कञ्चनपुर:    जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।&nb...

बाँके:   कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।       आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ ।  नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गर्नुभएका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताउनुभयो ।        “सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैँ–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ”, उहाँले भन्नुभयो, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।”      नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दसैँमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताउनुभयो । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उहाँको भनाइ छ ।        नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाहरुले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आउनुभएको छ ।  जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आउनुभएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताउनुभयो । अन्य बेलाभन्दा दसैँ–तिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उहाँको भनाइ छ ।       नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन् । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताउनुभयो ।  उहाँले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको बताउनुभयो । यो दसैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ । बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गर्नुभयो ।       कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको ‘अग्र्यानिक’ स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ ।    भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई सय ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अग्र्यानिक स्याउ बाँकेमा प्रतिकिलो रु ९० देखि रु एक सय २० सम्ममा पाइन थालेपछि यो वर्षको दसैँ–तिहारमा उपभोक्तालाईको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो ।       उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ । कबडियाले सीमापारिबाट आउने भारतीय नागरिकले समेत कोसेलीका रुपमा कर्णालीको स्याउ किनेर लैजाने गरेको बताउनुभयो । 

अर्घाखाँची:     नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ ।      अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ ।  अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो ।       अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।       सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिनुभयो ।      भातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताउनुभयो । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ । 

पर्वत:     जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।  कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।  जिल्लाको कुश्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो । कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गर्नुभयो । उहाँका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो ।  एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उहाँको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ । महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताउनुभयो । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उहाँको गुनासो छ । पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने बताउनुभयो ।  किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताउनुभयो । यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उहाँको भनाइ छ ।

काठमाडौं:    भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।  भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्न सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७४ मा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।  योजना प्रमुख धु्रवकुमार झाले मालढुङ्गाबाट जोमसोमसम्म ८९ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि आठवटा खण्डमा ठेक्का सम्झौता भएकामा बेनी–गलेश्वर तीन किलोमिटर, गलेश्वर एक किलोमिटर र कैकुखोला–खन्ती १२ किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्ने कार्यले पूर्णता पाएको बताउनुभयो ।  “मालढुुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुुखोला र खन्ती–जोमसोम खण्डमा कालोपत्र गर्ने कार्यले अझै पूूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई समन्वय, कारबाहीको चेतावनी र समन्वय गरेर काममा फर्काउन ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन ।” ठेक्का सम्झौता गरेको निर्माण कम्पनी आफैँले काम नगरेर दोस्रो, तेस्रो पक्षलाई काममा लगाउनु, ठेकेदारले कार्ययोजनाअनुुसार उपकरण, मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्नु, सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा भत्काउन ढिलाइ हुनु, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूबनोट, नदी कटान र बाढीपहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित बनेको सरोकारवालाले बताएका छन् ।  कालोपत्र र ढलान भएको सडकमा पहिरो, बाढी र कटानका कारण क्षति पुगेको छ । हिउँदभरि निर्माण गरेको सडक बर्खामा क्षतविक्षत हुने र बीमा भुक्तानी पाउन ढिलाइ हुँदा काम प्रभावित हुुने गरेको नागढुङ्गा–कैकु खण्डको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो ।  सम्झौताअनुसारको परिणामको काम गरे पनि विपद्का कारण क्षति पुगेको उहाँको भनाइ छ । पहिरो, कटान र बाढीको जोखिम न्यूनीकरणका लागि थप बजेट र योजना आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।  कुन खण्डमा कति प्रगति ? पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का लिएको थियो ।  सार्वजनिक खरिद ऐनको १३औँ संशोधनअनुुसार अन्तिमपटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको यस खण्डको भौतिक प्रगति ६२ प्रतिशत छ । ठेक्का अवधि सकिएपछि निर्माण व्यवसायी जरिवानामा परेको छ । रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा शर्मा युनाइटेड जेभीले ठेक्का लिएको थियो । विसं २०७७ मा सम्पन्न हुनुपर्ने यो खण्डको ९० प्रतिशत भौतिक प्रगति भएको छ । यो खण्डको विभिन्न ठाउँमा नौ किलोमिटर कालोपत्र भएको छ । विसं २०७४ मा शर्मा–गजुरमुखी जेभीले ठेक्का लिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी नागढुङ्गाबाट मुस्ताङको घाँसासम्मको १७ किलोमिटर खण्डको ९० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत रु ६३ करोड पुगेको हो ।  घाँसा खण्डमा दुई किलोमिटर कालोपत्र र बादरजुङ क्षेत्रमा एक किलोमिटर छ सय मिटर ढलान भएको यो खण्डमा थप आठ दशमलव पाँच किलोमिटर कालोपत्रको तयारी भएको छ ।  पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा दुई दशमलव पाँच किलोमिटर सडकलाई कालोपत्रबाट हटाइएको छ । पप्पु–गौरी–पार्वती–कोशी एण्ड न्यौपानेले २०७४ सालमा रु ७० करोड ५२ लाखमा ठेक्का सम्झौता गरेको मुस्ताङको खन्तीबाट टुकुचे, मार्फा, स्याङ हुँदै जोमसोमसम्मको १६ किलोमिटर सडकको हालसम्म ९६ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताउनुभयो । खन्ती–टुकुचे र मार्फा क्षेत्रमा कालोपत्र र जोमसोम बजारभित्र ढलान सकिएको यो खण्डको बाँकी ठाउँमा कालोपत्र गराउन निर्माण व्यवसायीलाई ताकेता गरेको उहाँले बताउनुभयो । सकसपूर्ण यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बेनीका प्रकाश पौडेलले बताउनुभयो । पौडेलको अगुवाइमा बेनी र जलजलाका सरोकारवालाले सडक निर्माणलाई गति दिन दबाबमूलक अभियान थालेका छन् ।  यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्ने, दुर्घटनाको जोखिम, ढुवानी र यात्रुुको भाडादर महँगो भएको छ । “जोमसोमबाट कोरलासम्मको सडक सहज भए पनि मालढुङ्गाबाट बेनी हुँदै (कैकु–खन्ती-खण्डबाहेक जोमसोमसम्म सडक निर्माणले पूर्णता नपाएको, पहिरो, हिलो र धुलोले सास्ती बनाएको छ”, उहाँले भन्नुभयो, “धार्मिक हिसाबले मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डमा भएको सकसले नराम्रो सन्देश प्रवाह भएको छ ।” आठ वर्षमा ८४ प्रतिशत प्रगति   दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति २०७३ सालमा सुरु भएको आयोजनाको आठ वर्षमा ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।  निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी चापागार्इँले बताउनुभयो ।  चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ ।  मालढुङ्गाबाट कागबेनीसम्म आठवटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकामा चारवटा सकिएको र चारवटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीनवटा अस्थायी बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ । अधुरो सडक निर्माणलाई पूूर्णता दिन म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाले दबाब सिर्जना गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा गत हप्ता आयोजना, निर्माण व्यवसायी, जनप्रतिनिधि, प्रशासन, सुरक्षा अधिकारी र दबाब अभियानका अगुवाहरू बीच सडक निर्माणमा देखिएका समस्या समाधान गरी स्तरोन्नतिको कामलाई तीव्रता दिने विषयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ठेकेदार र आयोजना पक्षले निर्माणलाई गति दिने, जनप्रतिनिधिले नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा सहज वातावरण बनाउने र निर्माणस्थलमा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि सबैले सहजीकरण गर्ने सहमति भएको बताउनुभयो ।

काठमाडौं:    नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ ।  अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो । स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो ।  अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ  । चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र  शोषणको लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ । स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी हुनुहुन्थ्यो । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुनुहुन्छ । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गर्नुभएको थियो ।

तनहुँ:    किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ ।  म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गर्नुभएको हो ।  म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताउनुभयो । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उहाँले भन्नुभयो, “तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ ।” यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । उहाँका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो । उहाँले भन्नुभयो, “तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ । पोखरामा पनि सम्पर्क भइरहेको छ ।” शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाउनुभएका उहाँले यस वर्ष टिटी जातको फूलखेती गरिएको जानकारी दिनुभयो । उहाँले गत वर्षको तिहार र एकादशीमा रु एक लाख बराबरको सयपत्री बिक्री गर्नुभएको थियो । दुई वर्षदेखि फूलखेतीमा आबद्ध उहाँले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गर्नुभएको थियो ।       उहाँले भन्नुभयो, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ”, व्यवसायी मञ्जुले दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको छ ।       विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो ।  श्रेष्ठले भन्नुभयो, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।” गाउँघरमा जग्गा बाँझै रहेकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ प्रोत्साहन गर्न सरकारले सघाउनुपर्ने उहाँको भनाइ छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको उहाँले सुनाउनुभयो ।  यस्तै आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा लघुउद्यम महिला सङ्घले ४० रोपनी जग्गामा सयपत्री फूलखेती गरेको छ । अघिल्लो वर्ष २२ रोपनी क्षेत्रफलमा फूलखेती गरिएकामा स्थानीयस्तरमै फूलको माग बढी भएपछि यसपटक क्षेत्रफल विस्तार गरिएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिनुभयो ।  यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिलाहरू फूलखेतीमा आकर्षित रहेको बताउँदै उहाँले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ । पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ । 

गण्डकी:    विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय सञ्चालनका लागि सहयोग अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत हालसम्म चार अक्षयकोषसहित रु पाँच लाख सङ्कलन भएको छ ।      बाल पुस्तकालयको स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले अक्षयकोष खडा गरेको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार पुस्तकालयका सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गर्नुभएको हो ।       गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका लक्ष्मी थापा, अष्ट्रेलियमा रहनुभएका पुनम थापा, पूजा थापा र काठमाडौँमा रहनुभएका कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु ५१ हजार आठ सय १७ को ‘महावीर–पवित्रा स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको सचिव शर्माले जानकारी दिनुभयो ।       यस्तै पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा रु ५० हजार राशिको र बागलुङ–२ निवासी सुन्दरी श्रेष्ठले आफ्नी आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।       पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी र उहाँको परिवारको  तर्फबाट बाल पुस्तकालयका लागि रु २५ हजार, शिवशक्ति अटोमोबाइल्सका तर्फबाट सञ्चालक शिवशङ्कर शाहले रु २५ हजार, एनप्याब्सन बागलुङ नगर समितिकोतर्फबाट रु १५ हजार प्राप्त भएको पुस्तकालयले जनाएको छ ।       यसअघि गत माघमा आयोजित पुस्तकालयको स्थापना दिवसमा पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले रु एक लाख सहयोग गरेसँगै बाल पुस्तकालयका लागि सहयोग जुट्न सुरु गरेका थियो ।  यसबीचमा गलकोट नगरपालिका–७ मल्म घर घई हाल जापानमा रहनुभएका तलवीर थापाले रु २० हजार, कूलवीर थापाले रु १० हजार, बागलुङ बजार निवासी मछिन्द्र शाक्यले रु पाँच हजार, सिगाना निवासी बुद्धिविनायक कार्कीले रु पाँच हजार सहयोग प्रदान गर्नुभएको पुस्तकालयले जनाएको छ ।       यस्तै गलकोट, मल्म घर भई काठमाडौँमा व्यवसाय गर्नुहुने राजु थापाले रु पाँच हजार, बागलुङ बजारका व्यवसायी अशोककुमार श्रेष्ठले रु पाँच हजार, पुस्तकालयका पूर्वअध्यक्ष पद्ममचन्द्र राजभण्डारीले रु पाँच हजार र गुठी निवासी गगन पुनले रु तीन हजार प्रदान गर्नुभएको छ ।      होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालबाट रु पाँच हजार, कोरियामा रहनुभएका सज्जनकुमार सिंहबाट रु पाँच हजार पाँच सय ५५, काठखोला गाउँपापलिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेबाट रु तीन हजार सहयोग प्राप्त भएको सचिव शर्माले जानकारी दिनुभयो ।       “बाल पुस्तकालयका लागि बागलुङ नगरपालिका, विभिन्न वडा कार्यालयबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको छ”, उहाँले भन्नुभयो, “कसैले बालबालिकाका पुस्तकलगायत भौतिक सामग्री प्रदान गरिरहनुभएको छ ।”       बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री सहयोगदाताहरुले उपलब्ध गराउन सक्ने पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँले बाल पुस्तकालयलाई लागि रु १२ लाख लागत लाग्ने अनुमान गरिएको उल्लेख गर्नुभयो ।      पुस्तकालयक भवनको छुट्टै कक्षमा बाल पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको उपाध्यक्ष शर्माले बताउनुभयो । पुस्तकालयले सेवाको विविधीकरणसँगै आन्तरिक व्यवस्थापन र सुधारका काममा आफूलाई केन्द्रित गरेको उहाँको भनाइ छ । बाल पुस्तकालय सञ्चालनका लागि जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्नेक्रम जारी रहेको उहाँले बताउनुभयो ।       बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन सीपको विकास गर्ने ध्येयले बाल पुस्तकालय सञ्चालन गर्न लागिएको हो । पुस्तकालयले पठन संस्कृतिको प्रवर्द्धन, भाषा, साहित्य र कलाको जगेर्ना एवं उत्थान, सामाजिक जागरण, सचेतना, सीप तथा नेतृत्व विकास, प्रतिभा पहिचानलगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।       जहाँनिया राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।      स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।       प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । 

पाल्पा:    झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् ।  रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।   यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामकरण गरिएको छ । यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलका रुपमा यो क्षेत्र प्रख्यात बनेको छ ।  रामपुर–६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ ।  पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिँड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्धमूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ ।  पार्कमा आन्तरिक पर्यटक आउनेजाने क्रम बढ्दै जाँदा व्यायाम गर्न व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला निर्माणपछि बिहानसाँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिति छ ।   आर्थिक वर्ष २०७७÷७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट््याएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आर्थिक वर्ष २०७८÷७९ मा रु दुई लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका काम थालनी गरिएको हो । बुद्धमूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुईवटा प्रतिक्षालय निर्माण गरिएको छ ।  यस पार्कको सुन्दरतालाई बढाउन गत आवमा रामपुर नगरले कालीआँप–विजयपुर–बुद्धपार्क हुँदै तालपोखरा–तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ ।  गत आव लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु १० लाख बजेटमा घेराबार, प्रवेशद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत वर्ष रु तीन लाख बजेटबाट खुला व्यायमशाला निर्माण गरिएको हो ।   चारैतिर पक्की सडकभित्र पर्ने करिब १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउनुहुन्छ ।  पार्क क्षेत्रमा अमलाका बिरुवा लगाइएको छभने आउँदो वर्ष आँपका बिरुवा लगाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । यसलाई बालउद्यानका रूपमा विकास गर्ने योजना उहाँको छ । खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउनुहुन्छ, रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।  खुला सफा चौरमा बिहान साँझ आराम गर्न, साथीभाइ भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।   धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिकस्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगरप्रमुख थापाले बताउनुभयो । “रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रूपमा विकास गर्दै गएका छौँ”, उहाँले भन्नुभयो, “भुगोलले मिलेको यो क्षेत्रमा ठाउँअनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट काम भइरहेका छन् ।”

पर्सा:    मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।   मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो ।  उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो ।  “मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।”  अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो ।  “अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।”   मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।  “वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।”  मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो ।  “आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।” मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् ।  आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ ।  त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ । आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो ।  ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको  सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।