काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आउनुभएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गर्नुभएको हो । भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी हुनुहुन्थ्यो । यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।
मुगु: नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुग्नुभएको थियो । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उहाँले नमान्नुभएको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्कनुभएको तर सोमबार बिहान ६ बजेतिर उहाँलाई साथीहरूले एम्बुलेन्समा लिएर आउनुभएको थियो । अस्पताल पुग्दा उहाँको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताउनुभयो । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।
जनकपुरधाम: धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताउनुभयो । नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलव्ध गराउने पनि जानकारी दिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिक पहुँच वृद्धि गर्न एम्बुलेन्स सेवाले सहयोग पुग्ने जनाइएको छ ।
नवलपरासी: नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । “जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका–१०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका–२ र ३, विनयी त्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ”,उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागूभएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको प्रमुख तिवारीले जानकारी दिनुभयो । चैते धान प्रवद्र्धनका लागि चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड १० लाख बजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताउनुभयो । “गत वर्ष जिल्लामा एक हजार ५३ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदा छ हजार दुई सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो”,उहाँले भन्नुभयो,“यो वर्ष थप ४० हेक्टरमा विस्तार हुने अनुमान गरेका छौँ ।”बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिनुभयो । “चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”,उहाँले भन्नुभयो,“जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैते धान रोप्ने गरिन्छ ।”
काठमाडौं: नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
चितवन: दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उहाँले बताउनुभयो । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उहाँले बताउनुभयो । भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उहाँको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरुको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको जनसङ्गठनको केन्द्रीय कमिटी सदस्यको सङ्ख्या घटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसङ्गठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसङ्गठनको केन्द्रीय कमिटी सङ्ख्या ९९ सदस्यीय राख्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले जनसङ्गठनलाई व्यवस्थित गर्नका लागि अब हुने महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय गरिएको बताउनुभयो । यसैगरी, बैठकले जनसङ्गठनका पदाधिकारी सङ्ख्या पनि घटाएको छ । यसअघि १७ जना पदाधिकारी रहने व्यवस्था गरिएको थियो । महासचिव पोखरेलका अनुसार जनसङ्गठनका पदाधिकारीलाई नौ राख्ने र त्यसमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित दुई, महासचिव एक, उपमहासचिव एक, सचिवहरुमा (प्रचार, विदेश विभाग र सङ्गठन) हेर्ने गरी तीन र कोषाध्यक्ष एकजना राख्ने निर्णय गरेको छ । यसैगरी, बैठकले जनसङ्गठनमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्र रहने व्यवस्था गरिएको छ । “यसअघि जनसङ्गठनमा केन्दीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्रै रहने गरी निर्णय भएको छ,” महासचिव पोखरेलले भन्नुभयो । बैठकले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे र स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी, पार्टीले प्रदेश तह र स्थानीय तहमा आफ्नो पार्टी विजयी भएका ठाउँमा नीति, कार्यक्रम र बजेटको सम्बन्धमा छलफल भएको छ । यस्तै बैठकले स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो । भेला आगामी चैत महिनामा गर्ने निर्णय भएको छ । प्रदेश तहमा मुख्यमन्त्री, मन्त्री, दलका नेता, प्रमुख सचेतक र प्रदेशका पदाधिकारी र इन्चार्जसहित संयुक्त भेला आयोजना गरेर नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने निर्णय गरेको छ । यस्तै पार्टी सम्बन्ध विभागलाई सरकारको नीति तथा कार्यक्रममा आगामी चैत १५ गतेभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पार्टीले विदेश भ्रमणका लागि मापदण्ड बनाएको छ । “विदेश भ्रमण जानपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र कुन संस्था कुन प्रयोजनका लागि आयोजना गरेको हो । त्यो पर्याप्त जानकारी दिनुपर्ने र विदेश भ्रमण भइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि आफ्नो भ्रमणका बारेमा प्रतिवेदन पार्टीलाई बुझाउनुपर्ने विषय मापदण्डमा राखिएका छन्,” महासचिव पोखरेलले भन्नुभयो । यस्तै, बैठकले नेपाल कम्युनिष्ट पार्टीको ७६आँै स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रत्येक प्रदेशबाट एक÷एक जनाको दरले कम्युनिष्ट योद्धा सम्मान गर्ने भएको उहाँले जानकारी दिनुभयो । यस्तै, बैठकले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सदस्यमा मनोनयन गरेका जयचन्द्र स्वाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकको नाम अनुमोदन गरेको छ । यस्तै पार्टीले ताप्लेजुङको पाथीभरामा बन्न थालेको केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धितलाई आग्रह गरेको छ । महासचिव पोखरेलले पाथीभरा मन्दिर केबुलकारका सम्बन्धमा भएको विवाद समाधान गर्नका लागि स्थानीय जनप्रतिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समाधान गर्न आग्रह गर्दै केबुलकार बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षलाई भूमिका खेल्न आग्रह गर्नुभयो । बैठकले पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालका धर्मपत्नी शान्ति वडालको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
काठमाडौं: आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि ९सिआइटिईएस०अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो । राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको छ ।
बलेवा: बागलुङको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर मरेपछि किसान चिन्तित बनेका हुन् । अज्ञात रोगले अन्दाजी ५० किलोको एक र तीन महिनाको दुई वटा पाठा मरेका सिग्दीकी शिला थापाले बताउनुभयो । भाटी बजारका सविन राम्जालीको झण्डै ५० किलो, सातदोबाटोका मोहन पुनको करिब ४५ किलो र फटिक पुनको बङ्गुर पनि अज्ञात रोगले मरेका छन् । बङ्गुरमा एक्कासी ज्वरो आउने, दानापानी नखाने, बाक्ने, पखाला लाग्नेलगायत लक्षणहरू देखा परेको भाटीबजारका सविन राम्जालीले बताउनुभयो । अज्ञात रोगले बङ्गुर मर्न थालेपछि आफूजस्ता किसान मर्कामा परेका उहाँको भनाइ छ । पालिकाको पशुसेवा शाखा प्रमुख नारायण पौडेलले मरेका सबै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानामा समस्या हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । “महामारीजन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब सङ्कलन गरेर परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाउँदैछौँ”, उहाँले भन्नुभयो । पौडेलका अनुसार अहिले अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण नदेखिएकाले अरु कारणले बङ्गुर मरेका हुन् । “अहिले तीन÷चार दिन भयो त्यस्तो समस्या नदेखिँदा अफ्रिकन स्वाइन फिभर होइन कि भन्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “वास्तविकताका लागि प्रयोगशाला परीक्षणका लागि रगत पठाउने तयारीमा छौँ ।” अफ्रिकन स्वाइन फिभर भएको भए एउटै फार्मको केही मर्ने केही नमर्ने भन्ने नहुने उहाँको भनाइ छ । लक्षणहरू हेर्दा बुटवलबाट ल्याएको दानाका कारण बङ्गुर मरेको हुनसक्ने भन्दै पौडेलले दानाको पनि परीक्षण गरिने उल्लेख गर्नुभयो । प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै किसानका बङ्गुर कसरी मरे भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । “मरेका छवटै बङ्गुरमा फरकफरक लक्षण देखिएकाले दानाकौ कारण हो कि भन्ने अनुमान गरेका छौँ । प्रयोगशालाको रिपोर्ट आएपछि वास्तविकता पत्ता लागी समस्या समाधानतर्फ लाग्नेछौँ”, उहाँले भन्नुभयो । गत वर्षको जेठमा फैलिएको अमेरिकन स्वाइन फिभरबाट बागलुङ नगरपालिका– १, २, ३ र ४ का ५४ किसानले पालेका चार सय बङ्गुर मरेका मर्दा रु दुई करोडभन्दा बढीको क्षति भएको थियो ।