पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र...

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उहाँ मृत फेला पर्नुभएको थियो ।  जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो ।  आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताउनुभएको थियो । 

रौतहट:  माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।  फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ निर्वाचित हुनुभएको थियो । 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आज सम्पन्न प्रथम तरूण कप भलिबल प्रतियोगिताको उपाधि पुरूषतर्फ बेनी नगरपालिका–९ घतान र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् ।       म्याग्दी प्रदेशसभा क्षेत्र १(१) अन्तर्गतका बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडास्तरीय पुरूष भलिबल प्रतियोगितामा रघुगङ्गा गाउँपालिका–२ भगवतीलाई दुईका विरूद्ध तीन सेटले पराजित गर्दै घतान विजयी भएको हो ।       नेपाल तरूण दल म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ वटा वडाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा घतानले भगवतिलाई पहिलो, चौथो र पाँचौ सेट ३१–२९, २५–१९ र १५–११ को अन्तरमा जितेको थियो । दोस्रो र तेस्रो सेट भगवतीले घतानलाई २५–२१ र २५–२२ को अन्तरमा जितेको थियो ।       ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेताले रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले रू ६६ हजार छ सय ६६ नगद पुरस्कार प्राप्त गरेका तरूण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।       पाँच वटा स्थानीय तह सहभागी स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिकालाई पराजित गर्दै अन्नपूर्णले उपाधि चुमेको हो । अन्नपूर्णले मङ्गलालाई पहिलो, दोस्रो र चौथो सेट २५–२३, २५–१५ २५–१९मा पराजित गरेको थियो । मङ्गलाले तेस्रो सेट २५–२१ को अन्तरमा जितेको थियो ।       महिला भलिबलमा ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेतालाई रू ७७ हजार सात सय ७७ र उपविजेतालाई रू ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरिएको तरूण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले बताउनुभयो ।   विजेता र उपबिजेता खेलाडीहरूलाई प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर), उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी ९केबी०, तरूण दलका कार्यवाहक अध्यक्ष रोकालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।       यसअघि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरूण कप पुरूष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–२ बाबियाचौरलाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै मङ्गला गाउँपालिका–५ अर्मनले जितेको थियो ।       भलिबल प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको गित तथा नृत्य प्रस्तुतीकासहितको तरूण साँझ पनि भएको थियो ।  म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रवर्द्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरूण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ (विश्वास) ले बताउनुभयो । 

स्याङ्जा: बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ । मगर भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयमा नै मगर भाषा पठनपाठन  थालिएको हो । हाल कक्षा १–३ सम्मका बालबालिकालाई मगर भाषा अध्यापनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले राससलाई बताउनुभयो । बाल सिकाइ कक्षादेखि ५ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा कक्षा  एकदेखि तीनसम्मका बालबालिकालाई मगर भाषा अध्यापयन थालिएको हो ।  मगर समुदायको बाहुल्य भएकाले नयाँ पुस्तालाई यो भाषा लेख्न र बोल्न सिकाउने  अभियान आफूहरुले थालेको मगर भाषा शिक्षक लेखबहादुर आलेले बताउनुभयो ।सरकारले प्रकाशन गरेको मातृभाषाको पाठ्यपुस्तकका आधारमा पठनपाठन हुने गरेको छ ।  मगर भाषा अध्यापनका लागि बिरुवा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको हो । पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आदिवासी जनजातिको बाहुल्य भएका गाउँपालिकामा उनीहरुका भाषा तथा संस्कृति संरक्षणमा सघाउने विषय समावेश गरेको छ । 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा ​मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ ।   विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ ।   सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।   महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।   आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ ।   सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।   महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

ढोरपाटन:   भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो ।  जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् ।       निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो ।  हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो ।      शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उहाँको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताउनुभयो । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको उहाँ बताउनुहुन्छ ।       उहाँले भन्नुभयो, “एक÷दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो ।”      लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ ।      उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिनुभयो । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उहाँको भनाइ छ ।

म्याग्दी:  म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।  शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८/०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो ।  कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाई उपलब्धी दुई दशमलब ८४ जिपिए रहेकोमा २०८० मा तीन दशमलब शून्य एक जिपिए पुगेको प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो ।  “पाँच वर्षे गुरुयोजना अनुसार कमजोर विद्यार्थीलाई लक्षित गरेर अतिरिक्त कक्षा, १–३ मा कक्षा शिक्षण, पठनपाठनमा प्रविधिको प्रयोग, विद्यार्थीलाई मौलिक सिप हस्तान्तरण र उत्पे्ररणमुलक क्रियाकलाप गरिएको छ,” उहाँले भन्नुभयो “शिक्षकहरुको क्षमता विकाससँगै विद्यार्थीको क्षमता पहिचान गरेर पठन क्रियाकलाप सञ्चालन गरेपछि सिकाई उपलब्धी वृद्धि हुन थालेको छ ।” कक्षा १ देखि ३ सम्म एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पठनपाठन गराउने अभ्यास थालिएको छ । यसबाट विद्यार्थीको आनीबानी र क्षमता पहिचान गरेर सिकाई क्रियाकलाप सञ्चालन गर्न सहज भएको शिक्षक नवराज शर्माले बताउनुभयो ।  कक्षा ८ सम्मका सबै विद्यार्थीलाई अनिवार्य, नौ र १० मा कम्प्युटर विषयको ऐच्छिक कक्षा सञ्चालन गरेको जामुनाखर्कले विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको छ । गणित, सामाजिक प्रयोगशाला (स्टिम ब्याग) पनि छ । कक्षा ११ र १२ मा पूर्ण रुपमा निशूल्क पठनपाठनको ब्यवस्था मिलाएको छ ।  सबै कक्षाकोठामा ‘स्मार्टबोर्ड’ राखिएको छ । सबै शिक्षकहरुको साथमा ल्यापटप छ । शिक्षकले ल्यापटपमा इन्टरनेटको सहयोगमा सिकाई सामग्री खोज्ने र पढाउने गर्छन् । प्राथनाको समयमा शिक्षक र विद्यार्थीहरुले विबिध विषयमा प्रश्नउत्तर गर्छन् ।  गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ९ र १० का विद्यार्थी टिकाउ र २०८० को एसईई परीक्षाको उत्तीर्णर्णदरका आधारमा गरेको मूल्याङ्कनमा जामुनाखर्क म्याग्दी जिल्लामा पहिलो भएको थियो ।  विषयगत विभाग गठन गरेर शिक्षकहरुको कार्यविभाजन, शैक्षिक प्रर्दशनी र महोत्सव आयोजना गरेको छ । विद्यार्थीहरुलाई सिर्जनशिल र अध्ययनशिल बनाउन अतिरिक्त क्रियाकलाप, व्यवसायिक, व्यवहारिक सिप सिकाउन गुन्द्रि बुन्ने, पाक शिक्षा, वायरिङ र पलम्बीङ तालिम सञ्चालन गरेको छ ।  कक्षा १० का विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको विद्यालयले अभिभावकसँग नियमित अन्तरक्रिया र योग प्रशिक्षण चलाएको छ । शिक्षकहरुलाई सूचना प्रविधि, मूल्याङकन् र कक्षा व्यवस्थापन तालिम दिएको छ ।  शिक्षा मन्त्रालयले बेनी नगरपालिका मार्फत उपलब्ध गराउने बजेटबाट भौतिक, शैक्षिक र व्यवस्थापनकीय सुधारका गुरुयोजनामा प्रस्तावित कार्यक्रम गरिएको प्रअ ढुङ्गानाले बताउनुभयो ।  यसअघिका तीन वटा आर्थिक वर्षमा रु। तीन करोड ९० लाख बजेट पाएको विद्यालयमा यस वर्ष प्राप्त भएको रु। एक करोड बजेटबाट प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि ठेक्का आव्हान भएको छ । गत वर्षको बजेटबाट ठेक्का मार्फत चार कोठे भवन निर्माणको अन्तिम चरणमा छ ।  हालसम्म ब्लक ९ए०मा चार कोठे कक्षाकोठा, ब्लक ९बि०मा १० कोठे छात्रावास भवन र शौचालय निर्माण भएको छ । ब्लक ९ए०मा रहेको खेलमैदानमा पेभर ब्लक बिछ्याई बालमैत्री खेलकुदका सामग्री राखिएको छ । नयाँ भवन निर्माणका लागि ब्लक ९बि० मा विद्यालयले नौ रोपनी १४ आना जग्गा खरिद गरेको छ ।  हाल दुई सय १५ जना विद्यार्थी रहेको जामुनाखर्कमा नमुना विद्यालय कार्यक्रमबाट विद्यार्थीहरुलाई छात्रवृत्तिको पनि ब्यवस्था मिलाइएको छ । गत वर्ष स्थापना भएको हिराबहादुर बानिया स्मृति छात्रवृत्ति कोषले विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र दिवा खाजामा सघाएको छ । हाल रु। आठ लाख १२ हजारको अक्षयकोषको रकम वृद्धि गरेर पाँच वर्षमा रु। २५ लाख पु¥याउने संरक्षकले घोषणा गरेका छन् ।  जामुनाखर्कको सेवाक्षेत्रबाट १२ जना विद्यार्थी अन्यत्रको विद्यालयमा अध्ययनका लागि जाँदा सेवा क्षेत्रभन्दा बाहिरबाट आउने विद्यार्थीको संख्या १८ जना छ । कक्षा छ भन्दा माथिल्लो कक्षामा निजी विद्यालय छाडेर पढ्न आएपनि तल्लो कक्षामा भर्ना हुने विद्यार्थी संख्या कम छ ।  जन्मदर कम हुनु र बसाईसराईका कारण विद्यार्थी सङ्ख्या बढाउने, अहिले भएको शैक्षिक उपलब्धीलाई टिकाउने र वृद्धि गर्ने चुनौति रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो ।  तीन किलोमिटर नजिक रहेको बेनीका विद्यालयमा देखिएको विद्यार्थीको चाप घटाउन जामुनाखर्क विकल्प बन्न सक्ने सम्भावना छ । यसका लागि विद्यालय बस र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

लमजुङ:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) लमजुङद्वारा बेँसीसहरमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले जनताको समस्या नजिकबाट नियाल्नुपर्छ भन्नुभयो ।  स्थानीय सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकार जहिले पनि सुशासन एवं पारदर्शिता कायम गर्नुपर्ने तथा राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।  त्यस्तै, उहाँले स्थानीय सरकारले संविधानले दिएको अधिकारलाई प्रयोग गर्नतर्फ अग्रसर हुँदै जनताको सेवामा लाग्दै जनताको मन जित्नुपर्ने बताउनुभयो । सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन दीर्घकालीन योजना निर्माण गरी त्यसअनुरुप बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले गरेका राम्रा कामका प्रचार गर्न नसक्दा जनताप्रति निराशा छाएको उहाँले बताउनुभयो । सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहको र जनताका समस्या समाधानमा सरकार लागिपरेको बताउनुभयो ।  जनताप्रति संवेदनशील भएरै सरकारले उखु किसान, दुग्ध किसानका भुक्तानीमा तदरुकता दिएको बताउनुभयो । उहाँले सहकारीपीडित र मिटरब्याजीको समस्या समाधानमा सरकार लागिपरेको बताउनुभयो । त्यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घलेले स्थानीय सरकारले अहिलेसम्म गरेका कामको मध्यावधि समीक्षा गर्दै योजना निर्माणमा लाग्न सुझाव दिनुभयो ।  केन्द्रीय अनुशासन विभागका सदस्य मायानाथ अधिकारीले स्थानीय ससरकारले जनतालाई उत्पादन र रोजगारसँग जोड्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।  गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले निर्वाचित हुनुभन्दा पहिलेका पालिकाको अवस्था र पछिको अवस्थाबारे जनप्रतिनिधिले ख्याल गरेर काम गर्नुपर्ने बतानुभयो । 

जुम्ला: जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ ।      चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो । अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो ।      बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युत्को लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह बन्द भएको तिला–२ का वडाध्यक्ष चन्द्र बोहोराले बताउनुभयो । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको भन्दै केही साताभित्र विद्युत्को लाइन जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।       “बर्थिङ सेन्टरलाई आवश्यक पर्ने स्रोतसाधन र बजेटको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको हो । यहाँबाट उपलब्ध सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयलाई सास्ती भइरहेको छ”, उहाँले भन्नुभयो ।      तत्काल बर्थिङ सेन्टर सञ्चालन गरी स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । “उक्त सेन्टर सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेका छौँ । अहिले पालिकाको एम्बुलेन्सले सुत्केरीलाई निःशुल्क रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने र पुर्‍याउने गरिरहेको छ”, उहाँले भन्नुभयो ।      अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयलले गुनासो गरेका छन् ।      रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टरका लागि नयाँ भवन निर्माण सम्पन्न भइसकेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । यसअघि यहाँ तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो । गत आर्थिक वर्षमा २२ जनाले सुत्केरी सेवा लिएका जनाउँदै उहाँले चालु आवमा कसैले पनि सेवा नलिएका बताउनुभयो ।      पुरानो र जीर्ण भवनबाट लामो सयमसम्म सेवा दिएको बर्थिङ सेन्टरको सुविधासम्पन्न भवन निर्माणका लागि सेवा बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हर्क रावतले बताउनुभयो ।       यहाँबाट दिइने सेवा बन्द भएपछि गर्भवती र सुत्केरीले सास्ती खेप्नुपरेको तिला–१ वडाध्यक्ष जङ्गबहादुर बस्नेतको भनाइ छ । उहाँका अनुसार गत वर्षको जेठदेखि चालु आवको हालसम्म बर्थिङ सेन्टर बन्द हुँदा यहाँका सेवाग्राही प्रसूति सेवाका लागि सदरमुकाम र बाहिर जान बाध्य भएका छन् ।