपालमा धेरै पुल चाहिने उल्लेख गर्दै उनले सडक र पुलको गुणस्तर योजनावद्ध रुपमा सुधार्दै जानुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सडक तथा सहरी विकास माहाशाखाका प्रमुख सिडिई राम पराजुली, स्थानीय सडक पुल कार्यक्रम गण्डकी प्रदेशका कार्यक्रम संयोजक अस्मित पोखरेल, इन्जिनियर हरिशंकर जोशी, लगायतले बोलेका थिए भने पूर्वाधार विकास निर्देशानालयका ल्याब टेक्निसियन सचिन अधिकारी तालिमको संचालन गरेका थिए ।
काठमाडौं: अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुग्नु भएको छ । उहाँलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गर्नु भएको थियो । मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उहाँले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
बागलुङ: बागलुङको तंग्राममा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी छिन् । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका ३० वर्षीय हिमाल परियारले १९ वर्षीय श्रीमती अन्जु परियारलाई बन्चरो प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए । कार्तिक ४ गते आईतबार दिउँसो साढे १२ बजे बन्चरो प्रहार गर्दा श्रीमती अन्जुको टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ । घाईते अन्जुको अहिले विर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको डिएसपि यादवले जानकारी दिए । घर नजिकै गोरेटो बाटोमा श्रीमतीलाई बन्चरो प्रहार गरेपछि हिमालले आफुलाई पनि टाउँकोमा बन्चरो प्रहार गरेको डिएसपि यादवले बताए। हिमालको अवस्था सामान्य रहेको जनाइएको छ । श्रीमान हिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार जिल्ला अदालत बागलुङबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ । घरयासी विवादको कारणले बन्चरो प्रहार गरेको प्रारम्भक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको डिएिसपि यादवले जानकारी दिए ।
काठमाडौं: हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ । वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ । डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिनुभयो । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको उहाँले बताउनुभयो । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको महानिर्देशक डा कँडेलले बताउनुभयो । “हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन् ।” हिउँ चितुवा संरक्षणमा लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याउँदै महानिर्देशक डा कँडेलले विभागले स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन सर्वेक्षण गर्ने गरेको बताउनुभयो । “यसले गर्दा चोरी निकासीमा अलिकति भए पनि कमी आएको छ”, उहाँले भन्नुभयो । विभागले हिउँ चितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउन सहयोग गर्दै आएको छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय रहेको अनुमान हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ गणना गर्न सम्भव नभएकाले भूगोललाई विभिन्न क्षेत्रमा विभाजन गरी गणना गर्न सुरु गरिएको बताउनुभयो । पूर्वको कञ्चनजङ्घाबाट गणेश हिमालसम्म, मनास्लुबाट धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीबाट अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् । मन्त्रालयले यसअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार डोल्पा क्षेत्रमा ९० हिउँ चितुवाको सङ्ख्या रहेको छ । यसको गणना ‘क्यामेरा ट्रयाप’बाट गर्ने गरिएको छ । “तराईमा स्वस्थ पारिस्थितिक प्रणालीको सूचक बाघ भएजस्तै उच्च हिमाली क्षेत्रको स्वस्थ पारिस्थितिक प्रणालीको सूचक हिउँ चितुवा हो”, सिनियर इकोलोजिष्ट आचार्यले भन्नुभयो, “त्यसैले यसको ठूलो महत्व छ । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँ चितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो पनि हुन्छ ।” लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखनलाई सरोकारवाला सबै मिलेर प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालयले हिउँ चितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँ चितुवा संरक्षण र कार्य योजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ । योजनामा अनुसन्धान र अनुगमनमार्फत हिउँ चितुवाको पर्यावरणीय स्थिति, सिकार, बासस्थानबारे ज्ञान बढाउने उद्देश्य लिएको छ । कार्ययोजनामा हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तर्राष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् । छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँ चितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।
काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।
पर्सा: मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उहाँको विश्वास छ । चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा रु छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।
गलकोट: बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो । असोजमा भेटीमार्फत रु २२ लाख ८० हजार, परेवा बिक्रीबाट रु ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा रु तीन लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु चार लाख चार हजार, चामल बिक्रीबाट रु ९६ हजार सङ्कलन भएको छ । साथै कुखुरा बली शुल्कबाट रु ३० हजार आठ, राँगा बलीबाट रु १८ हजार चार सय, विवाह शुल्क रु १० हजार पाँच सय, आर्थिक सहयोग रु एक लाख ४७ हजार आठ सय ७१, पण्डितबाट प्राप्त शुल्क रु १६ हजार चार सय र व्रतबन्धबाट रु तीन सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । साथै असोजमा विभिन्न शीर्षकमा रु १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको छ । चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैते दसैँमा पनि रु ४० लाख भेटी सङ्कलन भएको थियो ।
पोखरा: नेपाल क्रीकेट संघको आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ । यही कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अहिले १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् । साथै उनले नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन् । टाेलीको छनाैटका लागि गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई-वाई यु-१९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता २०८१” मा प्रतिकुल मौसमका कारण पुर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७ खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो । २०८१ असोज २० गते देखि २४ सम्म पोखरामा संचालित बन्द प्रशिक्षणको दोश्रो चरणमा २४ खेलाडीहरु सहभागी थिए। गण्डकीको टिममा करण पंगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् । त्यसैगरी वैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेशसँग खेली प्रतियोगिताको सुरुवात गर्ने छ । रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको छ । टोलीको व्यवस्थापकमा स्याङ्जाका अभिषेक ढकाल रहेका छन् ।