पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

धनुषा: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।   आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।   तर उहाँले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने बताउनुभयो । “तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ । जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ । यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,” खनालले भन्नुभयो ।   पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गर्नुभयो । “संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन । यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,” खनालले भन्नुभयो । खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप लगाउनुभयो ।

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।       तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिनुभयो ।       “हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उहाँले भन्नुभयो, “विद्युत्गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”      तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताउनुभयो ।      रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । “आउटलेटबाट विद्युत्गृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उहाँले भन्नुभयो ।        तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रघुगङ्गा–८ को बन्दीमा बाँध, रघुगङ्गा–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।       मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर  भट्टराईले उल्लेख गर्नुभयो ।       अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उहाँ भनाइ छ ।      नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।       राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ । 

पोखराः  भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव आदानप्रदानका क्रममा सोमबार पोखरा आइपुगेको छ ।   गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको उक्त भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापालगायले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गर्नुभएको थियो ।    स्वागतपछि आयोजित परिचयात्मक कार्यक्रममा पुडुचेरीका सभामुख सेल्वमले गण्डकी प्रदेशसभाका सभामुखसहित प्रदेशसभा सदस्यलाई पुडुचेरी भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।  उहाँले पोखराजस्तै पुडुचेरी पनि पर्यटकीय महत्वको स्थल भएको बताउँदै दुई प्रदेशबीचको पर्यटन विकासमा भ्रमणले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।    सो अवसरमा गण्डकी प्रदेशसभाका सभामुख धितालले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध विस्तारमा भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभयो । “मित्रराष्ट्र भारत र नेपालबीचको सम्बन्धलाई पनि यो भ्रमणले टेवा पुग्ने छ, नेपाल सधैँ शान्तिपूर्ण सहअस्तित्व र विविधतामा एकताको पक्षमा रहँदै आएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय राजधानी पोखरामा भएको यस भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।” उपसभामुख बिनाकुमारी थापाले दुई प्रदेशका बीच भएको अनुभव आदानप्रदानले संसदीय अभ्यासबारे थप बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो । त्यस अवसरमा गण्डकी प्रदेशसभाको संरचना, कामकारबाही र उपलब्धिबारे प्रस्तुतिकरण गरिएको थियो ।  भ्रमण टोलीमा पुडुचेरी प्रदेशका उपसभामुख पी राजवेलु, पर्यटनमन्त्री के लक्ष्मीनारायणनलगायत विधानसभा सदस्यहरू सहभागी छन् ।    उक्त टोलीले पोखराको पर्यटकीय तथा धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

गोरखा:    गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि सोमबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ ।   शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये आठ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।   शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका आठ महिलाको तत्कालै उपचार सुरु गरेर छ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।   गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।   भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने प्रमुख भट्टले जानकारी दिनुभयो । ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।   “भिआइए परीक्षणबाट १० वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, प्रमुख भट्टले भन्नुभयो, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ, पाठेघरको अवस्था पत्ता लागेपछि सोहीअनुसार उपचार गर्न सुरु गरिन्छ ।” गाउँपालिकाले विशेषज्ञ चिकित्सकको निगरानीमा तालिमप्राप्त भिआइए नर्समार्फत महिलाहरूको पाठेघरको क्यान्सरको ‘स्क्रिनिङ’ गरिएको उहाँले बताउनुभयो ।

पोखरा:   आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा १२ वटा सङ्गठन दर्ता भएका छन् ।  आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो ।  निर्वाचन समितिले दिएको जानकारी अनुसार स्ववियु निर्वाचनका लागि पिएन क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) बहुमत, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल छैठौ), अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दर्ता भएका हुन् । स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ ।  दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ ।    

पोखरा:  नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ ।  पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् ।  आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे ।  प्रत्यक्ष निर्वाचन हुने सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेद्वारको नाम मनोनयन दर्ताअघि घोषणा गरिने अनेरास्ववियु क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए ।  स्ववियु कार्यसमितिका उपाध्यक्ष, सहायक सचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।  उम्मेद्वार सार्वजनिक कार्यक्रममा बोल्दै एमाले कास्की सचिव दर्शन लामाले अनेरास्ववियुलाई निर्वाचनमा पराजित हुने छुट नरहेको बताए ।  विद्यार्थीको मुद्दा उठाउँदै आएकाले अनेरास्ववियुमा विद्यार्थीको आकर्षण देखिएको उनको भनाइ थियो ।  त्रिवि स्ववियुअन्तर्गत सोमबार क्याम्पसहरूमा विद्यार्थी संगठन दर्ता भएका छन् । स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । जनप्रिय बहुमुखी क्याम्पसमा करिब ३ हजार ५ सय विद्यार्थी छन् । क्याम्पसले बुधबार मतदाता नामावली प्रकाशन गरेपछि क्याम्पसमा कति सदस्यीय समिति बन्ने भन्ने तय हुनेछ ।  हाल विद्यार्थी संख्याअनुसार मतदाता नामावलीको संख्या आएमा जनप्रियमा १९ सदस्यीय समिति बन्ने छ । त्यसमा दुई पदाधिकारीसहित १० जना समानुपातिक र तीन पदाधिकारीसहित ९ जना प्रत्यक्षतर्फका हुनेछन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्येबाट उपाध्यक्ष र सहायक सचिव निर्वाचित हुन्छन् ।  को हुन् आविष्कार ?  स्याङ्जा चापाकोट घर भएका आविष्कार जनप्रिय क्याम्पसमा एम.बी.एस दोस्रो सेमेष्टरमा अध्ययनरत छन् । उनले सोही क्याम्पसबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरे ।  कक्षा ११–१२ पढिरहँदा उनी अनेरास्ववियुको क्याम्पस कमिटीमा आबद्ध भएका थिए । आविष्कारले जनप्रियमै बी.बी.ए सके ।  २०७३ सालमा उनी संगठनको कक्षा ११÷१२ कमिटीको सदस्य भए । २०७४ देखि २०७८ मा उनी संगठनको क्याम्पस कमिटी सदस्य र सचिवालय सदस्य भए । २०७८ मा उनले क्याम्पस कमिटी संयोजकको जिम्मा पाए । २०७९ मा क्याम्पस कमिटी सचिव बने । त्यसपछि २०८० देखि उनी संगठनको क्याम्पस कमिटी संयोजक छन् ।   

काठमाडौं:   विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ ।  आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।   त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख  पुरस्कार प्राप्त गरेको छ ।       खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै  मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।        यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।      मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको थियो ।       फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुभएको थियो । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए ।      राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

पोखरा:  पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ ।  इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो ।  परियोजना अन्तरगत इसिइसिले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरूका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयहरूमा २०७९ पौषदेखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा रहेको छ ।  सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको इसिइसिका प्रबन्ध निर्देशक पीताम्बर न्यौपानेले बताउनुभयो ।  कार्यक्रममा इसिइसिका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमी र परियोजना इन्चार्ज विजय तामाङले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।  पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजनाले विद्यालय तहको शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । 

पोखरा:   पोखरामा भोलिदेखि पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको संयोजनमा प्रतियोगिता हुन  लागेको हो ।   भोलिदेखि फागुन २४ गतेसम्म पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुन लागेको चिर्को युनिटी पोखराले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  चिर्को युनिटी पोखराका अध्यक्ष अञ्चल शाही ठकुरीले काठमाडौं पछि पोखरामा पहिलो पटक पार्क पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।   ‘पार्क पुरुष भलिबल प्रतियोगिता हामीले पहिलो संस्करणमा काठमाडौंमा समेत सम्पन्न गरिसकेका छौं, अध्यक्ष ठकुरीले भने, ‘काठमाडौंपछि पोखरामा पहिलो पटक प्रतियोगिता सञ्चालन गर्दै छौं, पोखरामा यस प्रतियोगितालाई निरन्तरता दिँदै आउँदो प्रतियोगितामा महिला भलिबललाई समेत प्राथमिकता दिँदै जान्छौं ।’ भोलिदेखि सुरु हुने पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडलर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडmी सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकले ट्रफी प्राप्त गर्नेछन् ।  यस प्रतियोगितामा सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका १ जना खेलाडीलाई मात्र एक टिममा समावेश गर्न पाउने अध्यक्ष ठकुरीले बताए । यस प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  प्रतियोगिता पोखरा महानगरापालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा सञ्चालन हुनेछ । पार्क भलिबल प्रतियोगितामा एक टिममा ५ जना खेलाडी र प्रशिक्षक हुनेछन् ।